स्टोरी

कांग्रेसका भ्रातृ संगठन : न सक्रिय छन्, न महाधिवेशन गर्छन्

By खबरहब

June 12, 2024

काठमाडौं– केन्द्रदेखि वडासम्म ७ तहका कार्यसमिति बनाएर चलायनमान बनेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका भ्रातृ संगठनहरूको अवस्था भने कन्तबिजोग छ । १४ औँ महाधिवेशनपछि तल्लो तहसम्मै चलायमान कांग्रेसले आफ्ना भ्रातृ संगठनलाई भने चुस्त–दुरुस्त बनाउन सकेको छैन ।

कांग्रेसका १३ मध्ये अधिकांश भ्रातृ संगठनहरू तदर्थवादमा चलेका छन् । कांग्रेसले लामो समयदेखि अधिवेशन गर्न नसकेका भ्रातृ संगठनहरुलाई गतिशील बनाउन भन्दै १३ मध्ये १० वटाको केन्द्रीय कार्यसमिति विघटन गरेर तदर्थ समिति बनाएको थियो ।

तर, ती तदर्थ समितिले निर्धारित समयावधि सकिएको लामो समय बितिसक्दा पनि जिम्मेवारी पूरा गर्न सकेका छैनन् । कांग्रेसले २०७८ फागुन ३ मा १३ मध्ये १० भ्रातृ संस्थाहरुका केन्द्रीय कार्यसमिति भंग गरेर केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार उक्त महिनाभित्रै तदर्थ नेतृत्व मनोनित गर्न नसके पनि सभापति शेरबहादुर देउवाले फरक–फरक समयमा तदर्थ समिति गठन गरेका थिए । पटकपटक गरी ती तदर्थ समितिका लागि समय थपे पनि भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न सकेका छैनन् ।

गत पुस १२ देखि १४ गतेसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले २०८१ असार मसान्तसम्म महाधिवेशन सम्पन्न गर्ने गरी भ्रातृ संस्थाहरुको अवधि थपेको थियो । थपिएको समयावधिभित्र भ्रातृ संस्थाहरुले महाअधिवेशन गर्न नसके चाल्नु पर्ने कदमबारे कांग्रेसले कुनै निर्णय गरेको छैन ।

पटकपटक थपिएको समयमासमेत भ्रातृ संस्थाले महाधिवेशन गर्न नसकेपछि भंग गरेर नयाँ तदर्थ समिति ल्याउनुपर्ने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी बताउँछन् ।

‘महाधिवेशन गर भनेर पार्टीले दिएको म्यान्डेड भ्रातृ संस्थाहरूले पूरा गर्न सकेनन् । पटक–पटक एउटै नेतृत्व बसिरहने तर काम नगर्ने हो भने यस्ता कमिटी हुनु र नहुनुको अर्थ छैन भन्ने छ,’ उनले खबरहबसँग भने, ‘अब नयाँ कमिटी ल्याउनुपर्छ । यसो गर्दा नयाँ लिडरसिप आउँछ । यसैलाई राखिरहनु जरुरी छैन ।’

कांग्रेसका अर्का केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ आगामी केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनउन्मुख नदेखिएका भ्रमतृसंस्थाबारे निर्णय लिने बताउँछन् ।

‘नियमित अधिवेशन गर्न नसकेका र अधिवेशनउन्मुख नै नभएका तथा म्याद सकिएका भ्रातृ संस्थाहरूबारे पार्टीभित्र आन्तरिक छलफल गरेर गृहकार्य गर्ने कुरा भएको छ,’ उनी भन्छन्, ‘केन्द्रीय समिति बैठकले त्यसबारे निर्णय लिन्छ नै ।’

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पटक–पटक थप गरेको समयावधिभित्र पनि महाधिवेशन नगर्ने भ्रातृ संस्थाबारे पार्टीले निर्णय गर्ने बताउँछन् ।

महाधिवेशनको तयारीमा लागेका संस्थालाई निरन्तरता दिने र तयार नभएका संस्थाको केन्द्रीय तदर्थ समिति भंग गर्नेसम्मको निर्णय हुन सक्ने उनले संकेत गरे ।

‘महाधिवेशनको प्रक्रिया थालेको भ्रातृ संस्थाबारे एउटा धारणा बन्दै गएको छ । जसले कार्यसमितिलाई पूर्णता नै दिएको छैन, महाधिवेशनको सुरसार नै गरेको छैन, उनीहरुबारे अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले खबरहबसँग भने ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) : कांग्रेसको नर्सरी भनिने नेविसंघको २०७३ पछि महाधिवेशन हुन सकेको छैन । महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरको राजीनामा पछि २०७६ माघ १६ मा कांग्रेसले राजीव ढुंगानाको संयोजकत्वमा तदर्थ समिति बनाएको थियो ।

१४ औँ महाधिवशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ मा दुजाङ शेर्पाको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति बनाएका थिए । शेर्पा नेतृत्वको नेविसंघको तदर्थ समिति ७५२ सदस्यीय छ । नेविसंघको महाधिवेशन अझै पनि अनिश्चित छ ।

नेपाल तरुण दल : कांग्रेसका भ्रातृ संस्थामध्ये तरुण दललाई महत्वपूर्ण भ्रातृ संस्थाका रुपमा हेरिन्छ । तरुण दलको पनि २०७३ पछि नियमित अधिवेशन हुन सकेको छैन ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेत पार्टीको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सभापति देउवाले २०७८ चैत ९ मा तत्कालीन कोषाध्यक्ष विद्वान गुरुङलाई केन्द्रीय तदर्थ समितिको अध्यक्ष बनाएका थिए । ४०१ सदस्यीय तरुण दलको पनि आगामी महाधिवेशन अनिश्चित छ ।

