स्टोरी

माओवादी ६ नेतालाई प्रश्न : ‘जनयुद्ध’देखि ‘तरमारा’सम्म

By ज्ञानु घिमिरे

February 13, 2024

काठमाडौं– नेकपा माओवादीले आजभन्दा २८ वर्षअघि २०५२ साल फागुन १ गतेदेखि सशस्त्र संघर्षको घोषणा गर्‍याे । संसदीय व्यवस्थाको अन्त्य गरेर ‘जनवादी गणतन्त्र नेपाल’ स्थापना गर्ने भन्दै थालिएको उक्त हिंसात्मक संघर्ष १२ वर्षसम्म अर्थात् २०६३ सालसम्म चल्यो ।

‘जनयुद्ध’को अवधिमा सत्तापक्षबाट १२ हजार र विद्रोहीपक्षबाट ५ हजार गरी कुल १७ हजार नेपालीको ज्यान गयो । परिवार गुमाउने, अंगभंग हुने र विस्थापन हुनेहरुको संख्या लाखौं रह्यो । गाउँहरु रित्तिए । देशभरि ठूलो मात्रामा भौतिक संरचनामा क्षति भयो, त्यसको पुनर्निमाणमा अर्बौं रुपैयाँ खर्च गर्नुपर्ने स्थिति उत्पन्न भयो । द्वन्द्वका कारण विकास निर्माणका काम र लोकतान्त्रिक प्रक्रियासमेत अवरुद्ध भए । स्थानीय तह कर्मचारीका हातमा गएका कारण भ्रष्टाचार मौलायो । देशमा दण्डहीनता बढ्यो ।

अर्को पाटोबाट हेर्दा जनवादी गणतन्त्र ल्याउँछु भनेर हिँडेका माओवादी नेताहरु ०६२/०६३ सालपछि सम्झौतामा आए । देशमा जनवादी गणतन्त्र नभए पनि ‘पुँजीवादी गणतन्त्र स्थापना’ भयो । यो गणतन्त्रमा समावेशिता र धर्मनिरपेक्षता थपियो । पछि मधेस आन्दोलनले संघीयता पनि थप्यो । १० वर्ष लगाएर देशले बल्लतल्ल संविधान प्राप्त गर्‍याे । यी उपलब्धीहरुलाई माओवादी नेताहरुले आफ्नो जनयुद्धको उपलब्धी र त्यसले स्थापित गरेको एजेण्डा बताउने गरेका छन् ।

तर, जसले जनयुद्ध लडेका थिए, तिनीहरुप्रति माओवादी नेतृत्वले बेवास्ता गरेको गुनासो स्वयं माओवादी पार्टीभित्रैबाट हुँदै आएको छ । अहिले सत्तामा टाठाबाठा र नेताका आसेपासेहरु नै पुगेको र जनयुद्ध लड्ने भूइँतहका कार्यकर्ता खाडी मुलुकतिर जानुपर्ने अवस्था आएको गुनासो सुन्ने गरिएको छ । शान्ति प्रक्रियामा आएको १७ वर्ष बितिसक्दा पनि संक्रमणकालीन न्यायको विषय टुंगो नलाग्नु माओवादी नेतृत्वको ठूलो असफलताका रुपमा देखिँदै आएको छ ।

पहिलो संविधानसभा २०६४ मा माओवादी पार्टीलाई जनताले आशाको मत दिएका थिए । त्यसबेला यो दल ठूलो पार्टीका रुपमा स्थापित भएको थियो । तर, अहिले पार्टी खिइँदै रसातलमा पुग्ने स्थितिमा छ ।

माओवादी नेताहरु भ्रष्टाचारका पर्याय बनेका छन् । जनयुद्ध लडेका टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा जेलमा छन् । जनयुद्धका अर्का कमाण्डर रामबहादुर थापा बादलका छोरा फौजदारी अभियोग लागेर फरार अवस्थामा छन् । पूर्वउपराष्ट्रपतिका छोरा सहकारी ठगी लगायतका आरोप बोकेर हिँडिरहेका छन् । स्वयं अध्यक्ष प्रचण्डले छोरीज्वाइँ आदिलाई ‘नवराजकुमार’ बनाएको आरोप लागिरहेको छ । माओवादी पार्टीभित्र चरम निराशा र ‘मास डिप्रेसन’ उत्पन्न भएको छ । माओवादीको स्खलन र विद्रूपीकरण द्रुत गतिमा भइरहेको छ, यसलाई रोक्ने कुनै प्रयास नेताहरुबाट भएको देखिँदैन ।

