मनोरञ्जन

सुमन कोइराला ‘दले दाइ’ : नरम शैलीमा पेचिलो व्यङ्ग्य

By संगम ढकाल

July 12, 2024

काठमाडौं– सुमन कोइराला ‘कमेडी च्याम्पियन’बाट उदाएका हास्य कलाकार हुन् । त्यहाँ निर्वाह गरेको पात्र ‘दले दाइ’ बाट कोइराला निकै चर्चित भए । त्यही पात्रबाट उनी लोकप्रिय कलाकार बने ।

यो पात्र निर्माणमा सुमनले ‘शालीन शैलीमा गहन तर्क राख्न सकिन्छ’ भनी शिक्षकले दिएका सल्लाह प्रयोग गरेका छन् । हुन पनि दाले दाइ बनेर उनले शालीन शैलीमा पेचिलो ह्युमर फ्याँक्छन् ।

‘दले दाइ’ले उनलाई नाम, इज्जत र धेर–थोर दाम दियो । ‘त्यस बाहेक के दियो ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘विनम्रता दियो, शान्त शैलीमा आफ्ना कुरा राख्न सिकायो, इमानदारको छवि दियो ।’

दले दाइ बनेपछि उनको कलाकारिता यात्रा सहज नभए पनि गाह्रो परेको छैन । ‘फेस भ्यालु’ बनेको छ ।

स्थापित हास्य कलाकार बन्न सुमनले अनेक भोगे ।

कलाकार बन्न काठमाडौं पहिलोपटक काठमाडौं आउँदा गोलभेँडा फर्ममा काम गरी गाउँ फर्किए । त्यसपछि पूर्वको स्थानीय टेलिभिजनबाटै राष्ट्रिय कलाकार बन्न आफूलाई निखारे ।

काम पाउने आशले आफूले आइडल ठानेका कलाकारलाई ‘म सँग यस्तो प्रतिभा छ’ भन्दै म्यासेज पठाए ।

काठमाडौंमा कला क्षेत्रमा संघर्ष थाल्दा संवाद नै नबोली सिरियलको छायाङ्कन सकेर फर्किएको अनुभव पनि उनीसँग छ ।

गाउँ नै रमाइलो भोजपुरको दावाँ मोहरीमा जन्मिएका सुमनको सुरुवाती बाल्यकाल त्यहीँ बित्यो । उनी जेठो छोरा तथा माइलो सन्तान हुन् । परिवार कृषिमा आश्रित थियो ।

उनी १० वर्षको हुँदा परिवार बसाइँ सरेर इटहरी झर्‍यो । त्यसअघि उनले भोजपुरमै ६ कक्षासम्म पढे । भन्छन्, ‘पाँच कक्षासम्म घर छेउमै स्कुल थियो, ६ कक्षा पढ्न चाहिँ २० मिनेट उकालो चढ्नुपर्थ्यो ।’

भोजपुर बजारको शनिबारे हाट घुम्न जान आमा–हजुरआमासँग रोइकराइ गरेको भने उनले बिर्सिएका छैनन् । दुई घण्टाको पैदल दूरीमा ज्यान अनुसारको कोदोको भारी बोक्नुपर्ने भए पनि उनलाई हाट जान खुबै मनपर्थ्यो रे !

‘कृषि गर्ने भएकाले हाटमा अन्नपात बेच्न लगिन्थ्यो । त्यही पैसाले बजारे सामानहरू घर लिएर आइन्थ्यो,’ उनी स्मरण गर्छन्, ‘बाटोमा गाउँमा धेरै मान्छे भेटिँदा रमाइलो लाग्थ्यो । बजारबाट फर्कँदा फिल्मका पोस्टर किनेर ल्याइन्थ्यो । त्यसको छुट्टै मज्जा थियो ।’

गाउँमा मोटरबाटो र बिजुली पुगेको थिएन । सबै साथीको जीवनशैली उस्तै भएकाले कुनै गुनासो थिएन । टुकी र गोबर ग्यासको बत्तीमुनि बसेर पढेको उनी सम्झन्छन् ।

उनी भन्छन्, ‘पढाइमा उत्कृष्ट पाँचभित्रै पर्थें । हाजिरीजवाफ प्रतियोगिता चाहिँ आफैंले जितिरहन्थेँ ।’

सोलार पुगेपछि गाउँमा टीभी छिर्‍यो । राजा वीरेन्द्रको शव यात्रा हेर्दै गर्दा टेलिभिजनको चस्का पस्यो ।