नेपाल महिला संघ : यसको पनि २०७३ पछि महाधिवेशन हुन सकेको छैन । अध्यक्ष उमा रेग्मीलाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेसँगै महिला संघ पनि नेतृत्वविहीन अवस्थामा थियो ।

महिला संघ नेतृत्वविहीन भएपछि उनले २०७९ साउन २६ गते सिरहाकी उषा राउत मिश्रलाई महिला संघको अध्यक्षमा मनोनित गरेका थिए । ५३ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको महिलासंघको महाधिवेशन पनि हुने छाँटकाँट देखिदैन ।

नेपाल प्रजातन्त्र सेनानी संघ : नेपाल प्रजातन्त्र सेनासी संघको २०६४ मा महाधिवेशन भएको थियो । २०६९ मा महाधिवेशनका लागि टंकप्रसाद शर्मा कँडेल नेतृत्वको तत्कालीन कार्यसमितिले तयारी गरे पनि अन्तिम अवस्थामा रोकिन पुगेको थियो । त्यसयता महाधिवेशन हुन सकेको छैन । हाल बालकृष्ण दाहालको अध्यक्षतामा सेनानी संघको तदर्थ समिति छ ।

नेपाल किसान महासंंघ : कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासंघ (तत्कालीन नेपाल किसान संघ) को पनि २०६४ पछि महाधिवेशन हुन सकेको छैन । उक्त महाधिवेशनबाट चयन कार्यसमितिले समयमा महाधिवेशन गर्न नसकेपछि भानुभक्त सिग्देलको संयोजकत्वमा तदर्थ समिति बनेको थियो ।

हाल गणेशचन्द्र तिमल्सिनाको संयोजकत्वमा किसान महासंघको दोस्रो तदर्थ समिति गठन भएको छ । ४६ सदस्यीय तदर्थ समिति रहेको किसान महासंघको पनि महाधिवेशनको कुनै टुंगो छैन ।

नेपाल दलित संघ : नेपाल दलित संघको तदर्थ केन्द्रीय समितिको अध्यक्षको जिम्मेवारी लोकबहादुर विश्वकर्मालाई दिइएको छ । २०६९ पछि यो संस्थाको पनि महाधिवेशन हुन सकेको छैन ।

नेपाल भूतपूर्व सैनिक संघ : सैनिक संघले पनि २०७३ पछि महाधिवेशन गर्न सकेको छैन । पार्टीले मेघराज टण्डनलाई सैनिक संघको तदर्थ समिति अध्यक्ष मनोनित गरेको छ ।

नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघ : २०६४ बाट महाधिवेशन हुन नसकेको आदिवासी जनजाति महासंघको अध्यक्षमा ओमबहादुर घर्तिमगर छन् ।

कांग्रेसले भ्रातृ संस्था आदिवासी जनजाति संघको नाम परिवर्तन गरेर लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बनाएको छ । महासंघले आगामी असार ११ देखि १३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

राष्ट्रिय लोकतान्त्रिक अपांग संघ : २०६६ मा मान्यता पाएको संघको अधिवेशन नै हुन सकेको छैन । पछिल्लो समय प्रकाश पन्थको अध्यक्षतामा कांग्रेसले तदर्थ समिति बनाएको थियो ।

नेपाल मुस्लिम संघ : नेपाल मुस्लिम संघ कांग्रेसका महाधिवेशन गर्ने भ्रातृ संस्थामा पर्दछ । २०८० असोजमा सम्पन्न महाधिवेशनबाट अताबुल मन्सुरी निर्विरोध रुपमा अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न तेस्रो महाधिवेशनले मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

यसअघि मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार १४ औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएपछि स्वतः पदमुक्त भएका थिए । उनी २०७५ वैशाख १५–१६ मा सम्पन्न मुस्लिम संघको दोस्रो महाधिवेशनबाट अध्यक्षमा दोहोरिएका थिए ।

नेपाल ठाकुर समाज : २०७९ साउनमा नेपाल ठाकुर समाजको महाधिवेशन भएको थियो । निर्धारित अवधिमा महाधिवेशन सम्पन्न जिम्मेवारी निर्वाह गर्न नसकेपछि कांग्रेसले केन्द्रीय समितिले विघटन गरेर अनिरुद्रप्रसाद ठाकुरको संयोजकत्वमा तदर्थ समिति बनाएको छ ।

नेपाल थारू संघ : नेपाल थारु संघ कांग्रेसको नयाँ भ्रातृ संस्थामध्येमा पर्दछ । यो संस्थाले २०७९ साउनमा मातृ पार्टीको केन्द्रीय कार्यसमितिबाट नयाँ मान्यता पाएको हो ।

हाल शिवनारायण महतो गुरौको अध्यक्षतामा थारु संघको केन्द्रीय तदर्थ कार्यसमिति छ । सभापति देउवाले विभिनन जिल्लाबाट ९८ जना व्यक्तिहरूलाई थारु संघको सदस्यमा मनोनयन गरेका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ : यो संस्था पनि कांग्रेसको नयाँ भ्रातृ संस्था हो । यसलाई पनि २०७९ साउनमा बसेको केन्द्रीय कार्यसमिति बैठकले भ्रातृ संस्थाको मान्यता दिएको थियो । देवेन्द्रकुमार शेरचनको अध्यक्षमा यसको केन्द्रीय तदर्थ कार्यसमिति छ ।