समाचार

वैतेश्वरमा थप ६ किलोमिटर सडक ढलान गरिने

By खबरहब

February 13, 2024

दाेलखा– वैतेश्वर गाउँपालिकाले यस वर्ष थप ६ किलोमीटर सडक ढलान सम्पन्न गर्ने भएको छ । यस अघि करिब १५ किलोमिटर पक्की सडक निर्माण सम्पन्न गरिसकेको पालिकाले यस वर्ष पनि थप ६ किलोमिटर सडक ढलान गर्ने भएको हो ।

पालिकाले चालु वर्षकै योजना अन्तर्गत बुस्ती पुतलिकाठ सडक खण्डमा यस वर्ष थप एक किलोमिटर सडक ढलान गरिएको छ । बैतेश्वर गाउँपालिका थप एक किलो ७० मिटर सडक ढलान गर्ने कार्यसम्पन्न गरेको छ ।

गाउँपालिका एक वडा एक पक्की सडक निर्माण अभियान अन्तर्गत चौथो वर्ष २०८०/०८१ को बजेट मार्फत यस वर्ष बुस्ती- पुतलिकाठ मिर्गे सडक खण्डको थुम्कीमा १०००.७० मिटर सडक ढलान गर्ने कार्यसम्पन्न गरेको वैतेश्वर गाउँपालिका-२ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्याम कुमार घिसिङले जानकारी दिए ।

वडा नम्बर-२ गैरिमुदी र वडानम्बर-३ मिर्गेलाई सदरमुकाम चरिकोटसम्म जोड्ने मुख्य ग्रामीण सडकको रूपमा रहेको यस सडक खण्डमा गाउँपालिकाले आफ्नै लगानीमा थप एककिलो ७० मिटर सडक ढलान सम्पन्न गरेको हो ।

गाउँपालिकाले यस आवमा संघ र प्रदेश सरकारले समपुरक अनुदान उपलब्ध नगराएको कारण आफ्नै आन्तरिक स्रोतबाट दुई करोड बजेट विनियोजन गरेर बुस्तिपुतलिकाठ- मिर्गे सडक स्तरोन्नतिलाई निरन्तरता दिएको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।

अघिल्लो वर्षहरूमा पालिका भित्रका तीन वटा मुख्य ग्रामीण सडक स्तरोन्नति गर्न प्रदेश तथा संघीय सरकारले उपलब्ध गराएको ५० प्रतिशत अनुदानलाई यस चालु वर्षमा रोकेपछि गाउँपालिकाले आफ्नै स्रोतबाट साना-टुक्रे योजनालाई रोकेर तिन वटै सडकहरू बुस्ती-पुतलिकाठ, गोपि-जोरमाने र मैनापोखरी- क्षेत्रपा सडक स्तरोन्नति गर्ने कार्यलाई निरंतरता दिएको अध्यक्ष लामाले बताए ।

४ वर्ष अघिबाट ढलान सुरु गरिएको यस सडक खण्डमा हालसम्म करिब ५ किलोमिटर सडक स्तरोन्नति गरिसकेको पालिकाले जनाएको छ ।गाउँपालिकाले टेन्डर मार्फत उक्त सडक स्तरोन्नति गर्दै आएको हो । हालसम्म वडा नम्बर-६ को बुस्ति हुदैँ पुतलिकाठसम्म करिब ५ किलोमिटर पिच तथा पक्की रड सहितको आर.सीसी ढलान गरिएको छ ।

गाउँपालिकाले यस आर्थिक वर्षमा दुई करोडको ठेक्का लगाएर थुम्की गोलाइ देखि गौरीशंकर आधारभूत विद्यालय घोरेढुङ्गासम्म एक किलो ७० मिटर सडक ढलान हालेर सकिएको सडक निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनी पोखरी रामेछाप निर्माण सेवाले जनाएको छ। कम्पनीले ब्याक फिलिङ्ग बाहेक अन्य सम्पूर्ण काम सम्पन्न गरेको जनाएको छ।

गाउँपालिकाले यस वर्ष थप ६ किलोमिटर सडक ढलान गर्ने 

गाउँपालिकाले यस वर्ष करिब ७ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । पालिकाले आफ्नै स्रोतअनुसार गोपि-जोरमाने खण्डमा पनि गत शुक्रबारदेखि ढलान गर्न सुरु गरेको छ । यस सडक खण्डमा पनि गाउँपालिकाले यस आर्थिक वर्षमा थप १२१० मिटर सडक ढलान गर्न दुई करोड बजेट पालिकाबाटै विनियोजन गरेर टेन्डर मार्फत ढलान सुरु गरेको वैतेश्वर गाउँपालिका सब- इन्जिनियर विश्वास घिमिरेले बताए ।

उक्त सडकमा पनि हालसम्म करिब साढे ४ किलोमिटर सडक निर्माण गरिसकिएको उनले बताए।यस वर्ष थप १२ सय मिटर सडक ढलान गर्दा साढे पाँच किलोमिटर सडक निर्माण पुरा हुने पालिकाले जनाएको छ।