‘अरू राजाको हत्या भएकाले रुँदै थिए । विज्ञापन आउँदा फास्ट फर्वाडमा बन्जी गरेको दृश्य देखायो, कति छिटो लुगा फेरेको भनेर छक्क परेँ,’ उनी भन्छन्, ‘त्यही बेला मलाई टीभीमा देखिनुपर्छ भन्ने लागेको हो । तर के, कसरी र किन देखिने भन्ने थाहा थिएन ।’

कक्षा ६ मा पुगेपछि ‘हास्य कलाकार’ भन्ने शब्द पहिलो पटक सुनेको प्रसङ्ग उनको मानसपटलमा घुमिरहन्छ ।

‘छिमेकमा मामाघर बसेर पढ्ने कविराज भान्दाइ हुनुहुन्थ्यो । उहाँले म हास्य कलाकार हुँ भन्नुभयो । त्यस्तो नि कलाकार हुन्छ भनेर मैले मुखै छाडेँ, उहाँलाई,’ उनी भन्छन्, ‘पछि दिदीलाई सोधेको; उहाँ स्कुलको हास्यकलाकार नै हुनुहुँदो रहेछ । मामाघर बसेको भनेर हेप्ने गरेको भान्दाइलाई अनि इज्जत गर्न थालियो ।’

उनै भान्दाइले अभिनय गरेको नाटक सुमनले पटकपटक हेरेका हुन्, जुन स्कुलको ग्राउन्डमा गरिएको थियो ।

‘म पनि त्यो नाटकमा खेल्न कविराज दाइसँग पछिपछि हिडेँ । ८ कक्षामा पुगेकाले मात्रै नाटक खेल्न पाउँछन् भने । मैले खेल्नै पाइनँ,’ सुमनले सुनाए, ‘पहिलो नाटक स्कुलमै हेर्न पाएँ । कविराज खतरै कलाकार हो भन्ने लाग्योे ।’

तराईतिर बसाइँ सुमनको परिवार ०६४ सालमा इटहरी बसाइँ सर्नुको मुख्य उद्देश्य थियो– सेवासुविधा उपभोग गर्ने । तर आर्थिक हैसियत कमजोर भएकाले उपयोग गर्ने अवसर जुरेन ।

गाउँमा खेतीकिसानी गरे पनि मजदूरी नगरेका सुमनका बुवा उद्योगमा ज्यालादारीमा काम गर्न लागे । भन्छन्, ‘तराईमा पनि खेती त थियो, तर त्यहाँको जीवनयापन धान्न मजदूरी गर्नैपर्ने अवस्था आयो ।’

पहाडमा छिमेकी शहरकै जस्तो घर थियो । तराईमा टिनको घरमा बास भयो । स्कुल जान गाउँमा भन्दा तराईमा कठिन भएको उनलाई महसुस हुन्छ ।

भन्छन्, ‘साथीहरू साइकलमा जान्थे । तराईको घाममा तीन किलोमिटर हिँड्नुपर्थ्यो । तराई झरेपछि घरमा पानी चुहिने अवस्थासम्म देखियो ।’

यी आर्थिक पाटोले उनको मनोविज्ञानमा खासै प्रभाव पारेको थिएन । भर्खरै शान्ति सम्झौता भएको, गुण्डागर्दी उत्कर्षमा थियो । ज्यानै जाने गरी झगडा गर्छन् भन्ने कुरा पनि तराई झरेर थाहा पाएको उनी बताउँछन् ।

‘छिमेकीमा युवाहरू छोराहरू चन्दा उठाउँदै हिँड्छन् भन्ने हल्ला धेरै सुनिन्थ्यो । धरान, तरहारदेखि बाइकमा केटाहरू आएर झगडा गर्थे,’ उनी भन्छन्, ‘गाउँमा हुँदा हामी पनि सानातिना झगडा त गर्थ्यौं, तर मानिसलाई अङ्गभङ्ग बनाउने या ज्यान नै लिने कुरा त सोच्न पनि सकिँदैनथ्यो ।’

समाजका यस्ता नराम्रा क्रियाकलाप र छिमेकीसँगको कमजोर आत्मीयताले सुरुवाती तराई बसाइ सुखद नरहेको उनलाई महसुस हुन्छ । भन्छन्, ‘मैले भोगेको वातावरण बच्चा हुर्काउनका लागि राम्रो होइन ।’

असल गुरुको साथ तराई झरेपछि पनि सुमनको लगाव स्कुलमा हुने अतिरिक्त क्रियाकलापमै रहिरह्यो । हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिताहरूमा भाग लिइरहे । पढाइतर्फ भने पहिलो डिभिजनमा एसएलसी पास गर्ने लक्ष्य पूरा भएन, सकेन्ड डिभिजन ल्याए ।

