ब्रेकिङ स्टोरी

संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान

By खबरहब

July 12, 2024

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलहरूलाई आह्वान गरेका छन् ।

शुक्रबार राति एक वक्तव्य निकाल्दै राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएर सरकार गठनको आह्वान गरेका हुन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

यसअघि नेपाली कांग्रेस र नेकपा एमालेले उपधारा २ अनुसार नै सरकार बन्ने बताएका थिए । त्यसअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधामनमन्त्री हुनेछन् ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केपी शर्मा ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको बताएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएपछि नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलहरू शीतल निवास जाँदैछन् ।