समाचार

दाङ दुर्घटनाका घाइतेको उपचारमा विशेष ध्यान दिन मुख्यमन्त्री चौधरीको निर्देशन

By खबरहब

January 13, 2024

 दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गएराति दाङको भालुवाङमा राप्ती पुलबाट नदीमा बस खसेर भएको दुर्घटनाबाट आफू मर्माहत भएको  बताउँदै घाइतेहरूको उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।  

मुख्यमन्त्री चौधरीले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनमा शोक व्यक्त गरेका छन् । 

नेपालगञ्जबाट काठमाडौँ गइरहेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा शुक्रबार राति खस्दा  त्यसमा सवार १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका आठजनाको सनाखत भएको छ ।