ब्रेकिङ स्टोरी

सहकारीको बचत हिनामिना- संसदीय समितिले लियो पूर्वराजाका ज्वाइँसँग बयान

By खबरहब

August 12, 2024

काठमाडौं- देशभरका विभिन्न २९ वटा सहकारी संस्थाको बचत हिनामिना र दुरुपयोगबारे छानबनिका लागि गठित संसदीय छानबिन विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालक राजबहादुर सिंहसँग बयान लिएको छ ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा सभापतित्वको समितिले सहकारी संस्थाको बचत दुरुपयोगबारेमा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँसमेत रहेका सिंहसँग सिंहदरबारमा बयान लिएको हो ।

समस्याग्रस्त सहकारीका सञ्चालकहरूसँगको बयानको क्रममा समितिले सुमेरु बचत तथा ऋण सहकारीका सेयर सदस्य सिंहलाई बयानमा बोलाएको थयो। उनी केही समयअघि मात्रै उक्त सहकारी संस्थामा लगानीकर्ता (सेयर सदस्य) का रुपमा आवद्ध भएका हुन् ।

समितिलाई जवाफ दिने क्रममा शाहले निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था सुरु गरी विश्वासको वातावरण बनाउन लागेको बताएका छन् । उनले सहकारी संस्थालाई पुनःसञ्चालन गर्ने योजनासहित नयाँ सञ्चालक समूह भित्रिएको पनि जानकारी दिएका छन् ।

समितिका सभापति सांसद सूर्यबहादुर थापाले सहकारी संस्थाको बचत हिनामिना छानबिनका क्रममा सिंहको पनि नाम जोडिएकाले सोधपुछ गरिएको खबरहबलाई बताएका छन् ।

समिति सदस्यहरूले आइतबार मात्रै त्यही संस्थाका पूर्वअध्यक्ष हेमराज दाहाल, वर्तमान अध्यक्ष कृष्णप्रसाद कँडेल र सञ्चालक वीदेन्द्र महर्जनसँग पनि बयान लिएका थिए ।

बयानका लागि सिंहदबरार पुगेका दाहाल, कँडेल, महर्जनसहितले संस्थापक अध्यक्ष भरत महर्जन बचतकर्ताको रकम हिनामिना गरेर बेलायततिर भागेकाले समस्या देखिएको बताएका थिए ।

यो सहकारीका सञ्चालक रहेका भरत महर्जन, उनकी श्रीमती राजमाया महर्जन, छोरा सचिन महर्जन र छोरी सरला महर्जन हाल भागेर बेलायतमा लुकेका समितिले जनाएको छ ।

ललितपुरको पुल्चोकमा कार्यालय रहेको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका संस्थापक महर्जनसहितले १० अर्ब बढी बचत हिनामिना गरेको आरोप छ। २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी थालेका थिए ।

महर्जनले सहकारीमा सर्वसाधारणले बचत गरेको १० अर्बभन्दा बढी रकम अपचलन गरेर निजी कम्पनीहरू खडा गरेको खुलेको थियो । सहकारीको रकम हिनामिना गरेर उनी अहिले स-परिवार बेलायतमा लुकेका छन् ।

सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गत जेठ १५ गते नेकपा एमालेका सांसद थापाको सभापतित्वमा गठित संसदीय समितिले गत शुक्रबारदेखि बयान लिन थालेको थियो ।

सुरुमा शुक्रबार गौतम श्री बहुउद्देश्य सहकारी संस्था लिमिटेड, लालीगुराँस बहुउद्देश्य सहकारी संस्था लिमिटेड र गोरखा बचत सहकारी संस्थासँग जोडिएका विभिन्न व्यक्तिहरूको बयान लिइएको थियो ।

एमाले सांसद थापाको सभापतित्वमा बनेको ७ सदस्यीय छानबिन समितिले अन्य छानबिन प्रक्रिया सकिसकेपछि सञ्चालहरूलाई बयान लिइरहेको छ ।

तीन महिनाको समय पाएको समितिले प्रमाणहरू जुटाउने र अन्य निकायबाट प्रमाण लिने काम सकेको छ । समयसीमा भदौ १५ सम्ममात्र रहेकाले समितिले काम तीव्र गतिमा अघि बढाइरहेको समिति सभापति थापा क्षेत्रीले बताएका छन्‌ ।

समितिले तेस्रो महिनामा सहकारी रकम अपचलनमा जोडिएका र सहकारीको रकम ठगेका सञ्चालक समितिका पदाधिकारी तथा विभिन्न सहकारीको रकम लिएर भागेका व्यक्तिहरूसँग बयानका लागि प्रश्नहरू तयार पारेको थियो।

समितिको ३१औँ बैठकसम्म आइपुग्दा विभिन्न प्रमाण र तथ्यका आधारमा फेला परेका आरोपितहरूसँग बयान लिइरहेको हो । समितिले जेलमा भएका व्यक्तिहरूसँग पनि बयान लिएको छ। काठमाडौं र कास्कीसहितका जेलमा सहकारी ठगीमा संलग्नहरू सजाय काटिरहेका छन् ।

सभापति थापाले २९ वटा सहकारीमध्ये क्रमैसँग आरोपितहरूको बयान लिइने बताए । यस प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि समितिले बयान लिने छ । उनी पोखरा र बुटवलका सहकारीबाट भएको अर्बौँ रुपैयाँ हिनामिना प्रकरणमा जोडिएका छन् ।

छानबिन समितिले यसअघि नै सहकारी ठगीमा संलग्न भएर विदेश भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलव्ध गराएको थियो । उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति सभापति थापाले जानकारी दिए ।

अहिले सहकारीको अर्बौँ बचत ठगेर भागेकामध्ये सबैभन्दा चर्चित ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई हुन् । उनी मलेसियामा लुकेर बसेको अनुमान छ । उनीसहित १८ जनालाई पनि नेपाल ल्याउनुपर्ने गरी सरकारी निकायलाई समितिले निर्देशन दिइसकेको छ ।

यी हुन् छानबिनमा तानिएका सहकारी

अनुसूची १ मा राखिएका समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारी संस्था :

१ ओरेन्टल को–अपरेटिभ लिमिटेड २ स्ट्याण्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ३ प्यासिफिक सेभिङ एन्ड इन्भेष्टमेन्ट को–अपरेटिभ ४ प्रभु बचत तथा ऋण सहकारी संस्था ५ कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ६ कन्जुमर बचत तथा ऋण सहकारी संस्था ७ कुवेर बचत तथा ऋण सहकारी संस्था ८ चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ९ भेगास बचत तथा ऋण सहकारी संस्था १० स्ट्याण्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड ११ सोसाइटल बचत तथा ऋण सहकारी संस्था १२ लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था १३ पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड १४ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड १५ तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड १६ हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड १७ कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था १८ कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड १९ लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था २० गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

अनुसूची २ मा राखिएका राखिएका समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारी संस्था :

१. आइडियल यमुना बहुउद्देश्यी संस्था २. इमेज बचत तथा ऋण सहकारी संस्था लि ३. सहारा बचत तथा ऋण सहकारी, ४. समानता वचत तथा ऋण सहकारी ५. सानो पाइला वचत तथा ऋण सहकारी ६. सुप्रिम बचत तथा ऋण सहकारी, ७. सूर्यदर्शन बचत तथा ऋण सहकारी, ८. सुमेरू बचत तथा ऋण सहकारी ९. स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी