खेलकुद

नेपाललाई स्तब्ध पार्दै उज्बेकिस्ताले जित्यो काभा यू–२० भलिबलको उपाधि

By खबरहब

October 12, 2024

काठमाडौं – श्रीलंकामा जारी काभा यु–२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानसँग ३–१ सेटमा पराजित भएको हो ।

यस फाइनलमा नेपालले पहिलो सेट जितेको भएपनि त्यसपछि उज्बेकिस्तानले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेर उपाधि जितेको हो । नेपालले पहिलो सेट २७–२५ ले जितेको थियो भने त्यसपछि उज्बेकिस्तानले दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो सेट २५–२० ले जितेको थियो ।

यस अघि लिग चरणमा पहिलो र दोस्रो स्थानमा रहेर नेपाल उज्वेकिस्तान र नेपाल फाइनल खेलेका हुन् । नेपाल लिगचरणको खेलमा पनि उज्वेकिस्तानसँग ३–१ ले पराजित भएको थियो ।

लिग चरणमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग ३–१ ले पराजित भएको थियो ।

त्यस्तै तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो भने चौथो खेलमा किर्गिस्तानलाई ३–२ को सेटमा जित हात पारेको थियो । त्यसैगरी शुक्रवार भएको लिगको अन्तिम खेलमा नेपालले तुर्किमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।