अमेरिकी राष्ट्रपति आइजनहावरले पद सम्हालेपछि उनका नाममा असंख्य उपहार र शुभकामना आइरहे। यिनै शुभकामनाको भिडमा एउटा बुट्टेदार सुन्दर कुचो पनि थियो। जुन कुचोलाई आइजनहावरले आफ्नो कार्यकक्षको मध्य केन्द्रमा राखेका थिए। एकपटक अमेरिकाको भ्रमणमा आएका कुनै राष्ट्रका राष्ट्राध्यक्षले कुचोप्रति जिज्ञासापूर्ण नजर हेरेपछि राष्ट्रपतिले मुस्कुराउँदै आफू विजय भएपश्चात एक मतदाताले उपहारस्वरुप उक्त कुचो पठाएको रहस्य सार्वजनिक गरे।
कुचाे पठाउने सज्जनले कुचो उपहार पठाउनुको औचित्य पुष्टि गर्दै लेखेका थिए- ‘तपाईंले चुनावी भाषणमा आफू राष्ट्रपति भए प्रशासनमा भएका सारा घुसखोरी र भ्रष्टाचारीलाई सफाई गर्नेछु। मलाई विश्वास छ- ‘यो उपहारले सदा तपाईंलाई आफ्नो वचनको सम्झना गराउने छ।’ आइजनहावरले अगाडि भने- ‘कुचो उपहार पठाउनेवाला सज्जनका यी शब्दहरु मलाई अति प्रेरणास्पद छन्। यसैले मैले कुचोलाई सर्वश्रेष्ठ उपहार सम्झेर सधैं आफ्नो अघिल्तिर राखेको हुँ।’
अमेरिकी राष्ट्रपतिका आआफ्नै बान्की छन्। देशको राज्यकोषलाई बपौती ठानेर त्यो गरिमामय पदको धज्जी उडाउने रिचार्ड निक्सनदेखि ढुकुटीको माया गरेर निजी चिट्ठीको टिकट आफ्नो पैसाले किनेर खाम थुकले टाँसेर पठाउने राष्ट्रपति हेरी ट्रमेन सदाचारका आदर्श पुरुष थिए। उनी सधैं भन्ने गर्थे- ‘यदि तपाईं आफूलाई राष्ट्रपति पदबाट अलग राख्न सक्नुहुन्न भने अवश्य पनि मुस्किलमा फस्नु हुनेछ।’ जोन अफ केनेडीका परिवारले कहिल्यै सरकारी सुविधा उपयोग गरेनन।
निक्सनको पारा बेग्लै थियो। उनी आफ्नो क्लिमेन्टस्थित घरमा जाँदा पनि २७ वटा सरकारी जेट विमानमा दुई सय जना लिएर जान्थे। सैनिक विमानमा राखेर घर गाउँलेको जहाज चढ्ने तिर्खा पूरा गरिदिन्थे।
निक्सनको पारा बेग्लै थियो। उनी आफ्नो क्लिमेन्टस्थित घरमा जाँदा पनि २७ वटा सरकारी जेट विमानमा दुई सय जना लिएर जान्थे। सैनिक विमानमा राखेर घर गाउँलेको जहाज चढ्ने तिर्खा पूरा गरिदिन्थे।
ती विमानहरुका अतिरिक्त दर्जनौं हेलिकोप्टर पनि उनको सेवामा हाजिर गराउनु पर्थ्यो। निजी भ्रमणमा पनि निक्सन आफ्ना कर्मचारी, उनका पत्नी, गुप्तचर, नोकर, कुकुरसमेत साथमा लिएर जान्थे। त्यति मात्र होइन, सानोभन्दा सानो अनौपचारिक भ्रमणमा श्रीमती निक्सनको सेवा सुश्रुषा र श्रृंगार गर्नेको लाइन लगाउनुपथ्र्यो। घरपरिवार, आफन्त र शुभेच्छुक घुमाउन सैनिक विमानको प्रयोग हुन्थ्यो।