प्लस टू पढ्दा कमलेश सरसँग भेट भयो । त्यसबेला उनलाई कमलेश सरले भनेका थिए रे– ‘वक्तृत्वकलामा च्याँठिएर बोल्नेलाई राम्रो मान्ने चलन छ, तर शालीन ढंगले गहन तर्क राख्दा उचित हुन्छ ।’

सरको सल्लाह प्रयोग गर्दा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत जितेको उनी बताउँछन् । ‘कलाकार बन्ने अभिलाषा छँदैथियो, अतिरिक्त क्रियाकलापमा पनि भाग लिन चाहिँ छोड्दिनँ थिएँ । राम्रो सल्लाह दिने सर पनि पाएँ ।’

प्लस टू गरेपछि उनलाई काठमाडौं पुगेपछि कलाकार बन्ने तीव्र इच्छा पलाएको थियो । ‘सानै उमेरको छ’ भनेर परिवारले राजधानी छिर्न दिएन, तर उनी घुम्न काठमाडौं आए । यतै काम खोजे । उनी राजधानी छिरेर गरेको पहिलो काम स्थान थियो– टीकाभैरवको गोलभेँडा फार्म !

एक महिना फार्ममा काम गरेपछि उनको मन मर्‍यो । भन्छन्, ‘कलाकार बन्ने इच्छा भएर शहर आएको । टीकाभैरव शहरको पनि गाउँ थियो । चितुवा लाग्थ्यो । बस्न मन लागेन, फर्किएँ ।’

त्यसबेला सीप सिकेर मात्रै काठमाडौं आउनुपर्ने रहेछ भन्ने ठूलो ज्ञान लिएर इटहरी फर्किएको सुमनले सुनाए ।

सीप सिकेर पुनः काठमाडौं वि.सं. २०७० मा काठमाडौं फर्किएपछि सुमन स्थानीय रेडियो र टेलिभिजनमा काम गर्न थाले । एक सातामा उनका आठ वटासम्म कार्यक्रम प्रसारण हुन थाल्यो । त्यस मध्यको एक कमेडी कार्यक्रम थियो, ‘गोलभेँडा शो’ ।

उनी भन्छन्, ‘म यस्तो कार्यक्रम चलाउँछ, यो ठाउँमा छु भनेर कति धेरै कलाकारलाई मेसेज गर्थेँ । माग्ने बुढाले मात्रै ठीकै छ भनेर रिप्लाइ गर्नुभयो ।’

केही समयपछि भद्रगोल टेलिसिरियलका दीपक आचार्य ‘काकु’ ले ‘राम्रो छ कार्यक्रम, म हेर्छु’ भनेर मेसेज गर्दा काम गर्न खुबै ऊर्जा मिलेको उनी सम्झन्छन् । त्यस बेलासम्म उनी मोफसलका स्टेज कार्यक्रममा धाउन लागिसकेका थिए । भन्छन्, ‘४० जनाभन्दा बढीको क्यारिकेचर गर्छु भनेर गफ हान्ने भइसकेको थिएँ ।’

स्नातक पढ्दै, टेलिभिजनको जागिर खाँदै गरे । विभिन्न क्षेत्रका मानिसँग सङ्गत पनि बढ्यो । टेलिभिजनको म्यानेजरसम्म बने । जागिरबाट कमाएको पैसा घरमा दिने भइसकेका उनलाई कलाकार बन्ने सपनाले त्यहाँ सन्तुष्टि मिलेन । काठमाडौं छिरे ।

काठमाडौं आउँदा उनको सोच थियो रे– ‘जाने हो, धुर्मुसलाई २८ वटा क्यारिकेचर सुनाउने, अनि काम पाइहालिन्छ ।’

दोस्रोपटक शहर छिर्दा वि.सं. २०७४ मा काठमाडौंमा उनले सोचेको संघर्ष र वास्तविकता फरक पर्‍यो । फिल्ममा सानै भूमिकामा भए पनि देखिने बाल्यकाल देखिको लक्ष्य वास्तविकताभन्दा धेरै टाढा थियो ।

तर, यो पटक काठमाडौं आउँदा उनले बस्ने बन्दोबस्त उतैबाट मिलाएका थिए । दैनिक पत्रिकामा काम गर्ने साथीसँग कोठा लिएर बसे ।

कलाकार बन्ने लक्ष्य पछ्याउँदै उनी भद्रगोलको सुटिङस्थलमा ‘काकु’ लाई भेट्न पुगे । त्यहाँ उनले संघर्षरत कलाकार भरतमणि पौडेललाई भेटे । भन्छन्, ‘भरत दाइलाई भेटेपछि क्यारिकेचर गरेर कलाकार बन्ने सकिन्नरहेछ भन्ने भयो । उहाँ क्यारिकेचरमा म भन्दा तगडा हुनुहुन्थ्यो ।’

