स्टोरी

खबरसँगै रैथाने परिकार पस्किँदै पत्रकार

By सीता न्यौपाने

May 12, 2024

काठमाडौं- नेपालमा यतिबेला पत्रकारिता पेसा संकटमा छ । कतिपय मिडिया उद्योग बन्द भएका छन् भने कतिपयले श्रमजीवी पत्रकारलाई महिनौंसम्म तलब खुवाउन सकेका छैनन् । यहीबेला जुम्लाका पत्रकार एलपी देवकोटाले भने नयाँ विकल्प समातेका छन् । कलम र क्यामेरा समाउने हातमा उनले चम्चा र डाडुपन्यु लिन थालेका छन् ।

देवकोटाले पत्रकारिताबाट मात्रै जीविकोपार्जन हुन नसक्ने देखेपछि नयाँ स्वरोजगार व्यवसाय थालेका हुन् । काठमाडौंमा टिक्न र हिमाली जिल्ला जुम्लाको उत्पादनलाई बजारीकरण गर्न उनले पत्रकारितासँगै रैथानै परिकारको रेष्टूराँ चलाएका छन् ।

रेडियो नेपालबाट ०६२/६३ को जनआन्दोलनकाे केहि समय अगाडीदेखि पत्रकारिता सुरु गरेका देवकोटाले सुरुमा जुम्लाका स्थानीय मिडियामा काम गरे । नेपाल वान, एबीसी टेलिभिजन, न्यूज २४ हुँदै उनी कान्तिपुर टेलिभिजन र पत्रिकाका रिपोर्टर (रिपोर्टर) बने ।

विगतमा पुस्तकसमेत लेखेका देवकोटा भन्छन्, ‘पत्रकारिता र व्यवसाय दुवै व्यवस्थापन गरिरहेको छु । आमसञ्चारमै विद्यावारिधी (पीएचडी) गर्ने अन्तिम चरणमा छु ।’

आफूले सञ्चालन गरेको व्यवसायबारे देवकोटाले भने, ‘आर्थिक मन्दीका बेला कुनै पनि व्यवसाय सन्तोषजनक छैन । तर, मैले व्यवसाय मात्रका लागि होइन, स्थानीयसँगको समन्वयमा स्थानीय उत्पादनको बजारीकरण गरौं भनी सामाजिक मनोभावले पनि सुरु गरेको हुँ ।’

पछि पत्रकारिताबाट मात्रै हुँदैन भनेर व्यवसायमा लागेको देवकोटा बताउँछन् । उनी भन्छन्, ‘व्यापारीहरूले तीन–चारवटा व्यवसायलाई निरन्तरता दिएका हुन्छन्, हामी पत्रकारले एउटा मात्रै पेशालाई जीवनको आधार बनाएर बस्नु हुँदैन ।’

पत्रकारिता पेशाबाट आफूमा वितृष्णा नआएको बताउँदै देवकोटा भन्छन्, ‘पत्रकारितामा निशारा छाएर यता आएको होइन । पत्रकारितामा पनि राम्रो भविष्य छ । भविष्य नै नदेखेको भए यही विषयमा पीएचडी गर्ने थिइनँ । आयआर्जनको स्रोत बढाउनुपर्छ भन्नेमा लाग्दा यो व्यवसाय अपनाएको हो । पत्रकारिता मेरो मुख्य पेशा हो ।’

कान्तिपुरमा कार्यरत देवकोटाले भने, ‘जिल्लामा बसेर मात्रै रिपोर्टिङ गर्ने भन्दा पनि अब केन्द्रमा बसेर आर्टिकल लेख्छु र व्यवसाय पनि चलाउँछु ।’

उनी थप्छन्, ‘मानिसहरू केही काम नपाएपछि पत्रकारितामा लाग्छन्‌ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक छ । पत्रकार पनि स्वरोजगार बन्न सक्छ ।’

