राजनीति

‘ओलीले स्वर्ग-नर्क सँगै जाउँला भनेपछि मख्ख परेँ, नराम्रो धोका पाएँ’

By खबरहब

July 12, 2024

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले आफूलाई मिठो बोलेर नराम्रो धोका दिएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत माग्नुअघि बोल्दै ओलीले असार १७ गते स्वर्ग र नर्क सँगै जाने, २०८४ को चुनाव सँगै लड्ने भनेर धोका दिएको बताए ।

उनले नेपाली कांग्रेस र एमालेलाई संविधान संशोधन गर्ने भए देशलाई प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा लैजानुपर्ने चुनौती दिए ।

‘संविधान संशोधन गरौँ, दलित महिला र विपन्नको सहभागिता बढाऊँ । तपाईंहरूलाई अहिले बाडुल्की लागिरहेको होला’, उनले भने, ‘एमाले अध्यक्षको क्षमता र कला तारिफयोग्य छ । मलाई राम्रोसँग फकाउनु भयो, वामपन्थी पो मिल्नु पर्छ, कांग्रेस कहाँ हाम्रो कुरा मिल्छ भन्नु भयो । म त अलिक सेन्टिमेन्टल भएँ होला त नि भनेर विश्वासमा परेँ । तर अहिले धोका भयो ।’

उनले ओलीले कम्युनिष्ट एकता गरौँ भन्दा आफूले मानेको पनि बताए । ‘सरकारको गियर परिवर्तनका लागि यो बाटो ठिक छ भनेर ढुक्क भएँ । त्यो कुरा त षड्यन्त्र रहेछ भन्ने बल्ल बुझेँ । केही मान्छे कुन्ठा र षड्यन्त्रबाट कहिले निस्किन सक्दैनन् भन्ने मैले ठानिनँ’, उनले भने, ‘स्वर्ग र नर्कसँगै जाने कुरा असार १७ गतेको हो । १७ गते बिहान स्वर्ग र नर्कमा सँगै जाने, २०८४ मा चुनाव पनि सँगै लड्ने कुरा ‌ओलीले गर्नु भयो । म ढुक्क भएर बसेँ। मूल नेतृत्वले नै स्वर्ग गए पनि सँगै नर्क गएँ पनि सँगै भनेकाले दायाँबायाँ नहुनेमा ढुक्क थिएँ ।’

ओलीले त्यसो भनेपछि क्याबिनेटमा गएर आफूले त्यही ब्रिफिङ गरेको उनले बताए । ‘म क्याबिनेटमा गएँ, मलाई साथीहरूले दायाँबायाँ हुन लागेको भन्नु भयो, तर मैले तपाईंहरू बुझ्नु हुन्न चार घण्टा कुरा गरेर आएँऽ एमाले अध्यक्षसँग भने तर म त …टो रहेछु ।’

उनले नयाँ सत्ता समीकरण बनाइरहेका कांग्रेस र एमालेका नेताहरूलाई कसैलाई धोका नहोस् भनेर सुझाव दिए । ‘हजारौँ नेपालीको त्याग र बलिदान छ यो लोकतन्त्र ल्याउनमा’, उनले भने, ‘लोकतन्त्रका लागि लड्ने प्रचण्ड जस्तो क्रान्तिकारी नेता फेरि फेरि जन्मिँदैन, यति हेक्का होस् ।’

के भने प्रचण्डकै भाषामा ? 

महोदय, मलाई केही साथीहरूले निरन्तर लगाइरहेको अस्थिरताको आरोपबारे पनि म सम्मानित सदनमा राख्न चाहन्छु। निर्वाचनपूर्व नै हामी गठबन्धन बनाएर जनताको बीचमा गएका थियौँ । तर सरकार बन्ने बेला राजनीतिक तह नेतृत्वको सहमति पालना नभएपछिको अवस्थामा म एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा लगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेको हुँ ।

