स्टोरी

रत्नपार्कको ‘सडक बसपार्क’को सकस : चालक भन्छन्– चिट काटिने डरले पिसाब फेर्न समेत पाउँदैनौं 

By सीता न्यौपाने

February 12, 2024

विकास परियारले गाडी चलाउन थालेको १४ वर्ष भयो । हाल उनी पनौती–काठमाडौं रुटमा गाडी चलाउँछन् । काठमाडौं जस्तो भीडभाड शहरमा एउटा पनि बसपार्क नहुँदा धेरै सास्ती खेप्नुपरेको उनी सुनाउँछन् । भन्छन्, ‘गाडी चल्दाचल्दै यात्रु आरोल्ने र चढाउने गर्नुपरेको छ ।’ यसरी ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने स्थिति छ ।

अर्को मुख्य समस्या भनेको शौचालयको रहेको उनले बताए । ‘एक मिनेट गाडी रोक्ने ठाउँ छैन, रोक्यो कि प्रहरीले चिट काटिहाल्छ उनले खबरहबसँग भने ‘दैनिक कमाइ भनेको १२ सयको हाराहारीमा हुन्छ, १५ सयको चिट काटेर ट्राफिक प्रहरीले हाम्रो पेटमा लात हानेका छन् ।’

यात्रु ओराल्न र चढाउनसमेत कुनै स्थान छैन । जतिबेलै गाडी गुडाको–गुडाइ गर्नुपर्छ । त्यसले यात्रु नभइकन पनि गाडी कुदाउनु पर्छ । त्यसमा पनि विभिन्न बहानामा प्रहरीले चिट काटेपछि हामीले कसरी कमाइने गर्ने ? उनी प्रश्न गर्छन् । गाडी चलाएर आफ्नो गुजारा गर्ने हामी चालकले दिनहुँ सडकमा प्रहरीको अपमान सहनु परेको भन्दै विकासले आक्रोश व्यक्त गरे ।

वीर अस्पताल नजिक रत्नपार्कस्थित सडकलाई नै बसपार्क बनाएको छ । यति सानो क्षेत्रफल कसरी बसपार्क हुन्छ ? उनी प्रश्न गर्छन् । ‘यहाँ बढीमा दुई मिनेट देखि ५ मिनेटसम्म गाडी राख्न पाइन्छ, उनले भने, ‘यात्रु राम्रोसँग ओर्लन पाएको हुँदैन, ट्राफिक चिट बोकेर आइहाल्छ । ट्राफिक सडकमा सवारी व्यवस्थापनमा भन्दा चिट कसरी काट्ने भन्ने ध्याउन्नमा हुने उनको आरोप छ ।

त्यसै गरी दीपकराज ब्रम्ह्लावटले गाडी चलाउन थालेको २२ वर्ष भयो । उनी काभ्रेदेखि काठमाडौंसम्मको रुटमा गाडी चलाउँछन् । उनको अनुभवमा नेपालमा ड्राइभर पेशालाई सबैभन्दा बढी हेला गरिन्छ । भन्छन्, ‘मानिसहरूले त हेपेकै छन्, सरकारले पनि हामीलाई मान्छे मानेको छैन ।’

हाम्रो सेवा सुविधाको लागि एउटा बसपार्क समेत महानगरपालिकाले दिन सकेको छैन । अरु के माग्ने ? बसपार्क यातायात व्यवसायीले माग्ने विषय हो ? महानगरसँग हात फैलाउने कुरा हो ? भनेर उनी प्रश्न गर्छन् ।

सडकलाई नै बसपार्क मान्नुपर्ने स्थिति छ । कति बेला ड्राइभरले गाडी रोक्छ र चिट काटौँला भनेर ट्राफिक प्रहरी र्याल काढेर बसेको उनी बताउँछन् । यात्रु ओराल्ने र चढाउने मात्रै काम हुँदैन नि, हामी स्टाफले पनि एक छिन गाडी रोकेर चिया खाजा खानुपर्ला । ट्वाइलेट जानुपर्ला कहाँ जाने ? नखाइ–नखाइ सडकमा गाडी दगुराइराख्नु परेको उनी सुनाउँछन् ।

रत्नपार्कस्थित अस्थायी बसपार्कलाई दिपकराजले ‘सडक बसपार्क’ को नाम दिन्छन् । उनी भन्छन्, ‘यति क्षेत्रफलमा मुस्किलले १० वटा गाडी अटाउँछन् ।’ तर यहाँ दैनिक  ११ सय भन्दा बढी गाडीले परमिट लिएका छन् । ‘परमिटको लागि एक गाडीले ६ महिनामा ३५ सय रुपैयाँ तिरेका छौ, उनले भने, ‘तर यहाँ दुई मिनेट गाडी रोक्न पाइँदैन ।’

अर्का चालक लक्ष्मण पौडेलका अनुसार रत्नपार्कको अस्थायी बसपार्क प्रहरीले चिट काट्नको लागि मात्रै भएको बताउँछन् । उनी धुलिखेलदेखि काठमाडौंको रुटमा गाडी चलाउँछन् । उनी भन्छन्, ‘प्रहरीसँग भाग्दा–भाग्दै थाकियो । महिला केटाकेटी तथा वृद्धहरूलाई ओराल्न समय लाग्छ । त्यो दृश्य देख्दादेख्दै पनि प्रहरीले चिट काटेको छ ।’

