सिफारिस

संसदमा देखिएका कानेखुशीका यी दृश्य !

By ज्ञानु घिमिरे

March 13, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएको दिन बुधबार प्रतिनिधि सभामा केही रोचक दृश्य देखिए ।

विश्वासको मत दिने–नदिने विषयमा नेताहरूवीच घोचपेचदेखि गठजोडसम्म देखियो । माधव नेपाल र केपी शर्माको कानेखुसी पनि रोचक देखियो । मुख कुल्ला गर्न मन लाग्छ भन्ने ओलीले आफैं माधव नेपाल बसेको ठाउँमा गएर हात मिलाए ।

ओली नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठसँग गफिए । रञ्जितासँग कुरा गर्दै मत दिएर फर्किएका ओलीले छेउमा माधव नेपाल देखेपछि हात मिलाएर कुराकानी गरे । एमाले अध्यक्ष ओली खुसी थिए तर माधव नेपाल खुसी देखिएनन् ।

रञ्जिताले ओलीसँग कुरा गरेपछि प्रचण्ड बसेकै सिटमा आएर प्रधानमन्त्रीसँग कानेखुसी गरिन् ।

प्रधानमन्त्री प्रचण्डले देउवालाई भने खासै वास्ता गरेनन् । माधव नेपाल र प्रचण्डसँग देउवा टाढा रहेका थिए । न देउवाले बोलाए न त माधव र प्रचण्डले नै देउवालाई बोलाए । उनी एक्लिएका थिए । पछाडी बसेकी सांसद आरजु राणा पनि चुपचाप थिइन् ।

दायाँ पक्षमा देउवा र बायाँ पक्षमा बसेका प्रचण्डबीच बोलचालको त कुरै नगरौँ, हेराहेरसम्म भएको देखिएन । फागुन २० गतेसम्म ठिकठाक रहेको उनीहरूको सम्बन्ध फागुन २१ गतेबाट चिसो भएका कारण आज प्रचण्डले एमालेसँग मिलेर कांग्रेसलाई चित्त दुखेको देखियो ।

किनकि छेउमै बसेका देउवा र प्रचण्डको हेराइ विपरीत दिशातिर थियो । तर, प्रचण्डसँग पूर्णबहादुर खड्काले भने हात मिलाए । खड्कासँगै हिँडेका कांग्रेस सचेतक रमेश लेखकले भने प्रचण्डलाई खासै वास्ता गरेनन् ।

प्रचण्डको विपक्षमा मतदान गरेर कांग्रेस सभापति देउवा र गगन थापा र रामहरि खतिवडासँगै हलमा छिरेका थिए । पछिपछि ज्ञानेन्द्र बहादुर कार्की पनि थिए । उनीहरूले माओवादी नेतातिर त्यति ध्यान दिएनन् । कांग्रेस सांसद रामहरि खतिवडाले प्रचण्डलाई केही सोधेको देखियो ।

गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई कांग्रेसका धेरै नेताले कानेखुसी गरेको देखियो । उनीसँग कांग्रेस नेता रामहरि खतिवडा, अर्जुननरसिंह केसी, विश्वप्रकाश शर्मा र शेरबहादुर देउवाले हात मिलाए । कांग्रेस नेता केसीले डीपी अर्याल र मनिष झासँग पनि कुरा गरे ।

रास्वपा सांसद स्वर्णिम वाग्ले, हरि ढकाल र स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि कुरा गरिरहेको देखियो । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेसँग पनि कांग्रेस नेता केसीले केहीबेर कुरा गरे । त्यसपछि केसीले प्रचण्डलाई गएर भेटे र केही कुरा सुनाए जस्तो देखियो ।

एमालेका प्रमुख सचेतक महेश बर्तौला र राजेन्द्र पाण्डेले पनि हात मिलाएका थिए । एमाले सांसद योगेश भट्टराई र रास्वपाका सांसद तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ पनि कुरा गरिरहेका देखिन्थे ।

प्रतिपक्षीको बेन्चमा बसेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू भने उठेको समेत देखिएन । यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल पनि कुरा गरिरहेका देखिन्थे ।

विपक्षी दल राप्रपा सांसद लिङ्देन र कांग्रेस सांसद शशांक कोइराला भने पछाडि बसेर गफ गरिरहेका देखिए ।

कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा बोलेका थिए । उनले प्रचण्डलाई भनेका थिए, ‘यहाँबाट धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू’

हेर्नुहोस् प्रतिनिधिसभामा केही दृश्य-