राजनीति

‘देशलाई शल्यक्रिया आवश्यक थियो, प्रचण्डले प्राथमिक उपचार मात्रै गरे’

By खबरहब

July 12, 2024

काठमाडौं- जनमत पार्टीका नेता एवम् पूर्वमन्त्री अब्दुल खानले देशलाई शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्राथमिक उपचार मात्रै गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले देशको आवश्यकता हेरेर आफूहरूले अहिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताए ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले चार महिनाअघि नै दुई ठूला दल मिलेर देशलाई निकास दिनुस् भनी आग्रह गरेको स्मरण गराउँदै अहिले त्यो समय आएको बताए ।

‘प्रचण्ड सरकारले केही नगरेको होइन । प्राथमिक उपचार अवश्य गरको हो । तर, चाहिएको शल्यक्रिया थियो’, उनले भने, ‘देशको आवश्यकता शल्यक्रिया गर्न सक्ने डा. हुनुपर्छ । हाम्रो पार्टी अध्यक्षले चार महिनापहिला यही रोस्टमबाट भन्नुभएको थियो–ठूला दल मिल्नुस् । आज त्यही समय आएको छ ।’