देश/प्रदेश

दशैँ : व्याख्या, बखान र महत्त्व

By खबरहब

October 12, 2024

सांस्कृतिक धरोहरका रुपमा रहेको नेपालमा कयौं यस्ता सांस्कृतिक गरिमामय परम्परा छन, जसको आफ्नै महत्व र आफ्नै विशेषता रहेको पाइन्छ। वास्तवमा यही सांस्कृतिक विशेषताले गर्दा नै नेपालको नाम विश्व सामु परिचित रहेको छ। हाम्रा यस्ता सांस्कृतिक संवाहकमा हामीले मनाउँदै आएका चाडपर्वहरु नै पर्दछन्, जुन चाडपर्वहरुमा हाम्रो अटुट आस्था र विश्वास रहेको पाइन्छ।

यस्ता विभिन्न चाडपर्वहरु ऐतिहासिक धार्मिक, पारम्परिक तथा नैतिक शिक्षाको दृष्टिले पनि त्यतिकै महत्त्वपूर्ण छन्। आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म धुमधामले मनाउने यो दशैं पर्व सांस्कृतिक दृष्टिकोणले समन्वयताको प्रतीकका रुपमा रहेको छ। देवी महात्म्य तथा सप्तसती (चण्डी)को कथाअनुसार शुम्भ र निशुम्भ नामका राक्षसको अराजकताबाट त्राण पाउन देवताहरुले माता दुर्गा भवानीको आराधना गरे। सोही अनुसार देवी अष्टमीका दिन राति दुर्गाकालीका रुपमा प्रकट भएर दशमीका दिन शुम्भ, निशुम्भको बध गरिन्।

देवीको विजयोत्सवमा टीका लगाउने परम्परा कायम रहेको हुनाले यस चाडलाई विजया दशमी नामाकरण गरिएको मान्न सकिन्छ। शक्तिदेवीप्रतिको आस्था र विश्वासको प्राचीनता कोट्याउँदै जाँदा मानव सभ्यताको विकास प्रारम्भ भएसँगै पुग्न सकिन्छ। पछि आएर यसप्रकारको विश्वासले अझै व्यापक स्थान लिन पुग्यो। नारीलाई सम्पूर्ण शक्तिको अधिष्ठात्रीको रुपमा व्याख्या गर्न थालियो। रामायणमा रामले ९ दिनसम्म देवीको पूजा र आराधनापश्चात नै रावणमाथि विजय प्राप्त गर्ने शक्ति प्राप्त गरेका थिए।

दुर्गासप्तसतीको जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते भन्ने मंगलाचरणको श्लोकले देवीलाई सम्पूर्ण सृष्टि प्रपञ्च धारिणी मानिएको पनि यस सन्दर्भमा महत्वपूर्ण छ।

शक्तिदेवीका ८ स्वरुपहरुमा इन्द्रायणी, वैष्णवी, माहेश्वरी, कौमारी, चामुण्डा, ब्राह्मी, बाराही र महालक्ष्मी पर्दछन्। जसलाई अष्टमात्रिका भनिन्छ। यिनीहरुलाई दुर्गाकै अंगको रुपमा स्वीकार गरिए पनि महिषासुर मर्दिनी दुर्गा समेत गरी नवदुर्गा नामले पूजा गर्ने परम्परा रहेको छ।

चण्डमुण्ड नामक राक्षसको बध गरेको हुनाले चामुण्डा तथा राक्षसलाई मार्दा यिनले आफ्नो शरीरबाट कालीलाई उत्पति गरेकाले काली पनि भन्ने गरिन्छ। यसप्रकार देवीको अनुपम शक्तिलाई प्राप्त गर्न तथा दानवीय शक्तिलाई परास्त गर्न दशैंको महत्व रहेको छ। देवी भागवत तथा सप्तसती ग्रन्थहरुमा देवीको महत्वको प्रशंसा एवं दानवीय शक्तिको पराजयको कथा व्यापक रुपमा उल्लेख गरेको पाइन्छ।

दशैंको ऐतिहासिकता दशैं शब्द दशैंको दशमी शब्दबाट आएको हो। दशमी तिथिको सर्वाधिक महत्त्व रहेको हुनाले। यस चाडलाई दशमी अथवा दशैं भनिन्छ। यो चाड लिच्छवीकाल पूर्वदेखि नै कुनै न कुनै माध्यमको रुपमा मनाउँदै आएको आएको इसाको प्रारम्भिक शताब्दीताका बनेका मात्रिकाका मूर्तिहरुबाट अनुभव गर्न सकिन्छ। अझ रामायणकालका श्रीरामले देवीकै आर्शिर्वाद प्राप्त गरी रावणलाई परास्त गर्न सफल भएको घट्नाले त्यसबेलादेखि नै यसको महत्त्व रहेको देखिन्छ। पाटन च्यासल टोलको लिच्छवीकालीन अभिलेखमा नारायण देवकूल दशमी गोष्ठीको उल्लेख भएको छ। नारायण मन्दिरमा आयोजना गरिने पूजासँग सम्बन्धित यो गोष्ठीले दशैं पूजालाई संकेत गरेको छ। यसबाट लिच्छवी समाजमा दशैंको महत्त्व रहेको देखिन्छ।

