नेपाल सांस्कृतिक, बहुधार्मिक र परम्पराले युक्त भएको देश हो। यहाँ बहुजाती, बहुसंस्कृतिबीच समाज सलादझैं सबैको अस्तित्त्व स्वीकारेर बसेको छ। त्यसकारण नेपाललाई एक सांस्कृतिक राज्यको रुपमा पनि चिन्न सकिन्छ। यसमा अनगिन्ती जात, धर्म र परम्परा अनुसारका चाडपर्व र रितिरिवाज छन्।
विश्वमा यस्ता विविधता अन्त देख्न पाइन्न। नेपालीहरुका मौलिक पर्वहरु छन्। त्यसैमध्ये दशैँमा खेलिने पिङ हो। नेपालीले पिङ दशैँमा खेल्ने गर्छन्। कतिपय स्थानमा तिहारसम्म पनि पिङ खेलेको देख्न पाइन्छ।
शास्त्रीय दृष्टिकोणबाट हेर्दा जन्मदेखि मृत्युपर्यन्तका हामीसँग धेरै संस्कार छन्। त्यस्तै बाल्यकवस्थामा डोलारोहण गरिन्छ। त्यो भनेको बच्चालाई कोक्रोमा लगाएर हल्लाउने परम्परा हो। यसलाई भेगअनुसार बच्चाको झोलुङ्गो, डाँडी लगायतका नामाकरण गरिएको छ।
यो परम्परा कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन। तर धार्मिक पक्षबाट हेर्दा बालक भगवान् राधाकृष्णको आराधना गर्दा पनि उनीहरुलाई कोक्रोमा राखेर झुलन गरेर ‘श्रीकृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव’ भन्दै भजन गाउँदै हल्लाउने परम्परा छ। त्यो गरिदै पनि आइएको छ।
अर्को शिरिषकालीन अवस्था अर्थात कार्तिकको समयमा डोलारोहण गरिन्छ भन्ने परम्परा कतै-कतै भेटिन्छ। यो अर्को राज्य हमला गर्न जाने उपयुक्त समय मानिन्थ्यो। भगवतीको अर्चना गरेर शक्ति प्राप्त गरेर, टीका लगाएर राजाहरु अर्को राज्य हमला गर्न जाने समयमा एकपटक धर्ती छोड्ने भनेर पिङ खेलेको पाइन्छ।
पिङ भनेको आत्मबल बढाउने खेल हो। पिङ खेल्न सबैले सक्दैनन्। मुटु दरिलो बनाउन पिङ खेल्ने गरिन्थ्यो। अहिले पनि कमजोर मुटु भएकाहरु खेल्न सक्दैनन्। मुटु चिसो हुन्छ। तपाई हामी ज-जसले पिङ खेलेका छौ, पक्कै पनि अनुभव गरेकै छौँ, पिङ खेल्दा मुटु सिरिङ हुन्छ। स्वास्थ्यको हिसाबले मुटुको उपचार नै हुन्छ। पिङमा वारपार गर्दा आत्मविश्वास र साहस बढ्छ।
दशैँको टीका लगाएर धर्ती छोड्नुपर्छ भन्ने जनविश्वास छ। पहिले मानव समुदायमा मनोरञ्जनको लागि केही थिएन। चाडपर्व भनेको रमाइलो पनि हो। भाइचाराको भाव लिएर पर्व मनाइन्छ। त्यसमा मिठोमसिनो खाने, चेलीबेटी तथा भान्जाभान्जीलाई बोलाएर खुवाउने तथा अग्रजहरुबाट टीकासँगै आर्शिर्वाद लिने हुन्छ। त्यसमा मनोरञ्जन पनि जोडिएर आउँछ। त्यसको लागि निर्विकल्प उपाय भनेकै पिङ हो। पिङ आफैंमा निकै रोचक खेल हो। अहिले सहरबजारमा विभिन्न थरिका पिङ खेल्न पाइन्छ। आफूले मन लागेको बेला गएर खेल्न पाइन्छ। त्यतिबेला वर्षमा आउने एक पटक ददशैंमा मात्रै खेल्ने गरिन्थ्यो।
