उपप्रधानमन्त्री लामिछानेले मिठाई बाँडेर गरे नयाँ वर्षको सुरुवात

By खबरहब

April 13, 2024

 काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई सुझाव दिएका छन् । 

नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीमा सुरक्षामा खटिएका प्रहरी, चालक र यात्रुहरूलाई मिठाई बाँडेर शुभकामना आदान प्रदान गर्दै गृहमन्त्री लामिछाने नागरिकका गुनासा सम्बोधन हुने गरि सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई सुझाव दिएका हुन् ।

सो क्रममा उनले प्रहरीका गुनासा र समस्याहरूप्रति जानकार रहेको भन्दै प्याकेजमा नै समाधान गर्न छलफल गरेर काम गरिरहेको धारणा राखे । उनले नेताको चाकडी नभइ जनताको हितमा काम गरे संगठनमा बलियो रुपमा स्थापित हुन सक्ने बताए ।

त्यस्तै गृहमन्त्री लामिछानेले उपत्यकालाई २४ घण्टा नै चलायमान बनाउँदै आर्थिक अवस्था र रोजगारको सिर्जना गर्न सकिने उल्लेख गरे । २४ घण्टा नै व्यवसाय सञ्चालन गर्दा नियम र कानून कडाइका साथ पालना गराइने र नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने उनको भनाइ छ । 

त्यस्तै गृहमन्त्री लामिछानेले आगामी दिनमा बिभिन्न कार्यक्रमहरू कार्यान्वयनमा लिएर आउने धारणा राखे ।