मल्लराजाहरुको पालामा यो चाड घटस्थापना, फूलपाती र अष्टमीलाई खड्गसिद्धिको रुपमा मनाएको पाइन्छ। जयस्थिति मल्ल र उनका भारदारहरुले आश्विन शुक्ल अष्टमीका दिन खड्ग स्वेएका (खड्ग स्थापना) गरेको गोपाल वंशावलीमा उल्लेख छ। त्यसबेला अष्टमीमा देवीको समीपमा खड्ग स्थापना गरी पर्सिपल्ट दशमीको दिन धार्मिक परम्पराअनुसार खड्गको सञ्चालनको काम हुन्थ्यो। त्यसबेला यसलाई पर्यात, खड्ग जात्रा वा खड्ग चालन भन्ने पनि गरिन्थ्यो। एकातिर खड्ग स्थापनाको परम्परा त्यसबेला पाइन्छ भने अर्कोतिर भूपतेन्द्र मल्लका मन्त्री नवमी सिंहले चण्डीभक्त विनोदिनी नामक ग्रन्थको रचना गरेको उल्लेख छ। सातसय श्लोकको चण्डी पुस्तकलाई सप्तसती चण्डी पनि भनिएको छ। सप्तसतीको यो पुस्तक दशैंमा सबैको घर घरमा पाठ गर्ने महत्वपूर्ण धार्मिक ग्रन्थ पनि भयो।

उपत्यकाभित्रको परम्परा काठमाडौं उपत्यकाभित्र रहेका मल्लकालीन राजदरबारहरु पनि दशैंको बेलामा पूजा गर्ने महत्त्वपूर्ण केन्द्रको रुपमा रहेका छन्। त्यसबेलादेखि नै दशैंको बेला दरबारभित्र स्थापित देवीहरुको पूजा गर्ने परम्परा भएको हुनाले यो परम्परा आजपर्यन्त पनि बाँचेकै छ। हनुमान ढोका दरबारभित्र दशैं पर्व अझै विशेष धुमधामसाथ मनाइन्छ।

सर्वप्रथम घटस्थापनाको दिन मूलचोकको पूर्वमा रहेको दशैंघरमा जमरा राख्ने गरिन्छ। त्यसपछि सप्तमीको दिन नुवाकोटको धुनीबेंसीबाट फूलपाती ल्याई त्यसदिन सो फूलपाती रानीपोखरीमा राख्ने र अर्को दिन धूमधामले हनुमान ढोका भित्र्याउने कार्य गरिन्छ। यस अवसरमा राष्ट्र र सरकार प्रमुखको सक्रिय सहभागिता हुन्छ।

मल्लकालमा फूलपाती उत्सवलाई पचीका स्थापाना भन्ने गरिन्थ्यो। अष्टमीको दिन तलेजु भवानीलाई मूलचोकमा ल्याई स्थापना गरिन्छ। त्यही दिन राति कालरात्रिमा तलेजको गोप्य रुपमा पूजाआजा गरिन्छ। नवमीको दिन मूलचोकमा प्रतिस्थापित तलेजु भवानीलाई पूजा गरी बली दिइन्छ। यसैदिन भक्तपुर दरवारभित्र रहेको कुमारीचोकमा एकान्त कुमारीको पूजा गर्ने परम्परा पनि कम महत्वपूर्ण छैन। दशमीको दिन हनुमानढोका मूल चोकमा पूजा सकेपछि राजसंस्था हुँदाको अवस्थामा टीका नाराणहिटी दरबार पठाउनुपर्ने चलन थियो। यसैदिन अर्थात दशमीका दिनमा खड्गजात्रा निस्कन्छ। खड्गसिद्धि पूजा मातृका नृत्यमा विशेष महत्व रहेको हुन्छ। खड्गजात्रामा सहभागी हुनेले हातमा खुँडा, तरबार, त्रिशूल, ढाल लिएका र जामा पगरी लगाएका हुन्छन्।

कुनै टोलहरुले खड्गजात्रा निकाल्ने गरेको पाइन्छ। खड्ग जात्रामा दैत्यको प्रतीक कुभिण्डो काट्ने गरिन्छ। साथै यसैदिन राष्ट्रप्रमुखको सवारी भई खड्ग साट्ने महत्त्वपूर्ण कार्य पनि सम्पन्न हुन्छ। देवीको अनुपम आयुधको रुपमा रहेको खड्गलाई दुर्भिक्षहरुलाई परास्त गर्ने तथा समुन्नति र शान्तिको प्रतीक मान्ने परम्परा छ। यसप्रकारको खड्गजात्रा नुवाकोट दरबारबाट पनि निकाल्ने गरिन्छ।