यो १७ वर्षको अवधिमा माओवादी पार्टी पटक–पटक सरकारमा पुगे पनि शहीद, घाइते र बेपत्ता परिवारलाई उचित व्यवस्थापन गर्न नसकेको गुनासो आइतबार र सोमबार बसेको केन्द्रीय समिति बैठकमा पनि व्यक्त भएको केन्द्रीय सदस्यहरुको भनाइ छ ।

यही पृष्ठभूमिमा हामीले फागुन १ गते ‘जनयुद्ध दिवस’ (सरकारले मनाउने जनयुद्ध दिवस अदालतले खारेज गरे पनि माओवादी पार्टीले मनाउँदै आएको छ) को सन्दर्भ पारेर माओवादीका ६ जना नेतालाई ३ वटा प्रश्न सोधेका छौं । पहिलो प्रश्न– ‘जनयुद्ध’ को उद्देश्य के थियो ? दोस्रो प्रश्न– संसदीय व्यवस्थाभित्र हिंसात्मक बाटो गलत थिएन ? जनयुद्धको औचित्य के थियो ? र, तेस्रो प्रश्न– जनयुद्ध लडेर आएको पार्टीमा अहिले नयाँ ‘तरमारा’ वर्ग जन्मिएको हो ?

हामीले यी प्रश्नहरु माओवादी उपाध्यक्ष अग्नि सापकोटा, सचिव राम कार्की, मन्त्री सुदन किराती, सांसद माधव सापकोटा, प्रदेश सांसद लक्ष्मी बिक र शहीद परिवारकी सदस्यसमेत रहेकी केन्द्रीय सदस्य हरिमाया शर्मालाई सोधेका छौं ।

अग्नि सापकोटा

१. ‘जनयुद्ध’को उद्देश्य के थियो ?

अग्नि सापकोटा : जनयुद्धको उद्देश्य पूरा भएको छ । गणतन्त्र जनयुद्धले ल्याएको छ । संघीयता जनयुद्धले नै ल्यायो । समानुपातिक सहभागिता पनि ल्याएको छ । संविधानतः लोकतन्त्रमा आधारित समाजवाद जनयुद्धले ल्याएको छ । जनयुद्ध आफ्नो उद्देश्यमा पूर्णरूपमा सफल भएको छ ।

राम कार्की : क्रान्ति भनेको ‘ब्ल्याक एन्ड ह्वाइट’ हुँदैन । कतिपय कुराहरू पूरा हुँदै जान्छन् । कतिपय कुराहरू दौडानमा पूरा हुन्छन् । कत्तिचाहिँ क्रान्तिपछि पूरा गर्नुपर्ने हुन्छ । जनयुद्धले जुन आफ्नो लक्ष निर्धारण गरेको थियो, त्यो लक्षका केही थोरै काम भए । नेपाललाई बेस्सरी त्यसले हल्लायो तर हल्लाएर व्यवस्थित रूपमा नयाँ अभ्यास गर्नुपर्ने थियो, नयाँरूपमा सजाउनुपर्ने हो, त्यो काम गर्न बाँकी छ । नयाँ मान्यता स्थापित गर्न सकेको छैन ।

सुदन किराती : नेपालमा जनयुद्धको व्यापक उपलब्धि भएको छ । २००७ सालमा राणा शासनको विरुद्धमा जनसङ्घर्ष भयो, त्यसले जनतालाई सास फेर्ने अधिकार दियो । ०४६ सालको झिनो प्रजातन्त्रले मान्छेलाई साधारण कुरा बोल्ने क्षमता दियो तर सम्पूर्ण रूपले अधिकार दिएन । जनयुद्धले नेपालको संविधान परिवर्तन गरिदियो, जसले सामाजिक न्यायको क्षेत्रमा धेरै ठूलो परिवर्तन दियो । हामीले तथ्यमा पनि भन्न सकिन्छ महिलालाई ३३ प्रतिशत अधिकार दिलाउने जनयुद्ध हो । दलितलाई सत्तामा प्रत्यक्ष सहभागिता गराउनेदेखि लिएर गणतन्त्र स्थापना गर्ने र संघीयतासहितको लोकतन्त्र स्थापना गर्ने जनयुद्ध हो । जनयुद्धको उपलब्धिको जगमा नै आज हामी उभिएका छौँ ।

