अन्तर्वार्ता

‘घर-घर चाहारेर एमाले हामीसंग मिल्न खोजिरहेको छ’

By कृष्ण तिमल्सिना

March 13, 2024

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तामा काँध फेरेसंगै अघिल्लो गठबन्धनमा सुपरग्लुको भूमिका निर्वाह गरेको एकीकृत समाजवादीको भावी यात्रा बारे धैरैमा कौतुहल थियो । प्रचण्ड र शेरबहादुर देउवालाई मुलुकको कार्यकारी बनाउन पार्टी फोर्ने सम्मको अप्रिय निर्णय लिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि पछिल्लो समय पार्टी पंक्तिभित्र पछि हट्ने भन्दा अघि बढ्ने दबाब थियो । अन्ततः एकीकृत समाजवादीले पछिल्लो गठबन्धनमा काँध फेर्ने प्रचण्डको निर्णय स्वीकार्ने निधो लियो ।

पछिल्लो गठबन्धन बन्दा चार दलले हस्ताक्षर गरेको प्रतिवद्धता प्रस्तावमा आफ्नो नाम अटायो । राष्ट्रिय सभा अध्यक्ष पदको चुनावमा सत्तारुढ गठबन्धनका प्रत्याशी नारायण दाहाललाई मतदानको ह्वीप जारी गर्‍यो । यति हुँदाहुँदै पनि एमाले अध्यक्ष केपी ओलीको दपेटाई सहन नसकेर अर्को पार्टी खोलेका नेपालका लागि पछिल्लो रसायन कति दिगो होला ?

ओली र प्रचण्डप्रति संशय राख्ने कार्यकर्ताहरूलाई पार्टीले थामथुम पार्न कस्तो रणनीति अपनाउला ? समाजवादीको पछिल्लो निर्णयमा सत्तालिप्साको गन्ध कतिको छ ? नयाँ गठबन्धन बन्दा नबन्दै सरकारको स्थायित्वका विषयमा उठेका अनेकानेक प्रश्नका विषयमा नेकपा एसका नेता विरोध खतिवडासँग रेडियो क्यान्डिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश  :

नयाँ गठबन्धनको निर्णय सार्वजनिक हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल, पानी बाराबारको अवस्थामा रहेका एमाले अध्यक्ष केपी ओली नै गएर नेपाललाई भेटेपछि उहाँको मन पग्लिएर सत्तारुढ भइसक्नुभयो । भेटमा नेपालले पार्टी फोरेर गल्ती गरेको भन्दै भावुक हुनुभयो भन्ने खबर बाहिर आएको छ । एकीकृत समाजवादीको अवस्था त्यति कमजोर भइसकेको हो ?

अवस्था ठ्याक्कै उल्टो हो । दौडेर गएर ढोका ढोकामा पुगेर रुवाबासी कसले गरेको भन्ने त प्रस्टै देखिएको छ नि । हामीलाई अलग पार्टीको हैसियतबाट व्यवहार गर्नुपर्‍यो । अलग ढंगबाट सम्झौता हुनुपर्‍यो भन्ने हाम्रो अडान हो । अर्काले गरेको सम्झौता नीतिमा लतारिएर हिँड्ने पार्टी नेकपा एस हैन । एमाले हामीसँग मिल्न खोजिरहेको छ र त घर घरमा चाहारेर आयो । हामी त घरमा बसेर आनन्दले आफ्नो पार्टी चलाइराखेको छौँ नि ।

पार्टीभित्रको उकुसमुकुस तपाईँहरूले धान्न नसकेपछि एस लतारिएर सरकारमा आयो भन्ने त तपाईँहरू कै नेताहरूले टीकाटिप्पणी गर्दै आएका छन् नि त ? हाम्रो पार्टीमा कुनै पहिरो गएको छैन । अहिले पनि मेरो जिल्लामा एमालेसंगै अन्य पार्टीमा रहेका सयजना युवा नेकपा एसमा प्रवेश गर्दै छन् । निर्वाचनबाट आएको परिणाम हामी मान्छौँ । हामीले २१ ठाउँमा उम्मेदवारी दिएकोमा एक ठाउँ रद्द भयो । २० मध्ये १० ठाउँ हामीले जित्यौँ । ५० प्रतिशत उम्मेदवार जितेको अरु कुन पार्टी छन् । ?

यो संसदीय अभ्यासमा को सत्ता पक्ष र को प्रतिपक्ष ? अरूले पाएको भोट उसले पाएको र हामीले पाएको भोट अर्काको हो त ? संसदीय व्यवस्थामा संसद्को अङ्कगणित ठूलो हो । त्यो अङ्कगणित मध्ये प्रतिनिधि सभामा १० सिट लिएर बसेका छौं ।

राजनीतिमा आफ्नो पार्टीको बखान गरिरहँदा निष्ठा र नैतिकताको कसीमा को बाँधिनु पर्ने हो ? हामी बाँधिएका छौँ । अरु पार्टीले पनि बाँधिनु पर्छ । माओवादीले देखाएको व्यवहारलाई दुनियाँले सहजसंग लिएका छैनन् ।

हिजो केपीको निरंकुशतको विरुद्धमा उभिनु पर्छ आउनुहोस् भनेर तपाईँहरूलाई उक्साइदिए आज उतै गएर उभिए । तपाईँहरू पनि लतारिएर जानुभयो । तटस्थ बस्ने ठाउँ त बाँकी थियो नि हैन र ? सरकार निर्माण, पार्टी एकता र पार्टी सञ्चालनका विषय नितान्त फरक विषय हुन् । प्रचण्डको पालामा पनि कांग्रेस जसरी पस्यो, हामी पनि त्यसरी नै  पस्यौँ । अरुको प्रक्रिया पनि त्यही थियो । अहिले प्रचण्डकै पालामा आफू स्वतन्त्र हैसियतले पसेका छौं । एमाले आफ्नो स्वतन्त्र हिसाबबाट पसेको छ । त्यसैले यसमा पार्टीको लेनादेना छैन ।