तर, अहिले पत्रकारिता क्षेत्रको आर्थिक अवस्था खस्किएको देवकोटाको स्वीकारोक्ति छ । उनी भन्छन्, ‘पत्रकारिताको अवस्था खस्किँदो छ, यसलाई व्यवस्थापन गर्न पत्रकारहरूले आफूले सक्ने अन्य व्यवसायमा पनि हात हाल्नुपर्छ ।’

श्रमजीवी पत्रकारहरूको पीडा सुनाउँदै उनले भने, ‘चार–पाँच महिनासम्म बिना तलब पत्रकारले काम गरिरहेका छन् । घरभाडा तिर्ने, छोराछोरीको शैक्षिक शुल्क र खाद्यान्नमा तलब आएको छैन भनेर छुट हुँदैन । त्यो त कुनै पनि हातलमा जुटाउनुपर्छ । त्यसको विकल्प स्वरोजगार हो ।’

देवकोटाले अगाडि भने, ‘संकट भए पनि मान्छेले खान छाड्दैन । बाँच्नका लागि खानैपर्छ । जीवननिर्वाह कुनै पनि हालतमा गर्नैपर्‍यो । सके एक्लै गर्ने, नसके साथीभाइ वा आफन्तसँग सहकार्य गरेर भए पनि व्यवसाय गर्नुपर्छ । व्यवसाय गर्दा नागरिकका आधारभूत माग के–के हुन्, त्यो पत्ता लगाएर लगानी गर्नुपर्छ ।

अनि जन्मियो ‘आँगन’

आफ्नै गृहजिल्ला जुम्लाको रैथाने उत्पादनलाई काठमाडौंमा बजारीकरण गर्न यतिबेला पत्रकार देवकोटा सक्रिय छन् । जुम्ला, चन्दननाथ नगरपालिका-१० का ३३ वर्षीय उनी तीन सन्तानमध्येका माइला छोरा हुन्।

पत्रकारिता सँगसँगै उनले व्यवसायमा पनि चुनौती लिने प्रयास गरेका छन् । दुई महिना अगाडि काठमाडौंको बुद्धनगरमा जुम्लाका उत्पादन बेच्ने उद्देश्यले ‘आँगन रेष्टूराँ’ सञ्चालनमा ल्याएका हुन् ।

जोखिम हुँदाहुँदै पनि नेपालीहरूले आफ्नै देशका रैथाने खानेकुरा खान्छन् भन्ने कुरामा पूर्ण विश्वास भएर यो व्यवसाय सुरु गरेको देवकोटा सुनाउँछन् ।

जुम्लातिर घर आँगनलाई ‘ओटालो’ भनिन्छ । देवकोटाले आफ्‍नो ओटालो अर्थात् आँगनमा आएर जुम्लाको स्थानीय परिकारको स्वाद लिन आग्रह गरे ।

मार्सी चामलको मार्केटिङ

पत्रकार देवकोटाको रेष्टूराँमा जुम्लाको मार्सी चामलको परिकार पाइन्छ । देवकोटाको रेष्टूराँमा मार्सीको बिरयानीका साथै खाना सेट पनि उपलब्ध छ । शहर बजारमा छुट्टीको समय अथवा शुक्रबार र शनिबार परिवारसँग रेष्टूराँ जाने चलन छ । त्यसका लागि उपयुक्त परिकार बिरयानी पनि हो ।

मार्सी चामलको मार्केटिङमा भने मेडिकल व्यवसायी दुर्गा प्रसाईको ठूलो भूमिका छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई घरमा बोलाएर प्रसाईंले मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि मार्सी चामलको चर्चा चुलिएको हो ।

मार्सी चामल मुख्यतः कर्णालीको जुम्लामा उत्पादन हुन्छ । सेतो चामलमा भन्दा यसमा धेरै पौष्टिक तत्व हुने भएकाले थोरै  खाँदा पनि आडिलो हुन्छ । राणाकालमा हरेक दिन एक किलो मार्सी चामल हुलाकमार्फत राजाका लागि जुम्लाबाट काठमाडौं आउँथ्यो भन्ने किंवदन्तीसमेत देवकोटाले अग्रज पुस्ताबाट सुनेका रहेछन् ।