हरिमाया शर्मा

हरिमाया शर्मा : म कर्णाली, सुर्खेतकी मान्छे हुँ । म सहिद परिवार हुँ । मेरो परिवारमा ६ जना सहिद हुनुहुन्छ । नेपालको राज्य परिवर्तनको सन्दर्भमा जनयुद्ध युद्ध ठूलो क्रान्ति हो । यो क्रान्तिले नेपालको आमूल परिवर्तन गरेको छ । सरकारी संरचनाको पुनःसंरचना भयो । समाजमा भएको सांस्कृतिक विभेदलाई क्रस गर्‍याे  । महिला, दलित, जनजाति, जो उत्पीडनमा थिए, समाजमा तिनले अवसर पाए । चेतना बदलिएको छ । यो हिसाबले जसरी जनयुद्ध सुरु भयो, त्यसले उपलब्धि हासिल गरेको छ । सबै उत्पीडित वर्गको हित भएको छ । परिवर्तनका खातिर नै अहिले पार्टीमा, सरकारमा, सभामा ३३ प्रतिशत महिला सहभागिता छ । यो उपलब्धि हो ।

माधव सापकोटा : जनयुद्धको उपलब्धि व्यापक भएको कुरा उठेको छ । पार्टी केन्द्रीय समितिमा पनि यो कुरा उठेको छ । केही हुन नसकेका कामहरू गर्दै अगाडि बढ्ने कुरा भएको छ । प्रधानमन्त्रीज्यूले बोलाउनुभएको केन्द्रीय समितिको बैठकमा पनि यो विषयमा व्यापक छलफल भयो । हामीले धेरै औचित्य पूरा गरेका छौँ, केही बाँकी छ ।

लक्ष्मी बिक : म सुदूरपश्चिम प्रदेशसभा सदस्य हुँ । १० वर्षको महान् जनयुद्ध र १९ दिने जनआन्दोलनले आमूल परिवर्तन भएको छ । हामीजस्ता दलित र पछि परेका वर्गले पनि सरकार र सत्तामा सामेल हुने उपलब्धि दिएको छ । यो त्याग र तपस्यामा बलिदान दिएका सहिद र बेपत्ता परिवारलाई राहत दिन पनि सरकारले कदम चालिरहेको छ । संविधानमा भएका कुरामा टेकेर, यहाँ भएका कमी कमजोरी सुधार गर्न सबै पक्ष लाग्नुपर्छ । केही कुराहरू पूरा हुन बाँकी छन् ।

२. संसदीय व्यवस्थाभित्र हिंसात्मक बाटो गलत थिएन ? जनयुद्धको औचित्य के थियो ?

अग्नि सापकोटा :  जनयुद्ध जनताको पक्षमा थियो भन्ने औचित्य पुष्टि भएको छ । औचित्य सानदार ढङ्गले पूरा भएको छ । जनयुद्धले राष्ट्र हैन, अन्तर्राष्ट्रिय रूपमा औचित्य पुष्टि गरेको छ ।

राम कार्की

राम कार्की : सबै युद्ध, सबै संघर्ष स्वतन्त्रताका लागि हो । मुक्तिका लागि हो । मान्छेले आफूलाई मुक्त अनुभूति गर्छ । चेतना नाप्ने यदि मेसिन हुने हो भने हाम्रो जनयुद्धले चेतनाको विस्तार यति गरेको छ, जुन अगाडिको ६० वर्षमा पनि भएको थिएन । आज हामी यहाँ बोल्न सक्नु पनि जनयुद्धको उपलब्धि हो । १७ हजारको हिसाब खोजिरहँदा तपाईँको सक्षमताको हिसाब कसले दिने त ? उपलब्धिको हिसाब कसले दिने ? १७ हजारको मृत्यु हुनु गलत थियो । तर, राज्यको दमनका कारण यो भयो । जनयुद्धको जगमा यो भएको छ ।

