टसमा सहभागी नेपाल र पिएनजीका कप्तान । तस्बिरः क्यान

क्रिकेट

त्रिकोणात्मक टि-२० सिरिज : पिएनजीविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

By खबरहब

March 12, 2024

काठमाडौं – हङकङमा जारी त्रिकोणात्मक टि-२० सिरिजको आज हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। टस जितेर पिएनजीले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

यो खेल बिहान केही बेरमा हङकङको मोङ कोक मैदानमा सुरु हुँदैछ। हङकङ भ्रमणमा पुगेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ।

यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन्। आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका छन्।

आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले आठ ओभरमा दुई विकेको क्षतिमा ६५ रन बनाउँदा दोस्रो पटक पानी परेपछि खेल रद्द गरिएको थियो। खेल रद्द भएसँगै नेपाल र हङकङले एक एक अङ्क बाँडेका हुन्। यो सिरिज बुधबारसम्म चल्नेछ।

सिरिजका लागि रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम समेटिएका छन्।

क्यानले यो सिरिजमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिएको छ।

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज अघि शनिबार घरेलु टोली हङकङसँग खेलेको फ्रेन्डसिप कपमा नेपाल पराजित भएको थियो। फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो। मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा जितका लागि घरेलु टोली हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा सबै विकेटको क्षतिमा १३९ रनमा समेटिएको थियो।