समाचार

ठमेल र दरबारमार्गमा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने

By खबरहब

April 12, 2024

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय गर्नका लागि आवश्यक सुरक्षा लगायतका व्यवस्था तर्जुमा गरेको जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बैंशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन २४सैँ घण्टा व्यवसाय सञ्चालन हुने र त्यसका लागि आवश्यक सुरक्षा लगायतका व्यवस्था तर्जुमा गरेको जानकारी दिएका हुन् ।

उनले सो क्षेत्रमा व्यवसाय गर्नका लागि व्यवसायी, उपभोक्ता, श्रमिकहरूले पालना गर्नुपर्ने आचारसंहिता तोकिएको र उक्त आचारसंहिता तथा मापदण्ड स्वीकृत समेत भइसकेको बताए ।

पूर्णकालीन व्यवसायका लागि आचारसंहिता र मापदण्डको पूर्णपालन र कार्यान्वयनका आधारमा त्रुटिरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेलको भगवान् बहाल क्षेत्रमा स्थानीयको धेरै बसोबास रहेका कारण सो क्षेत्रमा भने तत्काल पूर्णकालीन व्यवसाय गर्न नपाइने जानकारी दिए ।