समाचार

भोजपुरको हतुवागढी संरक्षण गरिँदै

By खबरहब

January 13, 2024

भोजपुर– ऐतिहासिक क्षेत्र भोजपुरको हतुवागढीमा शिलालेखको अनावरण गरिएको छ । पूर्वको महत्वपूर्ण गढीको रुपमा रहेको उक्त स्थानमा राष्ट्रिय एकता दिवस तथा ३०२औँ पृथ्वी जयन्तीको अवसरमा शिलालेखको अनावरण गरिएको हो ।

गढी क्षेत्रमा सेनाको गुल्म रहेकाले सेनाले नै त्यसको संरक्षण गर्दै आएको छ । नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी फणीन्द्र थापाले सेनाले गढीको संरक्षणमा गरिरहेको कामसँगै हतुवागढीको इतिहासको बारेमा जानकारी गराए ।

यो एउटा महत्वपूर्ण गढी रहेकाले यसको विकास तथा संरक्षणका लागि नेपाली सेनाले पनि भूमिका खेलिरहेको उनको भनाइ छ ।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले गढी संरक्षणसँगै विकासको लागि गाउँपालिकाले आवश्यक काम गरिरहेको बताए । गढी क्षेत्रमा सेनाको गुल्म रहेकाले स्थानीयलाई सहज आवतजावतमा केही समस्या देखिएकाले यसको समाधानको लागि योजनाबद्ध रुपमा काम भइरहेको उनको भनाइ छ । उनले यो क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

ऐतिहासिक महत्व बोकेको गढी रहेकाले यसको विकास तथा संरक्षणमा ध्यान दिन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

समाजसेवी ईश्वरमान राईले गढीको संरक्षणमा सेनाले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउँदै, यहाँको गुल्मको स्थायित्वको लागि ध्यान दिनुपर्ने बताए ।

खण्डहरको रुपमा रहेको यो गढीको स्थानीय र सेनाको अग्रसरतामा संरक्षण गरिएको उनको भनाइ छ । हतुवागढी गाउँपालिका– १ मा रहेको यो गढीमा तत्कालीन किरात राजाहरुले शासन गरेको बताइन्छ । यो गढी समुद्री सतहबाट एक हजार छ सय ३८ मिटर उचाइमा रहेको छ ।