आर्थिक

सरकार कसको स्वार्थमा खोल्न खोज्दैछ दुग्धजन्य पदार्थको आयात ?

By खबरहब

November 11, 2024

काठमाडौं : कुनैबेला नेपाली बजार भारतीय दुग्धजन्य पदार्थले ओगटेको थियो । तर अहिले नेपाली बजारमा नेपाली उत्पादनकै अधिपत्य छ ।

भारतीय दुग्ध पदार्थका कारण केही समयअघिसम्म नेपालमा उत्पादित वस्तुले बजार नपाएर सडकमा फाल्नुपर्ने अवस्था थियो ।

तर, आन्तरिक उत्पादनले बजारको माग धान्न सक्ने भन्दै २०८० फागुन ३ गतेबाट दुग्धजन्य पदार्थमा आयातमा रुपमा रोक लगाइएको थियो ।

नेपालले भारतबाट आउने चिल्लो हटाइएको दूध, (स्किम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको, नौनी (बटर) र घिउ आयातमा रोक लगाएको छ ।

यस्तै, छुर्पी, प्रशोधित, भुजुरी वा धूलो नपारेको चिज, भुजुरी पारेको वा धूलो पारेका सबै प्रकारका चिज पनि आयात गर्न दिइएको छैन ।

तर भारतले अहिले यी पदार्थका लागि नेपाली बजार दुलाउन दबाब दिइरहेको छ । यसकै लागि भारतले नेपालबाट निर्यात हुने वस्तुको सर्टिफाइड गरेको छैन ।

नेपालबाट निर्यात हुँदै आएका जुत्ता, सिमेन्ट, प्लाइउड, स्यानिटरी प्याड जस्ता सामाग्रीमा भारतले अनौपचारिक रुपमा अवरोध खडा गरिरहेको उद्योगीहरूले बताएका छन् ।

अहिले भारतले नेपालबाट निर्यात हुने सामाग्रीको गुणस्तर मापन गर्ने ब्युरो अफ इन्डियन स्ट्याण्डडर्स (बीआईएस) नवीकरण गरेको छैन । करिब ४ महिनादेखि भारतले बीआईएस नवीकरण र नयाँ नबनाउने गर्नाले नेपालको निर्यात प्रभावित बनेको छ ।

यसका लागि उद्योग मन्त्रालयमा दबाब र भारत निर्यातलाई सहज बनाउन दुग्धजन्य पदार्थमा लगाइएको प्रतिबन्ध हटाउन खोजिरहेको छ । उद्योग मन्त्रालयले यस्तो प्रतिबन्ध हटाउन खोजेपनि कृषि मन्त्रालय आयात खोल्ने पक्षमा छैन ।

नेपालको डेरी उद्योगदेखि किसानलाई समेत प्रत्यक्ष रुपमा प्रभाव पार्ने भएकाले लगाइएको रोक खोल्न जरुरी नरहेको कृषि मन्त्रालयको भनाइ छ । तर, उद्योग मन्त्रालय भने नेपाली वस्तु निर्यात रोक लागेपछि उद्योगी र तारे होटल व्यवसायीको बलमा आयात खुलाउने तयारीमा लागेको छ ।

आयात खुले नेपाली डेरी उद्योग थला पर्छन्

नेपालले दुग्धजन्य पदार्थमा लगाएको रोक खुलाउन नै प्रतिशोध साँधेको आशंका गरिएको छ । तर, भारतबाट आयात खोल्नेबित्तिकै नेपाली डेरी व्यवसायी धरासायी भएर सरकारी स्वामित्वको डिडिसीको अवस्था अझै नाजुक बन्ने उद्योगीहरू बताउँछन् ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले भारतीय वस्तुको आयात खुल्नै नहुने बताएका छन् । नेपालका लागि आन्तरिक उत्पादन नै बढी भइरहेको समयमा निर्यातबारे सोच्नुपर्ने बेला आयात खुल्ला गर्नै नहुने उनी बताउँछन् ।

अहिले दुग्धपदार्थ खपत नभएर धेरै किसानहरूले भुक्तानी पाउन सकेका छैनन् । नेपाली डेरी उद्योगीले खुट्टा टेक्न खोजेको समयमा आयात खुल्ला गरिए फेरि थला पर्ने उनी बताउँछन् ।

‘हामीले केही समयअगाडि नै प्रतिवेदन पनि कृषि र उद्योग मन्त्रालयमा बुझाएका छौँ । उहाँहरूले हामीसँग छलफल नगरी आयात खुल्ला नगर्ने भन्नुभएको छ । तत्काल खुलाउने मनसायमा कृषि मन्त्रालय छैन’, उनले भने ।

तर अहिले उद्योग मन्त्रालय आयात खुलाउन सकरात्मक देखिएको आशंका उनले गरेका छन् । दुग्धजन्य पदार्थ नेपालकै पर्याप्त भएको अवस्थामा आयात खोल्नु देशका उद्योगी र किसानलाई मार्ने काम मात्रै हुने उनी बताउँछन् ।

कति छ आन्तरिक मौज्दात ?

