समाचार

उदयपुरका धार्मिक स्थलमा भक्तजनको घुइँचो

By खबरहब

April 13, 2024

काठमाडौं– नयाँ वर्षको अवसरमा उदयपुरमा रहेका धार्मिक स्थलमा भक्तजनको घुइँचो लागेको छ । 

उदयपुरको रौतामाई गाउँपालिकामा रहेको रौतापोखारीमा बिहानै देखी भक्तजनहरूको घुइँचो लागेको थियो भने जिल्लाकै चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा रहेको थानपोखरीमा मन्दिरमा भक्तजनहरूको घुइँचो रहेको थियो ।

उदयपुरमा नयाँ वर्षमा विभिन्न ठाउँमा मेला लाग्ने भएपनि रौता पोखरी र थान पोखरीलाई विशेष महत्वका साथ हेरिने गरिएको छ ।

नयाँ वर्षको दिन थान पोखरीमा बिहानै देखी भाकल चढाउनेहरुको घुइँचो लागेको थियो । थान पोखरीमा भान्टा चढाउनाले शरीरमा निक्लिने बिभिन्न घाउ खटिराहरु निको हुने विश्वास लिइएको छ । थान पोखरीमा पुजा गर्ने र मेला भर्नेहरुको दिनभर जसोनै भिड लाग्ने गरेको वडा अध्यक्ष प्रकाश राउतले बताए ।

जिल्लाको रौतामाई गाउँपालिकामा रहेको रौता पोखरी भने समुन्द्री सतह बाट १७ सय ७० मिटर उचाइ रहेको धार्मिक एवम् पर्यटकीय स्थल हो । 

नयाँ वर्षमा उदयपुरमा रौता पोखरी, थान पोखरीको अलावा चौदण्डीगढी दरवार, उदयपुर गढी दरवार, ताप्ली पोखरी, भुतिया दह लगायतका पर्यटकीय क्षेत्रहरूमा बिहानै देखी नयाँ बर्ष मनाउनेहरूको भिडभाड देखिएको थियो ।