फाइल तस्वीर

आर्थिक

९ महिनामा सरकारले गर्‍यो ९०९ अर्ब खर्च, ७ प्रदेश ७८ अर्ब १३ करोडमा सीमित

By खबरहब

May 12, 2024

काठमाडौं–सरकारले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९०९ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

सरकारले गत आवको ९ महिनाको अवधिमा भन्दा चालु आवको ९ महिनामा ३.६ प्रतिशतले सरकारी खर्च घटेको छ । समीक्षा अवधिमा चालु खर्च ६४४ अर्ब ३ करोड रुपैयाँ रुपैयाँ, पुँजीगत खर्च ९७ अर्ब ३८ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १६७ अर्ब ९९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको चैत मसान्तसम्ममा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७४८ अर्ब ४ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा १३.४ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ९.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यस अन्तर्गत कर राजस्व ६७१ अर्ब १२ करोड रुपैयाँ र गैर कर राजस्व ७६ अर्ब ९३ करोड रुपैयाँ परिचालन भएको बैंकले सार्वजनिक गरेको विवरणमा छ ।

चैत मसान्तसम्ममा सरकारका विभिन्न खातामा ३१३ अर्ब ७२ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रदेशको खर्च ७८ अर्ब १३ करोड चालु आवको ९ महिनाको अवधिमा ७ वटा प्रदेशका सरकारहरूको जम्मा खर्च ७८ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।  सबै प्रदेशको स्रोत परिचालन १३२ अर्ब २८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ९८ अर्ब २९ करोड रुपैयाँ रहको छ । त्यस्तै सातै प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३३ अर्ब ९९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।