निक्सन अघिका राष्ट्रपति लिन्डन वी जोहनसन सरकारी यात्रामा निस्कँदा पत्नी र छोरी सरकारी विमानमा कहिल्यै गएनन्। उनीहरु निजी वा व्यवसायिक उडान प्रयोग गर्थे। उनीहरु प्रथम श्रेणीको टिकटमा पनि यात्रा गर्दैनथे। राज्यकोष दुरुपयोग नहोस् भनेर विश्वकै सर्वशक्तिमान व्यक्तित्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नी किशोर वयमा चढ्दै गरेकी छोरी साक्षी राखेर पाकिस्तानी किशोरी मलाला युसाफ्जालाई भनेका थिए- ‘तिमी संसारकै किशोरकिशोरीकी आदर्श हौ। अगाडि बढ् तिमीलाई विश्वले साथ दिन्छ।’
शुभचिन्तकले पठाएको कुचो टाँग्ने आइजनहावर र श्रीमतीको दबाब खेप्न नसकेर चुरोटको अम्मल छोड्नु परेको यथार्थ हाक्काहाक्की भन्ने ओबामा आफैंमा खुला पुस्तक हुन्। आजसम्म आफूले आङ् ढाक्न लगाएको लुगा पत्नी मिचेलले सिलाइ दिएको सगौरव बताउने ओबामाले बारम्बार सार्वजनिक समारोहमा भन्ने गरेका थिए- ‘मिचेल मेरी पत्नी नहुँदी हुन् त म अमेरिकाको राष्ट्रपति नै हुने थिइनँ।’
आजसम्म आफूले आङ् ढाक्न लगाएको लुगा पत्नी मिचेलले सिलाइ दिएको सगौरव बताउने ओबामाले बारम्बार सार्वजनिक समारोहमा भन्ने गरेका थिए- ‘मिचेल मेरी पत्नी नहुँदी हुन् त म अमेरिकाको राष्ट्रपति नै हुने थिइनँ।’
इराकमाथिको निर्मम आक्रमणका कारण विश्वभर चर्चित पूर्वराष्ट्रपति जुनियर बुसको दैनिकी यतिबेला सोमरसपान र माछा मार्नेमा बित्ने गरेको छ। उनले आत्मसमीक्षा गर्दै प्रश्न गरेका छन- ‘कतै म जँड्याहा भएर बर्बादीको मार्गमा त छैन ?’ कुनै दिन जापानको एउटा होटलमा तात्कालीन भारतीय प्रधानमन्त्री मनमोहनसिंहसँग जम्काभेट हुँदा सिनियर बुसले सोधेका थिए- ‘तपाईंलाई जुनियर बुस कस्ता लाग्छन् ?’ मनमोहनसिंहले नरम र कूटनीतिक भाषामा जवाफ दिँदै भने- ‘मैले नजिकबाट काम गर्न त पाएको छैन तर ठीकै लाग्छन्।’ सिनियर बुसले थपे- ‘उनमा कुनै कमजोरी भेटियो भने त्यो मैले दिएको संस्कार नसम्झिनु होला।’
जन्मदै ‘चाँदीको चम्चा’को उपमा पाएका ट्रम्प दोस्रो पटक समृद्ध अमेरिका हाँक्ने नेतृत्वमा पुगेका छन्। एलन मस्कलाई सारथी बनाएर चुनाव जितेका ट्रम्प स्वभावैले आक्रामक छन्। वित्तीय अनुशासन र आप्रवासी लखेट्ने योजना चुनावी एजेण्डा हो। ट्रम्पको जीवनचक्र बर्खे भेलजस्तो छ। कहिले हलिउड सिनेमाको कलाकार, कहिले रेस्लर हुँदै जग्गा, होटल, क्यासिनोका सञ्चालकसम्मको पृष्ठभूमि रहेका ट्रम्पसँग कार्ययोजना कम उत्तेजना बढी छ। अघिल्लो कार्यकालमा ट्रम्पले धेरै मुस्लिम देशका आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए।
