काठमाडौं- पछिल्लो समय कानूनी शिक्षामा युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । यसवर्ष मात्रै करिब एक हजार विद्यार्थीले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेको तथ्यले यो शंकायमा बढ्दो आकर्षणलाई स्पष्ट पारेको हो ।
यसवर्ष विभिन्न विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीमध्ये ९४५ जनाले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेका छन् भने पूरक परीक्षाबाट २२ विद्यार्थी अधिवक्ताको लिखित परीक्षामा सफल बनेका छन् । दुबैतर्फको संख्या जोड्दा ९६७ पुग्छ ।
नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) ले हरेक वर्ष अधिवक्ताको लाइसेन्सका लागि परीक्षा लिने गर्दछ । लिखित र मौखिक परीक्षा उतीर्ण गर्ने परीक्षार्थीहरुले अधिवक्ताको लाइसेन्स पाउँछन् ।
अधिवक्ताको लाइसेन्सका लागि लिइने परीक्षामा यसवर्ष झण्डै एक हजार परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । अब उनीहरुले मौखिक परीक्षा पनि उत्तीर्ण गरेमा देशले झण्डै एक हजार नयाँ वकिलहरु पाउने छ ।
नेपाल बार काउन्सिलले लिएको ३१ औं अधिवक्ताको लाइसेन्ससम्बन्धी परीक्षामा ९ सय ४५ जना उत्तीर्ण भएका छन् । उनीहरुको मौखिक परीक्षा चैत २ गते हुने काउन्सिलले जनाएको छ ।
काठमाडौं बाहिरका परीक्षार्थीहरुका लागि काउन्सिलको प्रदेश कार्यालयमा सम्पर्क गर्न भनिएको छ भने काठमाडौंको हकमा बार काउन्सिलको कार्यालय कुपण्डोलमा सम्पर्क गर्न भनिएको छ ।
खुला विश्वविद्यालयबाट ५ जना
नेपाल खुला विश्वविद्यालय र अन्य विश्वविद्यालयबाट कानूनमा स्नातक (एलएलबी) उत्तीर्ण गरेका २२ जना विद्यार्थीले पूरक लिखित परीक्षा उत्तीर्ण गरेका छन् । अब चैत १४ गते हुने अन्तरवार्तामा उत्तीर्ण भएपछि उनीहरु औपचारिकरुपमा अधिवक्ता बन्ने छन् ।
पूरक परीक्षामा ७५ परीक्षार्थी सहभागी भएकामा २२ जनाले लिखित परीक्षा उत्तीर्ण गरे । तीमध्ये खुला विश्वविद्यालयबाट ९ जनाले परीक्षा दिएका थिए, ५ जना उत्तीर्ण भए
नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) ले लिएको पूरक परीक्षामा खुला विश्वविद्यालय र अन्य विश्वविद्यालयबाट ७५ जना परीक्षार्थीहरु सहभागी थिए । ८३ जनाले पूरक परीक्षा फर्म भरेको भएता पनि ८ जना परीक्षामा सहभागी भएनन् ।
परीक्षामा सहभागी कुल ७५ मध्ये थोरै संख्यामा अर्थात, २२ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन् । तीमध्ये खुला विश्वविद्यालयबाट ९ जनाले परीक्षा दिएका थिए, जसमध्ये ५ जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । अब उनीहरुको अन्तरवार्ता चैत १४ गतेका लागि तोकिएको बार काउन्सिलले जनाएको छ ।
(भुल सुधार- यसअघि खुला विश्वविद्यालयबाट २२ जना उत्तीर्ण भन्ने पर्न गएकोमा सच्याइएको छ । खुला विश्वविद्यालयबाट ९ जनामात्र परीक्षार्थी रहेको र ५ जना उत्तीर्ण भएको पाइएको छ ।)
कानूनमा स्नातक उत्तीर्ण गरिसकेपछि औपचारिकरुपमा वकालत पेशा गर्नका लागि बार काउन्सिलले लिने परीक्षा उत्तीर्ण गरेपछि मात्र अधिवक्ताको लाइसेन्स पाइन्छ । यसअघि खुला विश्वविद्याययबाट एलएलबी उत्तीर्ण गरेका विद्यार्थीलाई काउन्सिलले परीक्षामा सामेल नगराएपछि विवाद भएको थियो ।
विद्यार्थीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दिएर आदेश आएपछि बल्ल बार काउन्सिलले ३१ औं अधिवक्ता तहको पूरक परीक्षा लिएको थियो ।