प्रधानमन्त्रीका रूपमा म राष्ट्रिय सहमति र सहकार्यतिर अग्रसर थिएँ । मैले पहिले पनि भनिसकेँ सभामुख दोस्रो ठूलो दलबाट भएपछि संसदको सबभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति दिँदा जनमतको सम्मान हुन्छ । शक्तिको पनि न्यायपूर्ण वितरण हुन्छ भन्ने मेरो यही अडानमा असहमत भएर एमाले सरकार र गठबन्धनबाट बाहिरिएपछि फेरि निर्वाचनअघिकै गठबन्धन बन्ने अवस्था आएको हो । यसमा अस्थिरताको आरोप न विवेकपूर्ण छ न तर्कसंगत छ।

मैले समन्वय सहमति सबै शक्तिको न्यायोचित वितरण गरौं मुख्य ठाउँमा भन्दा म अस्थिर । निर्वाचन पूर्वकै गठबन्धन अर्थात् नेपाली कांग्रेस सहितको सत्ता समीकरणमा म प्रधानमन्त्रीका रुपमा त सुरक्षित थिएँ। तर मेरो छटपटी अनुसारको समन्वय भएन। सरकार असफल भएको त होइन तर मेरो अपेक्षा अनुसार गति पनि लिएन । सरकारले एक वर्ष पूरा गरेको अवसरमा जनताका नाममा गरेको सम्बोधनमा मैले स्पस्टै भनेको थिएँ ।

देशमा सकारात्मक आशा र परिवर्तन ल्याउन अझै धेरै गर्न बाँकी छ । कांग्रेसको शीर्ष नेतृत्वसँग असमझदारी भएर होइन यो कुरा पनि साथ छ। असमझदारी भएर होइन मैले पहिला पनि संसदमा त्यो कुरा राखिसकेको छु। वास्तवमा तेज गतिमा सरकार चलाएर लोकतन्त्रप्रति जनताको भरोसा बढाउने हुटहुटी र अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै मलाई एमालेसहितको गठबन्धनमा लगेको हो। यसमा हाम्रो एमालेको अध्यक्षको कला क्षमता तारिफ गर्न लायक छ धेरै नै तारिफ गर्न लायक छ । उहाँको हैसियतका यहाँ अरु कोही पनि छैनन्। मलाई राम्रोसँग फकाउनु भयो, वामपन्थी पो मिल्नपर्छ कांग्रेससँग के कुरा भन्नु भयो । धेरै धेरै धेरै धेरै फकाउनु भयो ।

अब म मान्छे, यस्तै प्रचण्ड यस्तै छ, तपाईंहरूले चिन्नुभएको छ, म त अलिअलि सेन्टिमेन्टल भावुक । मिठो गरी भनेपछि होला त नि भनेर विश्वास गरेँ । वामपन्थी न परेँ। कम्युनिस्ट एकता गरौँ, नत्र पश्चिम बङ्गाल जस्तो भइन्छ अर्को चुनावमा त हामी भनेपछि हो भन्ने लाग्यो मलाई । मैले सरकारको गियर परिवर्तनका लागि यो ठिकै बाटो हो भन्ने ठाने नयाँ उदाएका शक्तिहरू पनि सरकारमा आएपछि सकारात्मक वातावरण बन्छ भन्ने विश्वास लिएँ । त्यो केही सकारात्मक वातावरण बन्यो पनि । जनतामा आशा पनि केही जाग्यो तर जसलाई मैले तर जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ । राष्ट्रको बृहत्तर हित र समाजवादको आधार यताबाट मात्रै हुन्छ भनेर विश्वास गरेँ । त्यो षड्यन्त्र रहेछ भन्ने थाहा पाउन म ढिलो भएँ।

केही मान्छेहरू कहिले पनि कुण्ठा र प्रतिशोधबाट निस्कन सक्दैनन् भनेर मैले हिसाबै गर्न सकिनँ। समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरेँ । म लामा लामा मिठा भरोसाका सम्बोधनबाट लठ्याइएँ ।

स्वर्ग र नर्क सँगै जाने यो स्वर्ग र नर्कसँगै जाने कुरा १६ गतेको हो। सरी है सरी १७ को हो । स्वर्ग र नर्क सँगै जाने, मिलेर ०८४ को चुनाव वामपन्थीहरू नै मिलेर लड्ने, त्यसपछि पार्टी पनि एउटै बनाउने ढुक्क हुनुहोस् भनेपछि त म त मख्ख परेँ । तर जालझेल रहेछ भन्ने बुझिनँ, म त …टो रहेछु ।