औषधी/उपचार

कोभिड जोखिमको नयाँ घण्टी : सावधान नभए फोक्सोमा असर

By पवन मुडभरी

January 12, 2024

केही वर्षअघि विश्वमै महामारीका रुपमा फैलिएको कोभिड – १९ का नयाँ नयाँ भेरियन्टहरु देखिइरहेका छन्। अहिले नेपालमा पनि जे एन – १ भेरियन्ट देखिएको छ। पहिलोपटक सोमबार सात जनामा यो संक्रमण भेटिएको हो। साथै सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउन महाशाखाले आग्रह गरेको छ। मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थान, मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्ड जस्तै मास्कको प्रयोग, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन भनेको छ। यो कस्तो भेरियन्ट हो ? यो फैलने सम्भावना कतिको छ ? यसबाट बच्न के गर्न सकिन्छ ? भन्ने विषयमा ओम अस्पतालमा कार्यरत वरिष्ठ छाती रोग विशेषज्ञ डा. सुबोध सागर ढकालसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानी :

कोभिड – १९ का नयाँ नयाँ भेरियन्ट देखिरहेका छन्, अहिले नेपालमा पनि देखिएको जेएन – १ कस्तो भेरियन्ट हो ? जे एन – १ भेरियन्ट सबैभन्दा पहिले २०२३ सेप्टेम्बरमा अमेरिकामा पत्ता लागेको हो। यो ओमिक्रोनकै एउटा भेरियन्ट हो। यसको बारेमा अहिले नै कुनै कुरा भन्न उचित हुँदैन। तर यो एक व्यक्तिबाट अर्को व्यक्तिमै एकदमै छिटो फैलिन्छ। भर्खरै जर्मनी, फ्रान्स र अमेरिकामा गरिएको अध्ययनमा यसले फोक्सोमा पनि छुन सक्छ भनिएको छ। डब्लुएचओले भने यो चाँडो फैलिने भाइरस भए पनि त्यस्तो आत्तिनुपर्ने अवस्था नरहेको भनेको छ। नेपालमा १६ जना कोभिड संक्रमितमध्ये सात जनामा जे एन – १ भेरियन्ट पुष्टि भएको छ।

नेपालमा १६ जना कोभिड संक्रमितमध्ये सात जनामा जे एन – १ भेरियन्ट पुष्टि भएको छ।

अहिले सात जनामा मात्रै देखिएको भन्ने छ, फैलने सम्भावना कतिको छ ? कोभिड संक्रमण दर घटिसकेको अवस्थामा धेरै अस्पतालहरुले टेष्ट गर्न पनि छोडिसकेका थिए। सरकारी अस्पतालमा नि:शुल्क हुन्छ। निजी अस्पतालमा भने बिरामीलाई अनावश्यक आर्थिक भार पर्ने भएकाले अत्यावश्यक बाहेक अन्य अवस्थामा टेष्ट गर्ने गरिएको थियो। तर भारतमा देखिएपछि अहिले हामीले पनि टेष्ट गर्न सुरु गरेका छौं। अहिलेसम्म अरु संक्रमित थपिएका छैनन्। फैलिने सम्भावना भने धेरै छ।

उनीहरुको अवस्था बारे यहाँलाई केही जानकारी छ कि ? कसैलाई पनि जानकारी छैन। सरकारले उनीहरुको ठेगाना समेत गोप्य राखेको छ।

कोभिड-१९ र जे एन -१ का लक्षणहरु एउटै हुन या फरक छन् ? कोभिडको लक्षण भनेको अहिले चिसो मौसममा तीन वटा भाइरस एकदमै बढिरहेको छ। आर एस पी, फ्लु भाइरस र कोभिड यी तीन वटालाई छुट्याउन अलि कठिन छ। यिनिहरुको लक्षण उस्तै उस्तै छ। पुरानो कोभिड भयो भने मात्रै सास फेर्न गाह्रो हुने, छाती दुख्ने, किसिमका लक्षणहरु देखिन सक्छन्। त्यसैले ज्वरो आउने, खोकी लाग्ने, जस्ता लक्षणहरु देखिए भने चिकित्सकको सल्लाहा लिएर तत्काल उपचार गर्नुपछ।

अहिले चिसो मौसममा तीन वटा भाइरस एकदमै बढिरहेको छ। आर एस पी, फ्लु भाइरस र कोभिड यी तीन वटालाई छुट्याउन अलि कठिन छ।

कोभिड-१९ कारण पहिलेको जस्तो अवस्था आउने सम्भावना कति रहन्छ ? खासमा खोप लगाउनेको संख्या त धेरै छ। अन्तिम खोपले मान्छेलाई बचाउने भनेको ३ देखि ६ महिना हो। तर खोप नलगाएको मान्छेमा भन्दा लगाएको मान्छेमा कोभिड लाग्यो भने पनि हल्का खालको मात्रै लाग्छ। पहिलाको जस्तो भयावह स्थिति त नआउला तर जुन अहिले नयाँ भ्याक्सिन आएको छ, त्यो सबैले लाउनु उपयुक्त हुन्छ।