प्रचण्डको नेतृत्वमा हामी पनि अहिले सहकार्य गठबन्धन गरी सरकार नबन्ने र प्रचण्डले देश र जनताको लागि राम्रो काम गर्छु भनेको हुनाले त्यसमा हामी पनि प्रवेश गर्‍यौँ । त्यसैले यो सबैमा पार्टी एकतामा लगेर जोड्नु हुँदैन । हिजो माधव नेपालको नाम मुखमा आयो भने नि मुख कुल्ला गर्छु भन्ने केपी ओली अहिले कोटेश्वर पुगे भन्ने कुरा पार्टी एकताका बेलामा गर्ने प्रश्न हुन् ।

पार्टी एकता हुने भयो, पार्टीमा एमाले र समाजवादी मिल्ने प्रक्रियामा गृहकार्य भइरहँदा यी सबै कुरा ल्याउनु पर्छ । अहिले देशमा एउटा सरकार चाहिन्छ । जुन प्रचण्डको नेतृत्वमा बनेको छ । त्यसलाई स्वाभाविक बहुमत चाहिन्छ । एउटा पार्टीमा बहुमत पुग्ने भएकाले मौखिक प्रस्ताव हामीलाई राख्नु भएको थियो । हामीले लिखित प्रस्ताव माग्यौं । त्यसैमा सहमति बनेको हो ।

कम्युनिस्ट वर्चस्वको सरकार बनेको छ । यसलाई निरन्तरता दिने वा कम्युनिष्ट एकता अभियानको रोडम्याप फेरि कोर्न सम्भव छ ? त्यसका लागि सर्वप्रथम आफ्नो आफ्नो स्तर अनुसारको गल्ती स्वीकार गर्नु पर्‍यो । संविधान उलंघन गर्दै सरकार भंग हामीले गरेका हैनौँ । सर्वोच्च अदालतले फैसला गरेपछि फेरि भंग माधव नेपालले गरेको हैन नि । त्यसको गल्ती नेपालको भागमा पर्ने हैन होला ।  त्यसबाट उब्जिएको तरंगले उहाँहरु पार्टी फोर्ने सम्मको तहमा पुग्नु भयो ।

पार्टी विभाजन गल्ती हो भन्ने लागेको छ ? सँगै हिँडेको मान्छे दुई तिर हिँड्दा त गल्ती हुन्छ भने बल्ल बल्ल बनाएको सिङ्गो दुई तिहाइमा पुगेको एकीकृत पार्टीलाई तहसनहस पार्नु त गल्ती नै हो । त्यही भएर यसरी बस्यौँ भने कम्युनिस्ट आन्दोलन पनि सकिन्छ । राजनीति जोगाउन हामी अलग हुनु पर्छ भनेर हामी छुटेका हौँ । अब यसले दुई फाइदा भयो । उनीहरू पनि कम्युनिष्टको विधि विधान अनुसार हिँड्न थालेको देखिन्छ । सबैको सम्मान गर्न थालेको आभास मिल्छ । हिजो असनको साँढे जस्तो मनमत्त भएर अरु कोही  छैनन् सबै म भन्ने अहिले रुवाबासी गर्दै हिँड्नु परेको छ । यतिबेला सबैले आफ्नो पार्टी बलियो बनाउन लागि पर्ने हो ।

अहिले राष्ट्रिय सभाको निर्वाचन पछिको राजनीतिक घटनाक्रमले अर्को समीकरणको सम्भावना आमन्त्रण गर्छ ? जनताले ५ वर्षको लागि म्यान्डेट दिएर पठाएका हुन । बहुमत भएसम्म सरकार बनाउन सर्वोच्चको आदेश छ । संविधानका कयौँ धाराहरू प्रयोग गर्न बाँकी छ । त्यसकारण सरकार बिनाको मुलुक हुँदैन । र अहिले चुनावमा जान कुनै पनि पार्टी तयार हुँदैनन् ।

अहिलेको संसद्को संरचनाले जे पनि हुन सक्छ । अंकगणितको खेल हो ५० प्रतिशत जसले नघायो उसले सरकार बनायो । त्यसैले त्यो गणित पुगे सम्म चुनाव हुँदैन र जुन दिन गणित पुग्न बन्द हुन्छ । त्यस दिन चुनाव हुन्छ ।

पुराना राजनीतिक पार्टीले अंकगणितको खेल गर्दागर्दै नयाँ शक्तिले राजनीति सक्ने भए त ? नयाँ पनि त राजनीतिक खेलकै सहयात्री हुन । उनीहरू पनि संसदको १३८ पुर्‍याउने खेलबाट नै आउने हुन । २० भएकोले ११० थप्नु पर्‍यो । ११० मा २० थप्न त सजिलो होला तर यहाँ २० मा ११० थप्ने हो ।

अहिलेको गठबन्धनमा खटपट आउनुको कारण तपाईँहरूको पार्टीबाट सरकारमा गएर प्रकाश ज्वालालाई देखाइयो, सरकारमा रहँदाका दिनको समीक्षा गर्दा के लाग्छ ? यो कुरा बितिसक्यो । पार्टीको आन्तरिक जीवनमा जे गर्न पर्ने गरौँला । पार्टीमा समीक्षा गर्नु पर्छ र हामीले गरिरहेका छौं ।