डा. रामहरि चापागाईं र डा. सुवोधसागर ढकाल

समाचार

बालबालिकाको मृत्युको प्रमुख कारण बन्दै निमोनिया, कसरी जोगाउने ?

By पवन मुडभरी

November 12, 2024

काठमाडौं- आज विश्व निमोनिया दिवस नेपाल लगायत विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। 

५ वर्षमुनिका बालबालिकाहरूको अकाल मृत्युको मुख्य कारक बनेको निमोनियाबारे जनसमुदायमा जागरुकता फैलाउने उद्देश्यले सन २००९ देखि हरेक वर्षको नोभेम्बर १२ मा संसारभरि विश्व निमोनिया दिवस मनाइने गरिन्छ । 

निमोनियाले हरेक वर्ष विश्वभरि ५ वर्ष भन्दा कम उमेरका १० करोड ५५ लाख बालबालिका बिरामी बनाउँछ । त्यसमध्ये १६ लाख बालबालिकाहरूको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्याङ्कमा छ । नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया नै रहेको चिकित्सकहरू बताउँछन् । 

कान्ति बाल अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. रामहरि चापागाइँ भन्छन्, ‘पहिलेदेखि नै श्वासप्रस्वास सम्बन्धी रोगहरू बालबालिकाको मृत्युको कारण बन्ने गरेका छन् त्यसमध्ये निमोनिया प्रमुख कारक मानिएको छ ।’

खबरहबसँग कुरा गर्दै डा. चापागाईंले भने, ‘निमोनिया स्वासप्रस्वासमा माध्यमबाट फैलिने एक किसिमको सरुवा रोग हो । यो सामान्य भाइरसदेखी लिएर जीवाणु, कीटाणु तथा फँगाइहरूका कारण लाग्ने गर्दछ । कुपोषित बालबालिका, खोपको मात्रा पुरा नलगाएका, सरसफाइमा ध्यान नदिने, जाडो मौसममा गुमुक्क एउटै कोठामा धेरै मान्छेसँग बस्ने बालबालिकाहरूमा निमोनियाको सङ्क्रमण धेरै हुने गरेको छ’। 

यसबाट बालबालिकालाई बचाउन पहिलो नम्बरमा पोषण नै हो । पोषिलो खानामा रोगसँग लड्नसक्ने क्षमता हुन्छ र सामान्य रोगहरू लागे पनि केही असर गर्दैन । 

त्यस्तै सरकारले दिने गरेका सबै खोपहरू लगाउनुपर्छ । ती खोपहरुमा विभिन्न रोगहरुसंगै निमोनियाँ विरुद्धको खोप पनि समावेश हुन्छ । अर्को बालबालिकाहरूको सरसफाइमा ध्यान दिनुपर्छ । चिकित्सकहरूका अनुसार बालबालिकालाई चिसोबाट जोगाउने, एउटै कोठामा गुम्सेर नराख्ने, सफा हावा आवतजावत हुने व्यवस्था गर्नु आवश्यक छ । श्वासप्रश्वासमा समस्याको एउटा प्रमुख कारण इनडोर पलुशन पनि हो ।  यति काम गर्न सके बालबालिकालाई निमोनिया हुनबाट बचाउन सकिने चापागाईंले बताए ।

निमोनियाको  जोखिम उमेर समुह 

ओम अस्पतालमा कार्यरत वरिष्ठ छातीरोग विशेषज्ञ डा. सुबोध सागर ढकाल भन्छन्, ‘छातीमा इन्फेक्शन हुनुलाई सामान्य भाषामा निमोनिया भनिन्छ । यो एकदमै ठुलो डङ्ग हो । हाम्रो फोक्शोको लागि यसलाई दुस्मन जस्तै मानिन्छ । विशेष गरी चिसो मौसममा यसको सङ्क्रमण धेरै हुने गर्दछ ।’

चिसो मौसममा यसको भाइरस एकदमै छिटो फैलिन्छन् । अहिले चिसो मौसम शुरु भएसँगै दैनिक जसो निमोनियाँका बिरामीहरू आउन थालेका उनले बताए । 

पहिले सबै निमोनियामा एउटै खालको उपचार गरिन्थ्यो । तर, अहिले निमोनियालाई विभिन्न चरणमा राखिएको छ जस्तै कस्तो निमोनियालाई घरमै राखेर उपचार गर्ने ? र कुन निमोनियालाई अस्पतालको वार्डमै राखेर उपचार गर्ने ? कस्तो अवस्थामा आइसीयुमा राख्ने ? भनेर बिरामीको अवस्था हेरेर उपचार गरिन्छ । त्यसैले निमोनियाको शंका लागेमा चिकित्सकको सल्लाह लिनु राम्रो हुने उनी बताउँछन् । 