त्यहीँबाट उनको भरतमणिसँग मित्रता भएको हो । भन्छन्, ‘पछि त राम्रै दोस्ती जम्यो । भेटघाट बाक्लियो ।’

काठमाडौंमा जागिर काठमाडौं आएपछि लक्ष्यअनुसार कलाकार बन्ने यात्रा सहज नभएपछि सुमनले अनलाइन पत्रिकामा जागिर थाले । जागिरको पहिलो दिन अविस्मरणीय रह्यो ।

‘बाइक चलाउन आउँछ भनेर जागिरमा लागेको थिएँ । पहिलो दिन नै बाइक चलाउने काम आयो,’ उनी भन्छन्, ‘नायक विपीन कार्कीको अन्तर्वार्ता लिन गएको, मैतीदेवीको एकतर्फी सडकमा ट्राफिक प्रहरीले समाते ।’

अनलाइनमा काम गर्दा ०७५ ताका भाइरल भएका सबै व्यक्तिको अन्तर्वार्ता उनले लिएका छन् । भन्छन्, ‘ज्ञानेन्द्र शाही, मुकुन्देदेखि मदन राईसम्मको अन्तर्वार्ता लिएँ ।’

अनलाइनमा वृतिविकास राम्रै भइरहेको थियो । सँगै कलाकारितामा संघर्ष पनि जारी थियो । ‘उल्टो सुल्टो’ सिरियलमा पनि जोडिए । त्यस सिरियलमा सिपाहीको रोल गर्दा संवाद नै नबोली छायाङ्कनबाट फर्किएको अनुभव पनि उनीसँग छ । भन्छन्, ‘कहिले संवाद हुन्थ्यो, कहिले हुँदैन थियो ।’

यता जागिर राम्रै भइरहेको थियो । व्यवस्थापनकै पाटोको जिम्मेवारी पनि उनमा आएको थियो । भन्छन्, ‘तलब राम्रो थियो, काम पनि थपिँदै थियो ।’

सोही बेला ‘कमेडी च्याम्पियन’ पहिलो सिजन आउने भयो । जागिरबाट राम्रै आम्दानी भएकाले उनी प्रतिपर्धामा जाने सोचमा थिएनन् । भरतमणिकै जोडले डिजिटल अडिसनका लागि भिडियो पठाएको उनी बताउँछन् ।

‘अडिसनका लागि भिडियो पठाउने अन्तिम घडी ३ बजे रहेछ, मैले ४ बजे पठाएँ,’ उनी भन्छन्, ‘भरतमणिले पठाऊ है ! मैले पनि पठाइसकेँ भनेपछि अफिसमै भिडियो खिचेर पठाएँ ।’

त्यसबेला उनलाई प्रतिस्पर्धामा जान भरतमणिले जोड दिएकै थिए । उनलाई पनि प्रतिस्पर्धामा गएर कला परीक्षण गर्नुपर्ने सोच आयो । भन्छन्, ‘आफ्नो परीक्षा गर्ने स्थान कमेडी च्याम्पियन नै हो भन्ने पनि लागेको थियो । मेरो लक्ष्य त पत्रकार बन्ने होइन भन्ने पनि लाग्यो ।’

उनका अनुसार भरतमणिले पहिलो सिजन पार गरेनन् । केही समयपछि सुमनलाई भने ‘टप १००’ मा छनोट भएको फोन आयो ।

त्यसपछि बने ‘दले दाइ’ फिजिकल अडिसनमा जाँदा ‘टप २४’ मा छनोट भए । जुन उनले आश नै गरेका थिएनन् । भन्छन्, ‘जज ऋचा शर्माले हाँसेर बेस्ट अफ लक भन्नुभयो । म त लाइफका लागि होला भनेर बाहिरिए । पछि त २४ जनामा छानिएँ ।’

तर, उनी निर्वाध रूपमा ‘टप १०’ पुगे । त्यसपछि मेन्टरका रूपमा विशाल गौतम, विनायक कुइँकेल र शान बस्नेतलाई पाएपछि आफूलाई थप निर्खाने मौका पाएको उनको बुझाइ छ ।

‘मेन्टरहरूले कमेडीको फम्र्याट बुझाए । कमेडीलाई सैद्धान्तिक रूपमा बुझ्न पाएँ,’ उनी भन्छन् ।

