समाचार

जंगलको ओढारमा एक शिशु फेला

By खबरहब

January 12, 2024

इलाम– इलामको माईजोगमाई गाउपालिका– ३ स्थित नामसालिङ रोडदेखी करिब १ किलोमीटर तल जंगलमा ढुंगाको ओडारमा एक बेवारिसे शिशु फेला परेका छन् ।

हिजो साँझ घाँस दाउरा गर्ने क्रममा स्थानीय होमबहादुर राना र आशीष देवानले बच्चा रोएको आवाज सुनेपछि गएर हेर्दा बच्चा फेला परेको हो ।

बच्चा भेटिएपछि उनीहरुले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । शिशु भेटिएको ठाउँमा कपडा र बट्टामा दूधसहित भेटिएको थियो ।

प्रहरी र जनप्रतिनिधिको रोहबरमा उक्त शिशुलाई स्थानीयले संरक्षणमा राखेका छन् । शिशु ३–४ दिन अघि जन्मिएको स्वास्थ्यकर्मीले अनुमान गरेका छन् ।

स्वास्थ्य कार्यलय नयाँबजारबाट स्वास्थकर्मीअरु आएर शिशुको स्वास्थ्य अवस्था परिक्षण गरिएको छ । शिशुको अवस्था सामान्य रहेको छ ।

शिशु छोरा भएको र उनलाई कसले सो स्थानमा लगेर छाड्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।