आर्थिक

प्राधिकरणले लाइन काटेका २३ उद्योगमा विद्युत जोडियो

By खबरहब

January 13, 2024

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता नतिरेका उद्योगीहरूका काटेको विद्युत लाइन गएरातिबाट जोडिदिएको छ ।

हिजो उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले गत मङ्गलबारको मन्त्रिपरिषद बैठकको निर्देशनअनुसार लाइन जोड्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकले महसुल विवादमा छानबिन समिति बनाउँदै काटिएका लाइन जोड्न निर्देशन दिएको थियो ।

सो निर्देशन अनुसार उर्जा मन्त्रालयमार्फत लिखित पत्र आएपछि प्राधिकरणले काटिएका लाइन जोडिदिएको हो ।

डेडिकेटेड र ट्रंक लाइन चलाएर बिजुलीको प्रिमियम बक्यौता नतिरेको भन्दै प्राधिकरणले विभिन्न २३ वटा उद्योगमा विद्युत कटौती गरेको थियो ।

प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइन लिएका ६१ उद्योगले महसुल तिर्न बाँकी रहेको बताउँदै आएको छ ।