समाचार

डेलिभरी दिन सत्ता साझेदार दल परिवर्तन : गृहमन्त्री लामिछाने

By खबरहब

March 12, 2024

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद सुरक्षित हुँदाहुँदै पनि ‘डेलिभरी’ दिनका लागि सत्ता साझेदार दल परिवर्तन गरेको बताएका छन्।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक)को बैठक तथा अर्धवार्षिक समीक्षाका क्रममा मंगलबार उनले यस्तो बताए । उनले भने,  ‘पद सुरक्षित हुँदा-हुँदै पनि प्रधानमन्त्रीले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण डेलिभरी दिनका लागि हो ।’

यस्तै उनले सुशासन कायम र सहज सेवा प्रवाहमा गृह  मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट कसैलाई नभएको बताए । 

गृहसँग श्रोत-साधनको अभाव रहेकाले प्रहरीका दुबै संगठनसंग आधारभूत बस्तुकै खाँचो रहेको बताए । 

सवारी साधन, हातहितयार, उपकरण र प्रविधिमा पनि लगानी गर्नुपर्ने र त्यसतर्फ प्रयाप्त ध्यान दिइनेछ उनले भने । 

 नयाँ आर्थिक वर्षका लागि बजेट बन्ने प्रक्रिया सुरु भएकाले प्राथमिकता निर्धारणसहितको तयारी गर्न र बजेटको सिलिङ बढाउन होइन रिभ्यु गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘राजस्व संकलन र चुहावट नियन्त्रणमा गृह प्रशासनको महत्वपूर्ण भूमिका छ। राजस्व बढाउन सक्यौं भने गृहको बजेट क्रमशः रिभ्यु हुन्छ नै। देशको ढुकुटी बलियो बनाउन सबैले प्रयास गरौं।’