देश/प्रदेश

शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार्नुपर्छ : मन्त्री चौधरी

By खबरहब

April 12, 2024

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भावी शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार जरुरी रहेको बताएकी छिन् ।

काठमाडौँमा आज आयोजित दुर्गा दाहाल ७२औँ जन्मजन्ती समारोहमा मन्त्री चौधरीले बालमैत्री पाठ्यक्रम र योग्य शिक्षकबाट शिक्षामा परिवर्तन ल्याउन सकिने धारणा राखिन् ।

धनकुटा जिल्ला चौबिसे गाउँपालिका–३ का दुर्गा दाहाल शिक्षक, समाजसेवी र सहकारी अभियानकर्मी थिए । स्मृति कार्यक्रममा उहाँले समाजमा दिएको योगदानको चर्चा गरिएको थियो । यसै सन्दर्भमा मन्त्री चौधरीले दिवङ्गत श्रीमान् दिनेश चौधरीको स्मरण गरेकी थिइन् । श्रीमान्ले समाजमा छोटो समयमा गरेका सकारात्मक कार्यको प्रशंसा गर्दै उहाँको सपना आफूले साकार पार्दै गरेको बताइन् ।

“दिनेशजी सारै ऊर्जावान हुनुहुन्थ्यो”, मन्त्री चौधरी भनिन्, “उहाँले देखेका सपना पूरा गर्न दिनेश स्मृति प्रतिष्ठानबाट समाज सेवाका काम निरन्तर गरिरहेका छौँ ।”

उनले दिनेश र दाहाल जस्ता थुप्रै सकारात्मक सोच भएका व्यक्तिको स्मृति समाजमा थप असल काम गर्न हौसला प्रदान हुने बताइन् । दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिले कार्यक्रममा मानवशास्त्री एवं प्रा डा डम्बर चेम्जोङलाई सम्मान गरेको थियो ।