मार्सी विश्वकै अग्लो स्थानमा फल्ने धान पनि हो । यो धान समुन्द्र सतहबाट करिब ३ हजार मिटरमाथि उत्पादन हुन्छ । काठमाडौंमा अहिले यसको मूल्य प्रतिकेजी ३५० देखि ४०० रुपैयाँसम्म पर्छ । स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण तथा पोषक तत्वका कारण यसको महत्व बढ्दै गएको छ ।

देवकोटाका अनुसार यो ७०० वर्ष पुरानो धानको चामल हो । हाल यसको सक्कली बीउ अनुसन्धानका लागि नेपाल कृषि अनुसन्धान परिषद्‌ (नार्क) मा राखिएको छ ।

देवकोटा भन्छन्, ‘भारतीय चामलको मात्रै बिरयानी बनाएको पाइन्छ । अब नेपाली अर्थात् मार्सी; जो कर्णालीमा उत्पादन भएको छ – यसको स्वाद पनि लिनुपर्छ भनेर लागिएको हो । आँगनमा मार्सी बिरयानीको मूल्य ५५० रुपैयाँ छ । यो दुई जनाका लागि पर्याप्त हुन्छ ।

मार्सी चामल र बिरयानीको माग बढिरहेको देवकोटा बताउँछन् । टाढाको लागि पठाओमार्फत पनि डेलिभरी सेवा दिने गरिएको उनले सुनाए ।

जुम्लामा बनेको स्याउको वाइन अर्थात् मार्फा पनि उपलब्ध छ । स्याउको ब्राण्डी र ह्विस्की पनि उपलब्ध छ । काठमाडौंमा मार्फाको माग धेरै छ । त्यसमा यार्सागुम्बा राखेर स्वाद चखाउने गरिएको देवकोटा बताउँछन् ।

यार्सागुम्बा कुनै पनि उमेरका मान्छेले खान मिल्छ । विशेष दुधमा हालेर खाने गरिएको छ । तर, ब्राण्डी खानेले यार्सा त्यसमा भिजाएर रस खान्छन् । यार्साको मुख्य उदेश्य ‘इम्युनिटी’ बढाउने नै हो । एउटा यार्सा राखेको वाइन बोतलको मूल्य ३५ सय देखि ४ हजार रुपैयाँसम्म पर्छ । ९० एमएलमा एउटा यार्सा राखेको ७०० रुपैयाँसम्म पर्छ ।

भटमासजस्तै ‘कला’

भटमास प्रजातिको यो सानो केराउजस्तो हुन्छ । चपाउँदा कुरुम–कुरुम हुन्छ । यसको माग पनि निकै रहेको देवकोटा बताउँछन् । यो परिकारको मूल्य प्रतिप्लेट २०० रुपैयाँ पर्छ ।

आगामी दिनमा चिनोको भात र कागुनोको खीर पनि उपलब्ध गराउने योजना रहेको देवकोटाले सुनाए । चिनो र कागुनो मसिनो चामल हो । यी दुबै कर्णालीको रैथाने उत्पादन हुन् । अन्य परिकार भन्दा यसको मूल्य अलि महङ्गो पर्छ ।

घोडोमच्चो चिया

यो उच्च हिमाली क्षेत्रमा पाइने चिया हो । फाँटमा जहाँ रुखहरू केही पनि हुँदैनन्, जहाँ हरियो घाँस मात्रै हुन्छ , त्यहाँ घोडोमच्चो चिया आफैं उम्रिएको हुन्छ ।

यो चिया खेती आजसम्म कसैले गरेको छैन, जंगलबाटै खोजेर ल्याउने हो । यसको हरियो घाँस मात्रै हुन्छ । यसका पातहरू सुकाएर तातोपानीमा उमालेर बनाउने हो । ग्यास्ट्रिक भएकाहरूका लागि निकै फाइदाजनक छ ।