नाम्दु- पाडुडाँडा सडकको ढलान यस वर्ष सक्ने लक्ष्य 

सदरमुकाम ओहोरदोहोर हुने तथा सदरमुकाम चरिकोट देखि गाउँपालिका जोड्ने सबैभन्दा छोटो सडक नाम्दु- पाँडुडाँडाको स्तरोन्नति यस वर्ष करिब सक्ने गरी गाउँपालिकाले ठेक्का मार्फत ढलान गर्ने भएको छ।गाउँपालिकाले नाम्दु- पाँडुडाँडा सडक ढलान गर्न संघीय सरकारको ७५ लाख अनुदानमा एक करोड २५ लाख बजेट विनियोजन गरेको छ ।

यस वर्ष यस सडक खण्डमा १२ सय ६० मिटर सडक स्तरोन्नति गर्न टेन्डर मार्फत ठेक्का सम्झौता भैसकेको वैतेश्वर गाउँपालिका प्राविधिक प्रमुख इन्जिनियर युधिष्ठिर केसीले जानकारी दिए । उनका अनुसार यस वर्ष करिब करिब गाउँपालिकाको केन्द्र नजिक ढलान आइपुग्ने गरी १२ सय ६० मिटर सडक ढलान गर्न ठेक्का सम्झौता भैसकेको उनले सुनाए ।

ज्यामिरे- बगर मजुवा सडकमा यस वर्ष थप ७ सय ८० मिटर सडक ढलान

बैतेश्वर गाउँपालिकाले वडा नम्बर-३,४ र ५ को मुख्य सडक मैनापोखरी ज्यामिरे- बगरमजुवा सडक खण्डमा यस वर्ष थप सातसय ८० मिटर सडक ढलान सम्पन्न गर्ने भएको छ।ज्यामिरे- देखि बगर सडक खण्डमा पाँच सय ५२ मिटर सडकमा ढलान राखेर सकिएको छ भने,बाकी  दुई सय३५ मिटरसडकको पनि ढलान राख्न तयारी थालिएको जनाइएको छ ।

वैतेश्वर अस्पतालसम्म पक्की ढलान सडक निर्माण 

बैतेश्वर गाउँपालिका मुख्य व्यापारी केन्द्र  र स्वास्थ्य क्षेत्र लाई जोड्ने मैनापोखरी-अस्पताल गाउँपालिका सडकको ढलान गरिएसँगै अस्पताल पुग्न थप सहज भएको छ। बजार देखि करिब तीन किलोमिटर दुरीमा रहेको बैतेश्वर अस्पतालसम्म पक्की सडक पुगेको हो ।

गाउँ गत वर्षको प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको यस वर्षको बजेट मार्फत अस्पताल गेटसम्म पक्की सडक निर्माण गरिएको छ।पालिकाले ठेक्का मार्फत थप सातसय ५५ मिटर सडक ढलान गरेसंगै अस्पताललाई पक्की सडकले छोएको हो।यस सडकमा हालसम्म ७ सय ५५ मिटर मध्य ४ सय ५० मिटर ढलान सम्पन्न भएको छ।

मैनापोखरी- क्षेत्रपा सडकमा २ करोडको ढलान

मैनापोखरी र वडा नम्बर-८ को क्षेत्रपा हुँदै छिमेकी गौरीशंकर गाउँपालिकालाइ जोड्ने मैनापोखरी- क्षेत्रपा सडक ढलान गर्न २ करोडको टेन्डर लगाइएको छ। गाउँपालिकाले पालिकाकै महत्त्वपूर्ण कृषि सडकको रूपमा स्तरोन्नति गर्न थालेको यस सडकको लागि २ करोड बजेट विनियोजन गरेर ठेक्का सम्झौता गरेको थियो । यस वर्ष यस सडक खण्डमा सात सय मिटर सडक ढलान हुने छ ।

त्यसैगरी बैतेश्वर गाउँपालिकाकै आन्तरिक स्रोतबाट कृषि मार्गको रूपमा ७ मिटर चौडा सहितको ढवल लेनको पाइले- निम्कोट पाडुडाँडा सडक स्तरोन्नति एक करोड विनियोजन गरेर निर्माण सुरु गरेको छ भने,च्यानडाँडा छाप सडक यस वर्ष करिब एक किलोमिटर सडक ढलान हुने छ ।

हालसम्म करिब ३ सय मिटर ढलान सम्पन्न भएको छ।यता शाखा सडक त बजार चोकमा समेत ढलान गरिएको छ ।  चालु वर्षमै शाखा सडक घिमिरेटार र ठोट्नेरीमा ४ सय मिटर सडक ढलान गरिएको छ । गाउँपालिकाले सडक सँगै पक्की गोरेटोबाटो निर्माणलाई पनि प्राथमिकता दिएको गाउँपालिका सूचना अधिकारी रोशन कुमार गिरीले बताए ।

सुबास बस्नेत