सुदन किराती : शान्तिपूर्ण अवस्थामा जाने बाटो थिएन । संसारको कुनै परिवर्तन बलिदान र हिंसाबेगर भएको छैन । राज्यसत्ताले गरेको हिंसाको प्रतिशोध गर्दाखेरि हिंसा भएको हो, हाम्रो चाहना थिएन । संसारमा त्यस्तो कुनै देश छैन, जहाँ रक्तपातपूर्ण संघर्षभन्दा बाहिर गएर परिवर्तन भएको होस् । भारतको उदाहरण दिन सक्छौँ । महात्मा गान्धीले शान्तिपूर्ण आन्दोलनबाट नै ब्रिटिसलाई भगाए र त्यहाँ लोकतन्त्र स्थापित गरेको भन्छन् तर सुवासचन्द्र बोसको सशस्त्र सङ्घर्ष नभएको भए ब्रिटिशले भारत त्यति छिटै छोड्ने थिएन । त्यो पनि रक्तपातपूर्ण संघर्षबाटै भएको हो ।

हरिमाया शर्मा : त्योबेला शान्तिपूर्ण तरिकाले जाने बाटो थिएन । मुभमेन्ट त्यस्तै बन्यो । जे हुनु भइसक्यो, अब यसलाई मिलाएर अगाडि बढ्नुपर्छ । हाम्रो त्याग र बलिदानले जनतामा ठूलो उपलब्धि हासिल भएको छ । माओवादीले आत्माआलोचना गर्ने गरी गल्ती गरेको छैन । युद्ध हो, आन्दोलन हो, मारिने कुरा जायज थिएन तर युद्ध भएकाले स्वाभाविक लिनुपर्छ । युद्ध आनन्दले गर्ने होइन रहेछ । आकलनभन्दा बढी क्षति भयो । तर, पार्टीले ध्यान दिनुपर्ने र मिलाउनुपर्ने कुरा मिलाएर जानुपर्छ ।

माधव सापकोटा

माधव सापकोटा : त्योबेला शान्तिपूर्ण तरिकाले अगाडि बढ्दा सरकारले दमन गरेका कारण जनयुद्धले हिंसात्मक रूप लियो । जनयुद्ध भयो र यो व्यवस्थामा हामी छौँ । स्वतन्त्रतासहितको व्यवस्था जनयुद्धले दिएको छ । गर्व छ । परिवर्तनको आन्दोलन थियो, यसले ठूलो उपलब्धि दिएको छ ।

लक्ष्मी बिक : हिजोको व्यवस्था हेर्दा यो औचित्य पूर्ण छ । शान्तिपूर्ण तरिकाले जाने बाटो थिएन । राजनीतिक परिवर्तनले केही तहस–नहस त भयो तर पछि परेका समुदाय र वर्गलाई समेट्ने गरी संविधान लेखिएको छ, यो जायज छ । अब यसमा टेकेर नयाँ ढङ्गले आर्थिक–सामाजिक रूपान्तरण र सुशासनका कुरा अगाडि बढाउनुपर्छ । यो आन्दोलन ठिक थियो । अब यो आन्दोलनबाट भएको उपलब्धिलाई संस्थागत गर्न सबै लाग्नुपर्छ । वैचारिक तरिकाले अगाडि बढ्नुपर्छ । यो व्यवस्थामाथि कसैकसैले प्रश्न चिह्र उठाए पनि समग्रमा हामीले राम्रो उपलब्धि हासिल गरेका छौँ ।

 

लक्ष्मी बिक

३. जनयुद्ध लडेर आएको पार्टीमा अहिले नयाँ ‘तरमारा’ वर्ग जन्मिएको हो ?

अग्नि सापकोटा : केही सुझाव सकारात्मक छन् । अबदेखि सबैभन्दा बढी जोड बेपत्ता परिवार, जो साह्रै धेरै पीडामा छन्, उनीहरुलाई सम्बोधन गर्न सहिद परिवार घाइते योद्धाको सम्मानका लागि काम गर्ने छौँ ।

