राजनीति

सरकार ढलेसँगै संसद्‍बाट बाहिरिए प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)

By खबरहब

July 12, 2024

काठमाडौं-  तेस्रो पटक १८ महिने सत्ता यात्रा टुंगिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् भवनबाट बाहिरिएका छन् ।

उनीसँगै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ पनि सरकारी गाडीमै झण्डा फहराएर संसद् भवनबाट बाहिरिए ।

नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते नयाँ समीकरणमा सहमति बनेसँगै उनले संविधानको धारा १०० को उपधारा-२ अनुसार विश्वासको मत लिने निर्णय गरेका थिए ।

प्रधानमन्त्री बनेको १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्ड संसद्मा आफ्नो पक्षमा बहुमत जुटाउन असफल भए ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित सांसद २५८ जना थिए । प्रचण्डले मागेको विश्वासको मतको पक्षमा ६३ मत र हुन्न भन्ने पक्षमा १९४ मत परेको सभामुख देवराज घिमिरेले बताए । उनले मत दिन्न भन्ने पक्षमा १ मत परेको बताए।

प्रधानमन्त्रीको विपक्षमा कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जसपा, जसपा-नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टीसहित उभिए ।