ब्रेकिङ स्टोरी

प्रचण्ड, ओली र देउवा शीतलनिवासमा

By खबरहब

January 12, 2024

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शीतलनिवासमा बोलाएर ध्यानाकर्षण गराएका  हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले राजनीतिक दललाई आफूहरूले मिलेर ल्याएको सङ्घीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकार दिने गरी तत्काल कानुन पनि मिलेर बनाउन सुझाएका छन् । निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न पनि राष्ट्रपति पौडेलले नेताहरुको ध्यानाकर्षण गराएको पोखरेलले बताए  । 

राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिमा क्षमतावान् प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान शुरु गर्न पनि ध्यानाकर्षण गराएका थिए।

राष्ट्रपति पौडेलको ध्यानाकर्षणलाई नेताहरूले सकारात्मक रुपमा लिएको शीतलनिवास स्रोतको दाबी छ । राप्रपाले आयोजना गरेको राष्ट्रिय एकता दिवसमा सहभागी भएका शीर्ष नेताहरु त्यसपछि शीतलनिवास पुगेका थिए ।