नेपालमा उत्पादित दुग्ध पदार्थले नै अहिले बजार धानिरहेको छ । सबै खपत हुँदा पनि दुग्ध विकास संस्थान (डीडीसी) मा अहिले ६०० मेट्रिकटन बटर र ६०० मेट्रिकटन धुलो दूध मौज्दात छ । निजी डेरीमा अझै धेरै मौज्दात छ । निजी क्षेत्रका डेरीसँग १५ सय मेट्रिकटनभन्दा बढी धुलो दूध र २ हजारभन्दा बढी बटर छ ।

डीडीसीका सुचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार अहिले दैनिक एक लाख १५ हजार लिटर दूध आउने गरेको छ । त्यसमा ८५ हजार लिटर बिक्री हुन्छ भने अन्यलाई धुलो बनाएर स्टोर गरिएको छ ।

दूध, बटरजस्ता पदार्थहरू निर्यात गर्न सक्ने क्षमता भए पनि नेपालले त्यसका लागि पहल गरेको छैन । केही समयअघि बंगलादेश पठाउने कुरा भए पनि ठोस पहल हुन सकेन ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार अहिले उद्योग मन्त्रालयले केही तारे होटेललाई आवश्यक दुग्धजन्य पदार्थ खोल्ने निर्णय गर्न लागेको जानकारी आएको बताए ।

अहिले सम्पूर्ण दुग्धजन्य पदार्थ आयातमा रोक लगाइएको छ । यसले ठूला होटेललाई आवश्यक सामाग्री व्यवस्थापन गर्न गाह्रो भएकाले त्यस्ता वस्तु मात्रै आयात खोल्ने तयारी भएको उनले बताएका छन् ।

‘नेपालमै उत्पादन भइरहेका दुग्धजन्य पदार्थको आयात खुल्दैन । तर यहाँ नबन्ने सामाग्रीहरु पनि आवश्यक पर्ने भएकाले त्यस्ता भने आशिंक रुपमा खुलाउने कुरा भएको छ’, उनले भने ।

नेपालमा उत्पादन भइरहेका अन्य पदार्थ भने खुलाउन नहुने जोशी पनि बताउँछन् । ‘अहिले आन्तरिक उत्पादन हुने दुध, बटर भारी मात्रामा स्टक छ । यिनकै आयात खुलाउँदा नेपाल डेरी उद्योग धरासायी हुन्छन् । त्यसैले त्यस्ता वस्तु खुलाइँदै’, उनले भने ।

नेपालमै किन बन्दैन गुणस्तरीय चिज ?

तारे होटल लगायतमा आवश्यक मोजरेला चिज नेपालमा उत्पादन हुँदैन । केही उत्पादित पनि गुणस्तरीय नभएको होटेल व्यवसायी बताउँछन् । सरकारी स्वामित्वको डीडीसीले भने भने नेपालमा उत्पादि चिज अन्य देशको भन्दा गुणस्तरीय भएको दाबी गरेको छ ।

‘हामीले अन्य प्रकारका चिज पनि बनाउने गरेका थियौँ । तर ती पदार्थ बिक्री नहुँदा बिग्रिएर जाने भए । कम उत्पादन गर्दा खर्च बढी हुने भएकाले बन्द गरेका छौँ’, उनले भने ।

नेपालमा उत्पादन भएका चिजहरु गुण्स्तरीय रहेकहा उनको भनाइ छ । ‘हामीले उत्पादन गर्ने याक चिज विदेशीहरुले मन पराएका छन् । तर हाम्रोमा थोरै मात्रा उत्पादन हुने भएकाले निर्यात गर्न सकिएको छैन’, उनले भने ।

तर गुणस्तरीय नहुने भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको उनले बताए । ठूला होटेल रेस्टुरेन्टमा आउने विदेशी पर्यटकले उतैको स्वाद खोज्ने र त्यही प्रयोग गरिदिन भन्ने गरेकाले नेपाली उत्पादन खपतमा सस्या भएको उनको भनाइ छ।

ठूला होटललाई आयातित चिज

होटेल एसोसिएसन नेपालका महासचिव साजन शाक्यले यहाँ उत्पादित चिजहरू उच्च गुणस्तरीय नभएकाले आयात गर्नुपर्ने बताएका छन् ।

‘सबै चिज विदेशी नै चाहिन्छ भन्ने होइन तर केही खानेकुरा बनाउन र ग्राहकको माग पूरा गर्न विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘सरकारले आयात प्रतिबन्ध गरेपछि केही समस्या भएको छ । हामीले त्यस्ता आवश्यक कुरा खोलौँ भनेका हौँ, छलफल भइइहेको छ ।’

विदेशीले आफ्नै स्वाद खोज्दा नेपाली उत्पादनले मात्रै नहुने शाक्यको भनाइ छ । ठूला होटलमा प्रायः विदेशीले आफ्नै स्वाद खोज्ने हुनाले विदेशी दुग्धजन्य पदार्थ (चिज र बटर) आवश्यक भएको उनले बताए ।

नेपालले प्रतिबन्ध लगाएकाबाहेक डेरीजन्य पदार्थको आयात अहिले पनि भारी मात्रामा हुँदै आइरहेको छ । चालु आर्थिक वर्षको तीन महिनामै ३२ करोड ३२ लाख रुपैयाँको दुग्धजन्य पदार्थ आयात भएको भन्सार विभागको तथ्यांकमा छ । यस्ता वस्तुमा भारतबाट मात्रै नभई स्पेन, डेनमार्क, फ्रान्स, जर्मन, इटाली, चीनबाट पनि आयात हुने गरेका छन् ।