समाचार

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

By खबरहब

June 12, 2024

म्याग्दी– म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो ।

बेनी बजारबाट १२ दशमलव पाँच किलोमिटर मङ्गला गाउँपालिका–२ सिमसम्म कालोपत्र गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत–बाबियाचौर– लाम्पाटा–पानाबगर हुँदै रणवाङको सिमानासम्म पु¥याएको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो ।

चौबिस किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो ।