काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा) मा आज महानगर अन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ ।
इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा सफाइ गरिएको विभागकी उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिइन् । इच्छुमतीमा जम्मा भएको फोहर निकालेर किनारमा थुपारिएको छ ।
विभागले यसअघि असारमा पनि यसरी नै इच्छुमतीलगायत नदी सफाइ गरेको थियो । ६ महिना नबित्दै फेरि नदीमा जम्मा भएको बोतल, प्लाष्टिकलगायत नकुहिने फोहर सफाइ गरिएको हो । महानगरले सफाइसँगै फोहर गर्नेलाई समातेर कानुनी कारबाहीको दायरामा ल्याउने तयारी पनि गरेको जनाइएको छ ।
महानगरले काठमाडौं उपत्यका भएर बग्ने वाग्मती, विष्णुमती, रुद्रमती, बल्खुलगायत नदीमा पनि सफाइ गर्दै आएको छ ।
नागरिकस्तरबाट सुरु भएको वाग्मती सफाइ महाअभियान ६ सयौँ हप्तामा प्रवेश गरे पनि उपत्यकाका अन्य नदी भने सफा हुन सकेका छैनन् ।