समाचार

यती-ओम्नी र गिरिबन्धुको कलंक नबोकी सरकार चलाउन सकिने रहेछ : प्रधानमन्त्री

By खबरहब

July 12, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण सरकार ढल्ने अवस्था सिर्जना भएको बताएका छन् ।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफूले सुशासनको सङ्कल्प गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जनताले आफ्नो देखाउने समय आएको बताए ।

‘मैले संकल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृत संकल्पित छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले राज्यबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहको सरलीकरणको प्रयास गर्‍यो । सरकारले विश्वविद्यालयमा मेरिटोक्रेसीको प्रयास गर्‍यो । सरकारले जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गर्‍यो । देशको एउटा विशेष वर्ग कानूनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गर्‍यो । कुनै यति, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेश गर्‍यो ।’