तस्विर सिन्ह्वा

अन्तर्राष्ट्रिय

चीनको कोइला खानीमा ग्याँस विस्फोट, दश जनाको मृत्यु

By खबरहब

January 13, 2024

बेइजिङ– चीनको हेनान प्रान्तस्थित कोइला खानीमा शनिबार भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ ।  छ जना बेपत्ता भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । 

दुर्घटना कोइलाखानीमा ग्याँस विस्फोटको कारण भएको र खोजी तथा उद्धार कार्य जारी रहेको सीसीटीभीले जनाएको छ । चिनियाँ समाचार संस्था  सिन्ह्वाले विस्फोट हुँदा ४२५ जनाले भूमिगत काम गरिरहेको बताएको छ ।

खानीको जिम्मा लिनेहरूलाई अधिकारीहरूले हिरासतमा लिएको सिन्ह्वाले जनाएको छ । चीनमा खानी सुरक्षा पछिल्लो दशकहरूमा सुधार भएको बताउने गरिएको छ । 

यद्यपि, कमजोर सुरक्षा व्यवस्थाका कारण उद्योगमा दुर्घटनाहरू अझै भइरहन्छन् । आधिकारिक तथ्यांक अनुसार २०२२ मा १६८ दुर्घटनामा २४५ जनाको मृत्यु भएको थियो ।

गत महिना उत्तरपूर्वी हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागमा भएको खानी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

नोभेम्बरमा सोही प्रान्तको अर्को कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । यसैगरी, सेप्टेम्बरमा, दक्षिणपश्चिम चीनको कुइझोउ प्रान्तमा कोइला खानीमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।