ब्रेकिङ स्टोरी

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि

By खबरहब

February 13, 2024

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको विधान सम्मेलन आज सुरु हुँदैछ । सम्मेलन काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ ।

जम्बो केन्द्रीय समिति निर्माण गरेको  माओवादीले विधान अधिवेशनबाट १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश गर्दैछ । गत शनिवार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको थियो ।

पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो ।

सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य सदस्य थिए ।

आइतबार र सोमवार भएको केन्द्रीय कमिटी बैठकमा केही समय अघि माओवादीले सञ्चालन गरेको रूपान्तरण अभियानका बारेमा समीक्षा भएको थियो ।

सो अभियानले माओवादीलाई थप बलियो बनाएको जनाउँदै केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनले पार्टीलाई घाटा भएको जनाउँदै पुनर्विचार गर्नु पर्नेमा जोड गरेका थिए ।