तर कम भोटिङ पाएपछि ‘टप १०’ बाट उनी बाहिरिए । बाहिरिएपछि गर्नुपर्ने दुई प्रस्तुतिले उनलाई पुनः फाइनलसम्मको यात्रामा पुर्‍यायो ।

‘रोस्ट राउन्ड पनि राम्रो भयो, अर्को प्रस्तुतीमा म दले दाइ बनेँ, त्यो धेरै दर्शकले मन पराउनु भयो । वाइल्डकार्ड प्रवेश पाएँ र फाइनलसम्म पुगेँ,’ उनी भन्छन् ।

प्रतिस्पर्धाको विजेता नबने पनि उनले ‘दले दाइ’को परिचय पाए । कमेडियन भनेर सोही पात्रले चिनायो । अहिले उनको उपनाम नै ‘दले दाइ’ बनेको छ । उनी दर्शकको प्रिय ‘दले दाइ’ बनेका छन् । यही नामबाट उनी कलाकारिताको एउटा उचाइमा पुगिसकेका छन् ।

भन्छन्, ‘मैले कमेडी च्याम्पियन जितिनँ । हारेको केही थिइनँ, त्यही भएर निक्लिँदा जितेरै निस्किएँ ।’

हराएका हुन् सुमन ? सुमनले कमेडी च्याम्पियनपछि ‘कफी र कोइराला’ शो ल्याए । त्यो शोले दर्शकबाट अपेक्षित साथ पाएन ।

त्यसयता उनी स्टेजमा देखिए पनि नियमित कार्यक्रममा देखिएका छैनन् । उनी हराएजस्तै देखिन्छन् ।

तर उनी कमेडीबाटै बाहिरिएका भने होइनन् । उनी लेखनको कार्यक्रममा व्यस्त छन् । उनी कमेडी विथ च्याम्पियनको लेखक मध्येका हुन् ।

भन्छन्, ‘लेखकको कमी छ नेपालमा । म त्यसतर्फ अग्रसर छु । आफू नदेखिएर साथीहरूका लागि लेख्न पाएको छु, जो कुनै बेला मेरा प्रतिस्पर्धी हुनुहुन्थ्यो ।’

अहिले उनी आफ्नै प्रोजेक्ट ‘मकुमेन्ट्री’ निर्माणमा पनि व्यस्त छन् । मकुमेन्ट्रीबारे भन्छन्, ‘डकुमेन्ट्रीलाई जिस्काएर मकुमेन्ट्री बनाएका हौं, जुन १६ भागको बन्छ ।’

मकुमेन्ट्रीका केही भाग छायाङ्कन भइसकेको उनले जानकारी दिए । जुन छिट्टै प्रसारण गर्ने तयारीमा उनको टिम लागिपरेको छ ।

सुमनले फिल्ममा समेत अभिनय गरेका छन् । ‘मेयर’ फिल्मका उनले आफ्नो अंशको छायाङ्कन गरिसकेका छन् । भन्छन्, ‘सानैदेखि फिल्ममा देखिने इच्छा थियो, त्यो रहर पूरा भयो । सानो भूमिका भए पनि महत्वपूर्ण छ ।’

‘दले दाइ’ बनेपछि उनलाई सन्तुष्टि मिलेको अर्को घटना हो– अमेरिका भ्रमण । आम नेपालीको सपनाको देश अमेरिकामा कलाकार बनेर जाँदा कलाकारिता यात्राले सार्थकता पाएको उनी बताउँछन् ।

‘दले दाइ’ बनेर प्रस्तुति दिएपछि अमेरिकाको विभिन्न शहरका दर्शकले ‘स्ट्यान्डिङ अभेसन’ पाएको क्षण उनी शब्दमा व्यक्त गर्न सक्दैनन् ।

‘आम नेपालीको सपनाको देशमा जानु नै ठूलो कुरा हो । त्यहाँ प्रायः सबै स्थानमा मैले स्ट्यान्डिङ अभेसन पाएँ,’ उनी भन्छन्, ‘यो भ्रमणले मेरो कलाकारिताको यात्राले सार्थकता पाएजस्तो लागेको छ ।’

भोजपुरबाट इटहरी हुँदै काठमाडौं आई कलाकार बनेर दर्शकबाट पाएको माया र साथले सुमनलाई निराश हुन दिएको छैन । असन्तुष्टि हुनुपर्ने कारण थोरै छन् ।

भन्छन्, ‘त्यो स्थानबाट उठेर म जुनस्थानमा पुगेको छु– सन्तुष्ट छु । त्यो परिवेशको मान्छेको पेशा नै हँसाउने हुनु नै ठूलो कुरा हो ।’