यसअघिको कार्यकालमा उनीमाथि दुई पटक महाभियोग लगाइएको थियो। पहिलो महाभियोग २०१९ मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई जो बाइडेनमाथि छानबिन गर्न दबाब दिने सम्बन्धमा र दोस्रो महाभियोग सन् २०२१ मा क्यापिटल दंगापछि उक्साएको आरोपमा थियो। त्यो विगत ट्रम्पका लागि टाउकोमाथि झुण्डिएको तरबार हो।
अबको संसारमा कस्को व्यक्तित्व एकाएक धरहरा हुन्छ र को पातालमा भासिन्छ त्यसको प्रक्षेपण गर्न मुस्किल छ। राजनीतिमार्फत् जनता पिरोल्ने नेताको संसारमा कमी छैन। जनमतलाई लहडीको म्यान्डेट बनाउने प्रतिस्पर्धा सर्वत्र चलेको छ। समोसामा आलु रहेसम्म विहारमा एकछत्र शासन गर्ने लालु यादवको हालत के भयो सबैले देखेकै छ। छोरीलाई शिक्षा दिनुपर्छ भन्ने आवाज उठाउँदा तालिवानी गोलीको शिकार भएकी मलालालाई राष्ट्रसंघले शान्तिदूत बनाएको केही समय नबित्दै क्यानाडाले मानार्थ नागरिकता दियो। नोबेल पुरस्कारमा नाम मनोनयन भयो। टाईम पत्रिकाले वर्षभरिका विख्यात सय लोकप्रिय व्यक्तित्त्वको हाराहारीमा उभ्याइदियो। अमेरिकाको जर्ज वासिङ्टन विश्व विद्यालयले त उनका विषयमा पढाउन पाठ्यक्रम नै तयार ग-यो।
अबको संसारमा कस्को व्यक्तित्व एकाएक धरहरा हुन्छ र को पातालमा भासिन्छ त्यसको प्रक्षेपण गर्न मुस्किल छ। राजनीतिमार्फत् जनता पिरोल्ने नेताको संसारमा कमी छैन।
नेपालमा शताब्दीअघिको इतिहास हो- योगमाया नामकी महिला जसले नारीमुक्ति र स्वतन्त्रताका लागि एक्लो आन्दोलन छेडिन्। चुलोचौकोदेखि राजा महाराजासम्म आफ्नो आवाज पु-याइन। कहिले कविता लेखेर त कहिले ज्ञापनपत्र बुझाएर नेपाली नारीको अवस्था दर्शाइन। पत्नीलाई ‘तँ’ भन्ने चलन विरुद्ध उनले चलाएको आन्दोलनपछि त्यसक्षेत्रका पुरुष आफ्नी पत्नीलाई ‘तिमी’ भन्न थालेका थिए रे ! आफ्ना मागमा सरकारले कानमा बतास नलाएपछि ६८ जना आफ्ना समर्थकसहित उनले अरुण नदीमा समाधि लिइन्। जागरणका लागि एकैपटक त्यत्रो संख्यालाई मर्न विश्वस्त पार्नसक्ने उनको क्षमता आज संसारका कुन नारीरत्नको इतिहाससँग जोडिएको होला ?
