अन्तर्राष्ट्रिय

काम्तोक बाँधले पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै आलोचना

By खबरहब

April 12, 2024

तिब्बत– तिब्बतमा चीनले निर्माण गरिरहेको काम्तोक बाँधले पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै आलोचना शुरु भएको छ ।

तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि डा. छेवाङ ग्याल्पो आर्यले दिर्चु नदीमा चीनले बनाइरहेको बाँधले पर्यावरणमा असर पर्ने भन्दै विरोध गरेका हुन् ।

चीनले दिर्चु नदीमा ११ लाख किलोवाट जलविद्युत परियोजनाका लागि बाँध निर्माण गरिरहेको छ । यस बाँधले सो क्षेत्र आसपास रहेको पर्यावरण र ६ वटा ऐतिहासिक एवम् सांस्कृतिक महत्वका गुम्बामा असर पर्ने जोखिम रहेको जनाइएको छ ।

उक्त बाँध निर्माणका लागि सो परियोजना निर्माण स्थल नजिकै पर्ने माथिल्लो वोन्तो र शिपा गाउँका हजारौँ मानिसहरू विस्थापित हुने जोखिम पनि रहेको जापान फरवार्डले उल्लेख गरेको छ ।

यससँगै सो क्षेत्रमा बसोबास गर्ने मानिसहरूको परम्परागत जीवनशैलीमा पनि नकारात्मक असर पर्ने डा. आर्यले उल्लेख गरेका छन् ।

जापान फरवार्डसँगको कुराकानीमा उनले यसलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले चासो राख्नुपर्ने जिकिर गरे ।