समाचार

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी

By खबरहब

January 12, 2024

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन्।

कैलालीको टीकापुरमा जारी पार्टीको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाका क्रममा अध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेको हो।

दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

पार्टी अध्यक्षमा यसअघि उनकी धर्मपत्नी तथा भूमि व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठ रहेकी थिइन् । महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डितलाई चयन गरेको छ । पुस २६ गतेदेखि टीकापुरमा जारी महाधिवेशनमा देशभरबाट आठ हजार प्रतिनिधि टीकापुर आएका छन् ।

पार्टीका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गर्न लागि छलफल भइरहेको जनाइएको छ । नागरिक उन्मुक्तिको केन्द्रीय समिति पाँच सय एक सदस्यीय हुनेमा महाधिवेशनबाट ३३ पदाधिकारीसहित दुई सय ५४ जना चयन गरिनेछ ।