राम कार्की : जनयुद्धमा जाने, सामेल हुने मान्छे पेन्सन र भत्ताका लागि गएका हैनन् । म मरे पनि मेरा छोराछोरीले जागिर पाउँछन् भनेर गएका हैनन् । सौभाग्यले कोही बाँच्यो, कोही मर्‍याे  । हामी तीनजना बसेका मध्ये पनि कोही शहीद परिवार छौँ । शहीद परिवारका निम्ति पार्टीले देखाउने सौहाद्रता थियो, त्यो भएको छैन । कमी आएको छ । त्यो आलोचना स्वीकार गर्नुपर्छ । अब पार्टी किसान र मजदुरको पक्षमा जानुपर्छ । उनीहरूको काम गर्नुपर्छ । किसान र मजदुरजस्तो आधारभूत पक्षलाई छोड्यो भने सहिद परिवारसँग भेट नहुन सक्छ ।

सुदन किराती : हामी सम्पूर्णरूपले जितेर होइन, सम्झौताबाट आएका छौँ । हाम्रा केही मुद्दा र उनीहरूका केही मुद्दा भएर नै सम्झौता भएको छ । आधारभूतरूपमा जनयुद्धले उठाएका मुद्दा संविधानमा लिपिवद्ध छ । यहाँहरूले भनेजस्तै कयौँ घाइते, बेपत्ता र सहिद परिवारको पुनःस्थापनाको सन्दर्भ अलग कुरा हो । संघर्षको चरणमा भएकाले यो केही हदसम्म न्याय हुन नसकेको सत्य हो । द्वन्द्वमा घाइते भएका र सहिद परिवारका लागि सत्य निरूपण आयोग र टीआरसी विधेयकले पनि सम्बोधन गर्छ । बिस्तारै मिलाएर, टुंग्याएर जान्छ ।

सुदन किराती

हरिमाया शर्मा : सहिद परिवार, घाइते, अपाङ्ग र बेपत्ता परिवारको सामान्य व्यवस्थापन र राहतको प्रकृयामा पहल पुगेको छ । तर, घाइतेको सवालमा केही छुटेको छ । यसलाई पार्टी र सरकारले सम्बोधन गर्छ भन्ने लागेको छ । अहिले पार्टी अध्यक्ष प्रचण्डले पनि केही कामहरू गरिरहनुभएको छ । म पनि सहिद परिवार हो । मेरा दाजु नारायण शर्मा सहिद हुनुभएको छ । बुबा कविराज शर्मा आन्दोलनका क्रममा सहिद हुनुभयो । बहिनी सीता शर्मा सहिद भइन् । भिनाजु लक्ष्मी अधिकारी बेपत्ता हुनुभएको छ । शान्ता पोखरेल दिदी पनि बेपत्ता हुनुहुन्छ । परिवारमा ठूलो क्षति भएको छ । उहाँहरूले लिएका इच्छा आंकाक्षा पूरा गर्न प्रतिवद्ध छौँ । सरकार र पार्टी पनि लागेको छ ।

माधव सापकोटा : प्रधानमन्त्रीज्यूले पूर्णरूपमा सहिद र बेपत्ता परिवारको पुनःस्थापना गर्न सकिएन भन्नुभएको छ । पूरा गर्दै जाने कुरा उहाँले राख्नुभएको छ । पछिल्लो चरणमा हाम्रा बीचमा भएका कमी कमजोरी र त्रुटि सच्याएर सामाजिक परिवर्तनको दिशामा जानुपर्छ ।

लक्ष्मी बिक : सिस्टम, प्रणाली र विधिमा लैजाने कुरा भएको छ । यसबारे आत्मसमीक्षा भएको छ । जनताको चाहाना अनुसार भयो, भएन भन्ने प्रश्न उठ्छ । तर, प्रविधिले काम गरेको छ कि छैन भनेर आत्मासमीक्षा गर्नुपर्ने छ । केही न केही कार्यशैली र व्यवहारिक परिवर्तन गर्ने कुरा उठेको छ । अहिलेको व्यवस्थामा आएर अल्झियौं कि भनेर पनि समीक्षा भएको छ । सुशासन र सामाजिक रूपान्तरणको कुरा पनि व्यापक रूपमा उठेको छ । समीक्षा हुन्छ । यो हाम्रो संस्कार हो । मूल कुरा मिलाएर लाने कुरा भएको छ । हामी गठबन्धन भन्दा पनि पार्टी एक भएर जाने कुरा भएको छ । विधान अधिवेशनले यसको समीक्षा गर्छ ।