फाइल तस्बिर

समाचार

‘सरकारले जनताको शिर झुकाउने काम गरेको छैन’

By खबरहब

January 12, 2024

कैलाली : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताएका छन् ।

आज नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका उपसभापति खड्काले सरकारले असाध्यै राम्रो काम नगरेको भए पनि मध्यमस्तरको काम भने गरिरहेको उल्लेख गरे ।

उपसभापति खड्काले आर्थिक स्रोतको अपर्याप्तताका कारणले विकास निर्माणका काम सुस्त भएको बताए । पर्याप्त बजेट नहुँदा चाहेर पनि विकास निर्माणका काम अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ । उनले भएको स्रोतको सदुपयोग गर्दै केही प्रयास भने भइरहेको बताए ।

जनता र सेवाग्राहीसँग जोडिएका विषयमा हुने झन्झट, अप्ठ्यारोपन, ढिलासुस्तीले परेको नकारात्मकता हटाउन सरकारले काम गरिरहेको उपसभापति खड्काको भनाइ छ । उनले सरकार सुशासनको अभियानमा रहेको समेत उल्लेख गरे ।

उपसभापति खड्काले मुलुकको शिक्षा, जलस्रोत, स्वास्थ्यलगायतका क्षेत्रमा भएका विकास कांग्रेसको नेतृत्वमा भएको भन्दै यसबीच भएका कमीकमजोरी सुधार गर्दै जाने पनि उल्लेख बताए ।