समाचार

जुटको मूल्य घट्यो, प्रतिकिलो एक सय रुपैयाँ 

By खबरहब

October 11, 2024

काठमाडौं– अन्तराष्ट्रिय बजारमा जुटको उत्पादनको बिक्री घटेका कारण कच्चा जुटको मूल्य घटेर करिब एक सय रुपैयाँ प्रति किलो हाराहारीमा पुगेको छ । 

४ वर्षअघि इतिहासमै सबैभन्दा बढी १२७ रुपैयाँ प्रति किलो पुगेको कच्चा जुटको मूल्य गत वर्ष घटेर ६० रुपैयाँ सम्म पुगेको थियो । तयारी जुट सामग्रीको खपत घटेको र जुट सामग्रीको मुख्य बजार भारतमा जुट सामग्रीको मूल्य घटेकाले कच्चा जुटको मूल्य घटेको नेपाल जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिए । 

जुटको मूल्य घटेका कारण कृषकहरूले यसपटक जुट खेती पनि घटाएको उनले बताए । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ६ वटा जुट उद्योगहरू सञ्चालनमा रहेका छन् । 

जुट सामग्रीको खपत घटेपछि जुट मिलहरुले उत्पादन कटौती गर्न थालेका छन् । सुनसरी मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगहरूले आन्तरिक उत्पादनबाट ३० प्रतिशत र बाँकी ७० प्रतिशत कच्चा जुट भारत र बङ्गलादेशबाट आयात गरी तयारी जुट सामग्री भारत निर्यात गर्दै आएको छ । 

भारत र बंगलादेशबाट करिब साढे २ अरब रुपैयाँ बराबरको कच्चा जुट आयात गरी करिब ७ अरब रुपैयाँ बराबरको तयारी जुट सामग्री भारत निर्यात गर्ने गरिएको छ ।