परम्परागत रुपमा लिंगे पिङ र रोटे पिङ छन्। पिङ विनाको केटाकेटीको दशैँ रमाइलो हुँदैन। गाउँघरमा वयस्क युवायुवती एउटै लठारोमा चढेर पिङ मच्चाउँछन्, जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ।
झुलन र दोलारोहण भनेको आनन्द लिने हो। त्यसमा पनि जात तथा क्षेत्रअनुसार गीत गाउँदै खेल्ने चलन हुन्छ। भगवान पनि झुलामा बसेर आनन्द लिने भएकाले मानव भनेको भगवान नै सृष्टि हो। भगवानले गरेका कुराहरु अनुसरण हुने भैहाल्यो। त्यहिअनुरुप पिङ सुरु भएको मानिन्छ।
देवीको पूजा गरेर आफूभित्र शक्ति आर्जन भयो वा भएन, ऊर्जा प्राप्त भयो वा भएन भन्ने हिसाबले पनि यो परम्पराको सुरुवात भएको भनेर विश्लेषण गर्न सकिन्छ। अर्को नेपालको समाज यति मिलेर बसेको छ कि हरेक जाति, गोत्र, थर, धर्ममा एकअर्कालाई निकै स-सम्मान गर्नुपर्ने धारणा पाइन्छ। पछि विभिन्न मागमा आ-आफ्नै पहिचानको संघर्षमा विवाद भएको हो। एकले अर्कालाई सहयोग गर्नुपर्छ, मिलेर बस्नुपर्छ, मनोरञ्जन गर्नुपर्छ भन्ने नेपालको पुरानो परम्परा हो।
गाउँका बलिया दाजुभाइले खुकुरी बन्चरो लिएर जंगलमा साल र सखुवाको बलियो रुख काटेर रोटे पिङ बनाउने। महिलाहरुले जंगल गएर बाबियो काटेर पिङको डोरी बाँध्ने गर्थे। पिङ निर्माण भइसकेपछि पूजा गर्ने चलन थियो। पूजा नगरी पिङमा चढ्दैनथे। कन्या तथा ब्राम्हणलाई सुरुमा पिङ खेलाउने परम्परा थियो।
पिङका दुर्बल पक्ष केही पनि छैन। यो पहाडी भेगतिरबाट तराइमा सरेको हो। पछिल्लो समय यसको परम्परा हराएको छैन। तर गाउँमा मान्छे छैनन। कसले पिङ बनाउने ? पैसा कमाउन र पढ्न भन्दै नयाँ पुस्ता विदेशिने क्रम बढ्यो। अवसरको खोजीमा सहर पसे। जंगल गएर रुख काट्ने कसले ?
तर पनि जति उपलब्ध जनशक्ति गाउँमा छन्, तिनले यो परम्परा अझै पनि धानेका छन्। सहरमा पनि पिङ देख्न पाइन्छ। केटाकेटीहरु पिङ विनाको दशैँ खल्लो मान्छन्। पिङले आँट, साहस र आत्मबल बढाउँछ।
तराईमा सनपाटको लठारो बनाउने चलन भए पनि सनपाट खेती मासिँदै गएकाले पहिलेजस्तो पिङ बनाउन समस्या छ। तैपनि काठमाडौँ उपत्यका र बाहिरी जिल्लामा दशैँमा पिङ लगाउने प्रचलन अझै कायमै छ।
अहिले यो परम्परा थप परिष्कृत हुँदै गएको छ। अहिले पसलमा गएर डोरी किन्न पाइन्छ। समय अनुसार सबै कुरा परिवर्तन हुँदा यसलाई नकारात्मक मान्नैपर्ने छैन। तर पिङप्रतिको श्रद्धा, पिङमा रमाउनु पर्छ , दशैँमा धर्ती छोड्नु पर्छ भन्ने कुरामा अधिकांशको एकमत छ। पिङलाई लिएर यो फलानो जातिको र फलानो धर्मको भनेर विवाद गरेको पनि पाइँदैन। हरेक धर्म र वर्गले स्वीकार गरेको छ।
पिङले मनोरञ्जनात्मक, सांस्कृतिक र सामाजिक अत्यन्तै सकारात्मक पाटा समेटेको छ। अझ भनौं यो नेपालको मौलिक परम्परा पनि हो। धेरै थरिका पिङ छन् तर नेपालमा जस्तो डोरीको पिङ अन्त छैन। (आचार्य सोमनाथ शर्मासँगको कुराकानीमा आधारित)