आज हामी मलाला, मदर टेरेसा, नेपालको हिमाल टेकेर नाम कमाउने जुन्को तावेई, तसलिमा नसरिनको जीवनगाथामा बहकिँदा योगमायालाई किन बिर्सन्छौं ? नेहरुलाई प्रधानमन्त्री बनाउने लोभमा भारत-पाकिस्तान केक बनाउने महात्मा गान्धीलाई भारतीयले कमजोरी जति जमिनमुनि गाडेर महानताको प्रचार गरिरहेका छन्। संसारमा शतप्रतिशत गलत र शतप्रतिशत सही मान्छे खोजियो भने बरु हिमालमा यति भेटिएला, त्यस्तो मानिस पाउन सम्भव छैन। १६ वर्षका किशोर किशोरी रातारात संसारका हिरो पनि हुन सक्दा रहेछन्। तर हामीले १६ वर्ष टेक्ने किशोरलाई नागरिकता भिराएर खाडी पठाउनु बाहेक केही सोचेनौं।
आगो बाल्न नारा हैन, सलाई चाहिन्छ। बनेको मान्यता भत्काउने हो भने अर्को मान्यता स्थापित गर्न सक्नुपर्छ। अनि मान्यता स्थापित हुन जनताले त्यसको स्वामित्त्व ग्रहण गर्नुपर्छ। धरहरालाई पुड्को बनाउने हो भने त्यो भन्दा अग्लो घर नबनाई सुखै छैन। धोती लाउने धेरै छन् तर महात्मा गान्धी एउटै भए। प्रचण्ड पनि वनबास त बसे तर राम र बुद्ध हुन सकेनन्। रंग र जात उस्तै भएर के गर्नु छाना छाना आएर कराउने कागले कोइलीको मर्यादा कहाँ पाउन सकेको छ र ? कार्यकर्तालाई माघको ठिहीमा आइसक्रिमको व्यापार गर्न पठाएर आफ्ना छोरी, बुढीदेखि दरसन्तानसम्मलाई शक्तिमा ल्याउने लोभबाट क्रान्तिकारी भनिएका माओवादी पनि मुक्त हुन सकेनन्।
गाडी पुरानो छ भने ड्राइभर जतिसुकै तन्नेरी र उत्साही भए पनि केही फरक पर्दैन। घर चिटिक्क बनाउने सपना तबसम्म सफल हुँदैन, जबसम्म बाटो सफा हुँदैन। मानिस भन्छन्- समय शक्तिशाली हो। तर बाटो कम शक्तिशाली छैन। एउटा फुच्चे विशेषणबाट सुरु भएको एउटा पात्र नानी, बाबु, दाजु, काका, बडाबा, हजुरबा हुँदै त्यही बाटोबाट महायात्राको बाटोमा लाग्छ। मानिसको आयतन बढेको या घटेको मापन पनि त्यही बाटोले गर्छ। परिवर्तन गर्छु भन्नेले पहिले बाटो बुझ्नुपर्छ। त्यसैले त भनिएको होला- मलामी र जन्तीको बाटो अलग हुँदैन।
गाडी पुरानो छ भने ड्राइभर जतिसुकै तन्नेरी र उत्साही भए पनि केही फरक पर्दैन। घर चिटिक्क बनाउने सपना तबसम्म सफल हुँदैन, जबसम्म बाटो सफा हुँदैन।
चन्द्रशमशेरको शेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा गरे। अधिकारको विषयमा अलमल भएपछि उनले काजी मरिचमान, काजी रत्नमान र मिसु नारायणभक्त बोलाएर सोधे- ‘म कमान्डर ईन चिफ भएपनि मेरो अधिकार चन्द्रशमशेरले नै उपयोग गरे। अब म महाराज भएँ। त्यो अधिकार मैले नै लिने कि कमान्डर ईन चिफलाई दिने ?’ विधिको प्रश्न थियो। काजीहरु अक्क न बक्क परे। रत्नमान काजीले बिन्ती बिसाए- ‘महाराज, यसको जवाफ हामीभन्दा पुराना दरबार जानेका सुब्बा कालिदासलाई सोध्नुपर्छ।’ महोत्तरीको सुदूर गाउँमा रहेका कालिदास सुब्बालाई झिकाउ भन्ने आदेशानुसार तार गयो। कालिदास काठमाडौ आई नयाँ महाराजको दर्शन गरे।