खास परम्परा घटस्थापनादेखि दशमीसम्म सम्पन्न गरिने विभिन्न विधानहरु ठाउँअनुसार र जातिअनुसार केही भिन्न रहलान तर समष्टिगत रुपमा टीका र जमरा लगाउने परम्पराले दशैंको महत्त्वलाई स्पष्ट पारेको छ। खास गरेर प्रथम दिनमा जमरा राखी नवमीसम्म चण्डीपाठ गर्ने तथा देवीको स्तुति गर्ने गरिन्छ। सप्तमीमा फूलपाती भित्र्याउने तथा अष्टमीमा विभिन्न हातहतियारको पूजा गर्ने र देवी देवताको नाममा कुखुरा, हाँस, बोका, राँगाको बली दिने यो परम्परा सर्वत्र प्रचलित छ। दशमीको दिनलाई टीका भनिन्छ। यसदिन होम गरी दुर्गा स्थापनाको बिसर्जन हुन्छ। नजिकको मन्दिरमा टीका चढाएपछि घरपरिवार तथा गाउँ छिमेकका जेष्ठताको क्रमअनुसार टीका र जमरा ग्रहण गरिन्छ। यसअवसरमा बुढापाकाले यो आर्शिर्वादको श्लोक उच्चारण गर्ने गर्छन। आयु : द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ऐश्वर्य नहुषे गतिश्च पवे मानञ्च दुर्योधने दानं सूयसुते बलं हलधरे सत्यं च कुन्तीसुते विज्ञाने विदुरे भवन्तु भवतां कीर्तिश्चनारायणे। जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते। धेरैजसौ ठाउँमा यसैदिन आफन्त कहाँ टीका थाप्न जाने परम्परा रहेको देखिन्छ। खास गरेर प्राचीन कोतहरुमा जमरा राखी त्यहाँ स्थापित कोतका देवीहरुलाई टीका र जमरा चढाई ग्रहण गर्ने परम्पराले प्राचीन राज्य रजौटाको प्रचलनलाई कुनै रुपमा अनुसरण गरेको प्रतीत हुन्छ। सदूरपश्चिममा रजवारको घरमा गई टीका थाप्ने परम्पराले पनि सोही प्राचीन प्रचलनलाई कायम गरेको देखाउँछ।

विभिन्न जातिमा दशैं नेपाल अधिराज्यभर बसोबास गर्ने विभिन्न जातिहरुमा दशैंको महिमा र गरिमा त्यतिकै महत्त्वपूर्ण छ। उपत्यकाभित्र रहने नेवार जातिभित्र रहेको हिन्दुहरुले पूजापाठ गरी ब्राम्हण क्षेत्रीजस्तै टीका धारण गर्छन्। बौद्धहरुले टीका धारण नगरे पनि खड्गजात्रा निकाली आँगनघरमा पूजा गर्ने काम गर्छन। यस्तै मध्यपहाडी भेकका गुरुङ, मगरहरुमा पनि दशैं पर्वलाई उल्लासमय परम्परा मनाउने गरेको पाइन्छ।

परम्पराअनुसार दशैंको टीकापछि मगरहरुले सोरठीमा बजाउने मूल मादल बजाउन सुरु गरी नयाँ ऋतुको आगमनको संकेत गर्दछन्। यस्तै पूर्व किराँतीमूलको समाजभित्र पनि दशैंको महत्त्व बढ्दो छ। यहाँ अझै पनि जिम्मावालको मा कोसेली पात लिएर टीका थाप्ने चलन जीवितै छ। नेपालको तराईमा बसोबास गर्ने थारुजातिहरुमा दशैंलाई ठूलो महत्त्व दिएको पाइन्छ।

दशैंको अवसरमा दाङ देउखुरीतिरका थारुहरुले दश्यानाच नाच्ने गर्दछन्। केटीहरुद्वारा सामूहिक रुपमा नाचिने यो नाचमा मादल र मजुराको तालमा नाच्ने गरिन्छ। थारुहरुमा जौको जमरा राख्नुको सट्टा मकैको जमरा राखी लगाउने परम्परा कम रोचक छैन। गुरुवाको हातबाट टीका लगाएपछि टीका फुकिने विश्वास थारु जातिमा छ। यस्तै नेपालको मैथिली समाजमा चैत्रको रामनवमीलाई व्यापक महत्त्व दिए पनि आश्विन महिनाको घटस्थापनादेखि दशमीसम्म पनि विभिन्न परम्परा र विधानबाट मनाउने गरेको पाइन्छ।

नेपाल बाहिर दशैं नेपाल बाहिर जहाँ जहाँ नेपालीहरु बसोबास गरेका छन, त्यहाँ त्यहाँ नेपाली परम्पराअनुसार दशैं मनाउने गरिएको छ। बरु यो पर्व संसारका नेपालीलाई सांस्कृतिक डोरीले बाँध्ने सूत्र भएको छ। खास गरेर भारत, भूटान, बर्मामा बसेका नेपालीमा दशैंको महत्त्व बिर्सिएका छैनन्। भारतको नागाल्याण्ड, मणिपुर, आसाम, दार्जिलिड, सिक्किम, देहरादून, भाक्सु आदि ठाउँमा नेपाली भाषीहरुले धुमधामसाथ मनाउँछन। युरोप, अमेरिकालगायत विश्वभर छरिएर रहेका लाखौं नेपालीहरुले आफू अनुकूल दशैं मनाउने परम्परा रहिआएको छ।