राती ८ बजे यहाँ आइपुगिन्छ । खाली गाडी फर्केर के गर्ने ? यहाँ गाडी रोक्यो शौचालय छैन । ‘त्यसमाथि रत्नपार्क पकेटमार र यौन व्यवसायीहरूको पकड भएको सुनाउँदै उनी भन्छन्, ‘दिनभर कमाएको पैसा पकेटमारसँग कसरी जोगाउने भनेर जागराम बस्नुपर्छ । ’ साथै, यौन व्यवसायीहरू तान्नै आउने जस्ता समस्या उनले सुनाए ।

त्यसै गरी वीर अस्पताल अगाडि बनेपाका सोमबहादुर क्षेत्री भेटिए । उनी ६ महिनामा  काठमाडौं आएका रहेछन् । जहिले आउँदा पनि बसपार्क नहुँदा गाडी चढ्ने ठाउँ अल्मलिने रहेछन् । उनी भन्छन्, ‘पहिले–पहिले आउँदा पुरानो बसपार्कबाट गाडी चढ्थ्यौं । अहिले अस्थायी बसपार्क छिन–छिनमा परिवर्तन हुने रहेछ ।’ हामी गाउँबाट कहिलेकाहीँ आउने मान्छेलाई कहाँबाट गाडी चढ्ने, कहाँ ओर्लने भन्ने निक्कै समस्या भएको सुनाए ।

बनेपा जान लागेकी कोपिला सुनार आफ्नी ४ वर्षे छोरी डोर्‍याउदै यता र उता गाडी खोजिरहेकी थिइन् । साथमा झोलाझ्याम्टा पनि उनले बोकेकी थिइन् । हामीले सोधेको जवाफ दिन उनलाई खासै रुचि थिएन । बस चढ्न पाए सास्ती सकिन्थ्यो भन्नेमा उनी देखिन्थिन् । हस्याङफस्याङ गर्दै उनले आफू छोरी बोकेर त्रिपुश्वेरदेखि हिँड्दै रत्नपार्क आइपुगेको सुनाइन् । उनले भनिन्, ‘गाडी चढ्न पनि एउटा युद्ध बराबर रहेछ । पैसा भए ट्याक्सी चढ्न हुन्थ्यो । ’

हरेक शहरमा कम्तीमा एक बसपार्क छ । तर देशकै सबैभन्दा ठुलो महानगरपालिका काठमाडौंमा एउटा पनि बसपार्क छैन । हुनेखाने वर्गको लागि काठमाडौं स्वर्ग छ । तर यहाँ सामान्य नागरिकका पनि बसोबास छ । जुन वर्ग सार्वजनिक यातायातको भर पर्छ । उनीहरूको लागि एउटा बसपार्क पनि छैन । दैनिक हजारौँ चालक र लाखौँ यात्रु बसपार्क नहुँदा समस्यामा परेका छन् । काठमाडौं उपत्यका ४० लाख जनसंख्या रहेको र आफ्नो सवारी साधन भएकाको संख्या १० लाख छ । तर राज्यका नीति नियम एक चौथाईको हितमा रहेको देखिन्छ ।

महानगरमा बसपार्क कहिले बन्छ ? यसको तयारी के छ ? सडकलाई कहिलेसम्म बसपार्क बनाइराख्ने ? भन्ने विषयमा काठमाडौं महानगरपालिका भने मौन रह्यो ।

२०७१ सालमा पुरानो बसपार्कलाई महानगरपालिकाले भ्युटावर बनाउनको लागि अनुमति दिएको थियो । महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिबीच ५ वर्षभित्र १२ तला निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर आज नौ वर्ष पुरा हुँदासम्म उक्त टावर निर्माण सम्पन्न हुन सकेको छैन ।

दुईतला निर्माण सम्पन्न गर्ने बित्तिकै बसपार्क सार्ने भनेको महानगरपालिकाले  यतिबेला बसपार्कलाई नै अस्तव्यस्त बनाएको छ । महानगरपालिकाले २०७८ वैशाखदेखि खुलामञ्चको बसपार्क बन्दै गर्दा ‘पिक एण्ड ड्रप’ लागु गर्‍यो ।

छोटो दूरीका सवारीलाई पिक एण्ड ड्रप लागु गरेर मध्यम तथा लामो दूरीका सवारीलाई नयाँ बसपार्कबाट सञ्चालन गरिएको छ । खुलामञ्च पनि बन्द गरेर हाल महानगरले सडकमै बसपार्क अस्थायी बसपार्क घोषणा गरेको छ । जहाँ दुई मिनेट भन्दा बढी गाडी रोक्न पाइँदैन । भ्यु टावरमा बसपार्क कहिले सर्छ भनेर यकिन गर्न मिति भन्न सक्ने स्थितिमा छैन।

तस्बिर : चिरायु शाक्य