अन्तर्राष्ट्रिय

बलोचिस्तानमा पृथकतावादी समूहको आक्रमण बढ्यो

By खबरहब

August 12, 2024

काठमाडौं – पछिल्लो समय पाकिस्तानको बलोचिस्तान प्रान्तमा पृथकतावादी समूहको आक्रमण बढ्दै गएको छ ।

बलोचिस्तानमा सक्रिय पृथकतावादी समूहहरु बलोचिस्तान लिबरेसन आर्मी (बीएलए) र बलोचिस्तान लिबरेसन फ्रन्ट (बीएलएफ)ले पाकिस्तानी सेनाविरुद्ध भएका आक्रमणको जिम्मेवारी लिएका हुन् ।

ती समूहले प्रान्तको माश्के, जमुरन र कोल्वाह क्षेत्रमा भएका आक्रमणको जिम्मेवारी लिएको बलोचिस्तान पोस्टले जनाएको छ । बीएलएका प्रवक्ता जियन्द बलोचले विज्ञप्ति जारी गर्दै आफ्ना लडाकुले पाकिस्तानी सैन्य एकाई र निर्माण कम्पनीलाई लक्षित गरी दुई छुट्टाछुट्टै आक्रमण गरेको बताएका हुन् ।

विज्ञप्तिमा बीएलएका लडाकुले माश्केको नोक्जो क्षेत्रमा रहेको सैन्य शिविरमा ग्रिनेड र स्वचालित हतियारले आक्रमण गरेको जनाइएको छ । उक्त आक्रमणमा पाकिस्तानी सेनाका एक जना सैनिकको ज्यान गएको उल्लेख बीएलएको दाबी छ । त्यसैगरी, जमुरन क्षेत्रमा आफ्ना लडाकुले सेनासँग सम्बद्ध एउटा निर्माण कम्पनीको सवारीमा आगजनी गरेको पनि बीएलएले जनाएको छ ।

बेग्लै विज्ञप्ति जारी गर्दै बीएलएफले कोल्वाह क्षेत्रमा रहेको सैन्य शिविरलाई लक्षित गरी आफ्ना लडाकुले आक्रमण गरेको जनाएको छ ।

बीएलएफका प्रवक्त मेजर ग्वरहाम बलोचले आफ्ना लडाकुले उक्त शिविरमा भारी हतियारको प्रयोग गरी आक्रमण गरेको र घटनामा एक जना सैनिकको मृत्यु हुनुका साथै तीन जना गम्भीर घाइते भएको जनाएका छन् ।

दुबै समूहले बलोचिस्तानबाट पाकिस्तानी सेना फिर्ता नभएसम्म आक्रमण जारी राख्ने चेतावनीसमेत दिएका छन् ।