देवकोटा भन्छन्, ‘यसको साइड इफेक्ट केही पनि छैन । एक कपको १२० रुपैयाँ पर्छ । यो चिनी नहाली खाने चिया हो ।’

जुम्लाको आलु

जुम्लालाई २०६७ सालमै प्राङ्‌गारिक (अर्गानिक) जिल्ला घोषणा गरिएको हो । त्यहाँ कुनै पनि विषादी वा युरिया प्रयोग भएको हुँदैन । अन्यत्रको विकासे आलु र जुम्लाको रैथाने आलुको स्वादमा पनि धेरै फरक छ ।

च्याङ्ग्राको सेकुवा

काठमाडौंमा विशेषगरी दशैं तिहारमा मात्रै च्याङ्ग्रा ल्याउने गरिन्छ । तर, जुनसुकै बेला च्याङ्ग्राको मासु खान पाइने व्यवस्था पत्रकार देवकोटाले गरेका छन् ।

उनी भन्छन्, ‘हामीले जुम्लाबाट मात्रै ल्याउने गरेका छौं । आवश्यकता अनुसार गाडीमा २/३ वटा ल्याइराख्ने गरेका छौं । लुभुमा खोर बनाएर च्याङग्रा राखेका छौँ । ती सबै यही होटलमा खपत भएका छन् ।’

मकैको रोटी

पछिल्लो पुस्ताका धेरै नेपालीहरूलाई मकैको रोटी खाइन्छ भन्ने थाहा छैन । मकैको रोटी पकाउँदा जम्दैन र फुट्छ भन्ने धेरै मानिसलाई लाग्छ । शहरका मानिसहरूलाई मकैको च्याँख्ला अर्थात् आटो र पिठोको उपयोगिताबारे धेरै थाहा छैन ।

देवकोटा भन्छन्, ‘मकैको रोटी अन्य रोटी जसरी तावामा बनाउने होइन, यो सालको वा केराको पातमा बनाउनुपर्छ । आफ्नो वरपर जे उपलब्ध हुन्छ, त्यसैको पातमा बनाउँदा पनि हुन्छ ।’

फेरिएको ‘लाइफ स्टायल’

आफूले कर्णालीमा उत्पादन भएका वस्तु काठमाडौंमा बिक्री गर्न थालेपछि जिल्लाका कृषकहरूसँग प्रत्यक्ष जोडिन पाएको देवकोटाले सुनाए ।

उनले खबरहबसँग भने, ‘किसानहरूलाई पनि आफ्नो उत्पादन कहाँ लगेर बेच्ने अन्योल थियो । उनीहरूले अहिले प्रत्यक्ष लाभ लिन सकिरहेका छन् । उनीहरूको आम्दानीको स्रोत बढेको छ । उत्पादनले मूल्य पाएपछि जुम्लाका किसान हौसिएका छन् ।’

देवकोटाको अनुभवमा गाउँको खाद्यान्नलाई हेला गर्ने र विदेशबाट चामल आयात गरेर खाने संस्कारमा विस्तारै परिवर्तन आउन थालेको छ । अचेल धनी मानिसहरूले पनि भातमा भन्दा ढिँडोमा जोड गर्न थालेका छन् ।

विगतमा ढिँडो विपन्न वर्ग अर्थात् चामल किन्न नसक्नेहरूले खाने भन्ने थियो । तर, सेतो चामलको अत्यधिक प्रयोगले रोग बढाउँदै लगेको छ । अब भान्सा सुधार गर्नुपर्छ भन्दै विपन्न वर्गले खाइरहेको परिकारलाई स्वास्थ्यका लागि फाइजनक देख्न थालिएको छ । ढिँडो अब पाँचतारे होटलको मेन्यूमा अटाइसकेको छ ।

र, यही फेरिँदो जीवनशैलीले गर्दा कर्णालीमा उत्पादित रैथाने खाद्यान्नले शहरमा बजार पाउन थालेको हो ।