कतिवटा खोप लाउनुपर्छ ? पहिले खोप लगाएकाले बुष्टर डोज मात्रै लगाउँदा पुग्छ।

सावधानीमा सरकारको सक्रियता कस्तो देख्नुभएको छ ? जबसम्म सीमा नाका खुला रहन्छ तबसम्म जति सावधानी अपनाए पनि गाह्रो नै हुन्छ। सरकारले पहिलेजस्तै हेर्ने निकायहरु राख्ने, बाहिरबाट आउने मान्छेहरुको टेष्ट गर्ने भन्ने काम गरिरहेको छ। त्यसका साथसाथै कोभिडले पछि गएर घातक अवस्था निम्त्याओस् भन्नका लागि ओरल एण्टीभाइरस भन्ने छ। सरकारले त्यो पनि उपलब्ध गराइदिए अझै राम्रो हुन्थ्यो।

जबसम्म सीमा नाका खुला रहन्छ तबसम्म जति सावधानी अपनाए पनि गाह्रो नै हुन्छ। सरकारले यो विषयमा पहल कदमी लिनु आवश्यक छ ।

ओरल एण्टी भाइरस उपलब्ध गराउन सरकारले के पहल गर्नुपर्ला ? यो फाइजर भन्ने कम्पनीको हो। यो औषधी १८ महिना या तीन केजी भन्दा बढीको बच्चाहरु लगायत सबैलाई चलाउन सकिन्छ। सरकारले अहिले नै यसतर्फ ध्यान दिएर त्यो औषधी मगाइदियो भने धेरै नै राम्रो हुने थियो।

कस्ता व्यक्तिलाई यसको जोखिम बढी हुन्छ ? ६५ वर्षभन्दा माथिका व्यक्तिहरु जसलाई छाती, मुटु, किड्नी, मधुमेह, क्यान्सर लगातका रोग लागेको छ भने त्यस्ता बिरामीलाई भयो भने अलि घातक हुन्छ।

नागरिकस्तरमा जनचेतना व्यापक बनाएर फेरि दैनिकीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता भएको त हैन ? पहिले बाहिरै ननिस्किनु भनिन्थ्यो भने अहिले चाहिँ घरमा धेरै नबस्नु बाहिर निस्किनु भनिन्छ। बाहिर निस्कनुको मतलव फेरि भीडभाडमा जानु भनेको होइन। मान्छे कम भएको ठाउँमा निस्किनु भनेको हो। यो भाइरस भित्र बढी सक्रिय हुन्छ। त्यसैले घरमा भेन्टिलेसन राम्रो राख्ने, केही लक्षण देखिए भने घरै बस्ने, कोभिड टेष्ट गराउने र पोजेटिभ आएमा चिकित्सकको परामर्श अनुसार औषधी चलाउनु पर्छ।

यसबाट बच्न के गर्नुपर्छ ? सवैभन्दा महत्वपूर्ण खोप लागाउने, साबुन पानीले हात धुने, भीडभाडमा नजाने, मास्क लगाउने, पहिले कोभिडकै बेलामा अपनाइएका क्रियाकलापहरु दोहोर्याउनु उचित हुन्छ। बिरामीलाई नजिकैबाट नभेट्ने खानपानमा ध्यान दिने, लगायत कामहरु गर्यौ भने यसबाट बच्न सकिन्छ।

अहिलेको भेरियन्ट भारतबाट आएको भनिन्छ। सीमावर्ती क्षेत्रमा कस्तो तयारी आवश्यक छ ? पहिलेको जस्तो अवस्था आउन नदिन स्वयं व्यक्ति र सरकार सचेत हुनुपर्छ। अलिकति लक्षण देखिए भने टेष्ट गराउनु पर्छ। अब पहिलेको जस्तो छैन, सामान्य भइसक्यो भन्ने धारणा पाल्नु भएन। बीचमा यो गएको जस्तो देखिए पनि गएको छैन। नयाँ नयाँ भेरियन्ट आइरहेका छन्। यसप्रति डर चाहिँ हुनुपर्छ।

खोप लागाउने, साबुन पानीले हात धुने, भीडभाडमा नजाने, मास्क लगाउने, पहिले कोभिडकै बेलामा अपनाइएका क्रियाकलाप दोहोर्याउनु उचित हुन्छ।

कोभिड चिसो मौसममा बढ्ने हो ? हो चिसो मौसममा यो बढी हुन्छ। जुनसुकै भाइरस पनि चिसोमा एकदमै सक्रिय हुन्छ। यो गुणात्मक हिसाबले बढ्छ। भाइरसका लागि चिसो मौसम स्वर्ग जस्तै हो।

यसको उपचार विधि के छ ? पहिले हामीसँग ओरल एन्टीभाइरस थिएन। अर्को किसिमको थियो, जसले त्यति राम्रो गरिरहेको थिएन। अहिले एन्टी भाइरल र अर्को ओरल एन्टीभाइरस चिकित्सकको परामर्शमा प्रयोग गर्न सकिन्छ।

चिकित्सक भएको नाताले यसको प्रभावबाट जोगिन आम जनतालाई के सल्लाह दिनुहुन्छ ? साबुन पानीले हात धुने, दुरी कायम राख्ने, बाहिर निस्किने तर भीडमा नजाने गरौं। यो बाहेक यसबाट बच्ने कुनै विकल्प छैन।