डा. ढकालका अनुसार निमोनियाबाट ४ किसिमका मानिस प्रभावित हुन्छन् । जसमा पहिलो नम्बरमा बालबालिका पर्छन् भने गर्भवती महिला, दम, मुटु, किड्नी लगायत दीर्घ रोग लागेका मानिस र ६५ वर्षमाथिका व्यक्तिमा निमोनियाको जोखिम धेरै हुन्छ । 

निमोनियाको कस्तो अवस्थामा अस्पताल लैजाने ? 

ज्वरो आएपछि मात्रै निमोनिया हुन्छ भन्ने धेरै मानिसहरूमा भ्रम रहेको डा. ढकालको भनाइ छ ।

‘६५ वर्षभन्दा माथिका मान्छे, डायबिटिज भएका मान्छे, डाइलासिस गराइरहेका बिरामीहरूमा ज्वरो नआइकन पनि निमोनिया हुनसक्छ’ उनले भने, ‘अरु नर्मल मान्छेहरूमा ज्वरो आउँछ भने यस्ता बिरामीहरूमा ज्वरो नआउन सक्छ’ 

त्यस्तै अर्को छाती दुख्ने कसैलाई खोकी निरन्तर लागिरहेको छ, कहिलेकाहीँ खकारमा रगत देखिन्छु र श्वासप्रस्वास बढेको छ, बेहोसीको जस्तो कुरा गर्छ भने त्यस्तो अवस्थालाई वार्निङ साइन मानिन्छ । त्यस्तो अवस्थाका बिरामीहरुलाई तुरुन्त अस्पताल लगेर उपचार गराउनुपर्ने उनको सुझाव छ । 

खोप कति प्रभावकारी ?

डा. ढकालका अनुसार यसबाट बच्नका लागि इन्फ्लुएन्जा सट भ्याक्सिन सबैले लगाउनुपर्छ ।

‘विदेशमा त्यो भ्याक्सिन नलगाएको मान्छे अस्पतालको वार्डमा आउनै पाउँदैन । यहाँ त पूरै अस्पतालमा घुम्छन् । अर्को हो निमोकोकल भ्याक्सिन, यसले निमोनिया गराउने ब्याक्टेरिया रोक्ने काम गर्छ । यो खोप ६५ वर्षमाथिका र दीर्घ रोगीले लगाउन अत्यावश्यक हुन्छ’, डा. ढकालले भने, ‘तर, यो खोप लाउँदैमा पूरै निमोनियाबाट बच्न सकिने हाेइन । यसले ३० प्रतिशत रोकथाम गर्छ। लागिहाले कडा रूप लिन दिँदैन ।’

यी खोप नेपालका सबै अस्पतालमा उपलब्ध रहेको उनले बताए । मूल्य अस्पताल अनुसार फरक फरक छ ।

सरकारले नै यसको मूल्य तोकेर यत्ति मूल्यमा लगाउन पाइने भन्ने नियम बनाउनुपर्छ र यो सबैको पहुँचमा पुर्याउन आवश्यक रहेको डा. ढकाल बताउँछन् । 

उपचार 

हामी एण्टीबाइटिक खाएर निमोनिया ठिक हुन्छ भन्नु गलत हुन्छ। निमोनिया धेरै किसिमका हुन्छन् । ‘ब्याक्टेरियाले निमोनिया गर्छ, भाइरसले निमोनिया गर्छ, फंगसले पनि निमोनिया गराउँछ । धेरै प्रकारले निमोनिया गराउँछ। त्यसमध्ये ब्याक्टेरियाले गराउने निमोनियालाई मात्रै एण्टिबाइटिकले निको पार्छ । अन्य खालका निमोनियाका लागि अन्य औषधीहरुको आवश्यकता हुन्छ’, उनले भने । 

त्यसैले यो रोग लागिसकेपछि उपचारभन्दा लाग्न नदिनु नै राम्रो उपाय हो । विगतको तुलनामा केही हदसम्म मानिसहरूमा सचेतना फैलिएको चिकित्कसहरूको भनाइ छ । ‘धेरैले मास्क लगाउन थालेका छन् । निमोनिया जस्ता संक्रामक रोग फैलिने क्रममा कमी आएको आएको छ’, उनले भने ।