कालिदासलाई समस्या सुनाइयो। उनले जवाफ दिए- ‘जसको अख्तियार हो, उसैलाई दिनुपर्छ। नीति यही हो महाराज।’ यसरी जुद्धशम्शेरले आफ्नो अधिकार अनुसार काम गर्न पाए। कालिदास तुरुन्तै कौसलका मिर सुब्बा बनाइए। यो हो- विधिको शासन। सुशासन भनेको मानिसको शरीरभित्रको रक्तसञ्चारजस्तै हो। मुटु , मृर्गौला, फोक्सो, कलेजो आफ्नै तरिकाले काम गर्छ, तर तपाईंको नियन्त्रणमा बस्दैन। त्यसलाई कति सक्षम र सबल बनाउने भन्ने मानिसको दायित्त्व भएजस्तै राज्य सञ्चालकले पनि यो अनुशासनलाई लत्याउनु हुँदैन।
भारतका लोकप्रिय नेता चौधरी चरणसिंहले सत्तामा आएलगत्तै अनियमित काममा संलग्न हजारौं सरकारी लेखापाललाई पदमुक्त गरे। खोइ, उनको राजनीतिक लोकप्रियतामा कहिल्यै कमी आएन। विहारमै बसेर उनी सम्पूर्ण भारतको शासन चलाउँथे। राम्रो काम गर्न मार्क्सवाद, लेनिनवाद, माओवाद, गान्धीवाद, समाजवाद केही पढ्नु पर्दैन, एउटा कमिलालाई हेरे पुग्छ- जसले आफूभन्दा दसौं गुना ठूलो वस्तु मेहनतकासाथ बोक्छ। त्यही अपजसी मूसा जसले समुद्रपारीबाट ल्याएर पृथ्वीमा अन्नको चिनारी गराएको विश्वास गरिन्छ। अझ राज्य त त्यो दुधालु गाई हो, जसको स्याहार चाकर गरेमा सबैलाई अमृत बाँड्छ। स्याहार नगर्ने उही लाम्टामा झुत्ती खेल्ने हो भने अहिलेकै दृश्य काफी छँदैछ।
राम्रो काम गर्न मार्क्सवाद, लेनिनवाद, माओवाद, गान्धीवाद, समाजवाद केही पढ्नु पर्दैन, एउटा कमिलालाई हेरे पुग्छ- जसले आफूभन्दा दसौं गुना ठूलो वस्तु मेहनतकासाथ बोक्छ।
नेता सत्तामा पुग्दा लोकतन्त्र हाँस्ने, सडकमा पुगेपछि लोकतन्त्रमा ग्रहण लाग्ने मुलुक कुन हो ? क्रान्ति कहिल्यै नसकिने देश कुन हो ? जनताको रासनभन्दा नेताको भाषण बिक्ने तन्त्र कुन देशमा छ ? मतदाताभन्दा नेता सस्तो भएको अनौठो राज्य कुन हो ? राजनीतिले सेवा नभएर दलाली र जागिरको मर्यादा कुन देशमा पाएको छ ? गन्तव्यमा पुग्न एम्बुलेन्स भन्दा शव बाहनलाई हतारो हुने देश कुन हो ? लोकसेवाको पाठ्यक्रम परिवर्तन गरेर यी प्रश्न बनाइएको खण्डमा परीक्षार्थीले सग्लो उत्तर दिनेछन्- नेपाल। आफैंले गरेको त्याग र संघर्ष विरुद्ध डेढ दशकमै प्रतिक्रान्तिका लागि जनता उचाल्ने घृणित खेलले राजनीतिलाई सामान्य शिष्टताभन्दा पनि रसातलमा जाकेको छ।
स्याउ काँचै भएपनि तीतो हुँदैन। यो उसको गुण हो। राजनीतिमा परिपक्वता विनाको लचकताको अर्थ छैन। क्रान्ति भनेको ध्वंश नभई विचारको ताजगी मात्रै हो भन्ने तथ्यलाई हेक्का राख्न जरुरी छ।