आइतबार भएको खेलमा दिल्लीका ट्रिस्टन स्टब्स रनआउट भएपछि खुशी साट्दै आरसिबीका खेलाडी । चार बल खेलेर तीन रन बनाएका स्टब्सलाई क्यामरन ग्रिनले रनआउट गरेका थिए । तस्बिर : क्रिकइन्फो

क्रिकेट

यस्तो बन्दैछ आईपिएल प्लेअफ समीकरण

By मनोज घिमिरे

May 13, 2024

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा प्रवेश गरिसकेको छ। प्लेअफ प्रवेश मात्र होइन अन्तिम दुईमा रहने सम्भावना पनि उसका लागि उत्तिकै छ।

आइतबारको खेलमा जित हात पार्दै रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)ले पनि प्लेअफ सम्भावना जीवित राखेको छ। एकदमै कमजोर सुरुवात गरेको आरसिबीले पछिल्लो ५ खेलमा लगातार जित हात पारेको हो।

आइतबारको खेलमा आरसिबीले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल १४० रनमा सीमित भएको थियो। जित सहित आरसिबी पाँचौँ स्थानमा उक्लिएको छ। अन्तिम खेल आरसिबीले चेन्नाईको सामना गर्नेछ। आइतबार नै चेन्नाई सुपर किङ्सले पनि राजस्थान रोयल्सलाई ५ विकेटले हरायो।

आरसिबी र चेन्नईको जितले यो सिजनको आईपिएलमा रोचक गणितीय खेल हुने देखिएको छ। कोलकाता प्लेअफमा प्रवेश गरेको छ। कोलकाता अन्तिम दुईमा रहने सम्भावना अधिक छ। कोलकाताले अबका दुई खेल गुजरात टाइटन तथा राजस्थानसँग खेल्ने छ। दुवै खेल हारेमा कोलकाता १८ अङ्कमा रोकिने छ। राजस्थानको पनि १८ अङ्क हुनेछ। सनराइजर्स हैदरावादको दुई खेल बाँकी छ। हैदरावादले पनि गुजरात र पन्जाब किङ्ससँग खेल्ने छ। हैदरावादले दुवै खेल जित्ने र कोलकाताले दुवै हारेर रन रेटमा हैदरावाद र राजस्थानलाई पछि पारे मात्र कोलकाता तेस्रो स्थानमा झर्नेछ। यो गणितीय सम्भावना रहे पनि व्यावहारिक सम्भावना कम छ। कोलकाता अन्तिम दुई खेलमा हारे पनि शीर्ष दुईमा रहने सम्भावना देखिन्छ।

राजस्थानले अन्तिम एक खेल जितेर हैदरावादले एक खेल मात्र जिते पनि कोलकाता शीर्ष दुईमा रहने छ। लगातार तीन खेलमा पराजयको सामना गरेको राजस्थान अन्तिम दुई खेलमा पनि हारेमा पनि प्लेअफको सम्भावना कायम रहेको छ। राजस्थानले १६, १८ र २० अङ्क मध्ये कुनमा लिग सक्ने भन्ने यकिन छैन। कोलकातासँग अन्तिम खेल खेल्नु अघि राजस्थानले पन्जाब किंग्सको सामना गर्ने छ। दुवै जिते शीर्ष दुईमा पक्का हुनेछ भने एक जितले पनि अधिक सम्भावना शीर्ष दुईको रहने छ। यसका लागि हैदरावादले कमसेकम एक खेल हार्नुपर्छ।

दुवै खेल हारेमा पनि शीर्ष दुईमा रहने, तेस्रो यो चौथो भएर प्लेअफमा प्रवेश गर्ने या बाहिरिने तीन वटै सम्भावना अझै बाँकी छ। राजस्थान १६ अङ्कमा रोकिए अन्तिम खेलमा चेन्नाईको आरसिबीसँगको हार तथा हैदरावादको गुजरात र पन्जाबसँगको हार भए राजस्थान शीर्ष दुईमा रहनसक्छ। तर, यो त्यत्ति व्यवहारिक छैन।

राजस्थानको अधिक सम्भावना भनेको एक हार र एक जितले शीर्ष चार पक्का तथा शीर्ष दुईको अधिक सम्भावना हो। शीर्ष दुई रहने मुख्य शर्त भनेको हैदरावादको कमसेकम एक खेलको हार हो। यसो भएमा राजस्थान दुवै खेलमा हारे पनि शीर्ष दुईको झिनो सम्भावना कायम रहन्छ। तर त्यत्ति व्यवहारिक देखिँदैन।

हैदरावाद र चेन्नाई दुवैको रनरेट राजस्थानको भन्दा राम्रो छ। कमसेकम ती टोलीको एउटा जित र राजस्थानको दुवै हारले राजस्थान भन्दा माथि रहने छ।

राजस्थान दुवै हारेको खण्डमा चेन्नाईले आरसिबीलाई हराएमा तथा हैदरावादले गुजरात र पन्जाबलाई हराएमा दुवै टोली राजस्थान भन्दा माथि रहने छन्।

हैदरावादले एक मात्र जिते पनि राजस्थान दुवै हारे रन रेटमा राजस्थान भन्दा अघि रहने छ। त्यस अवस्थामा लखनउ सुपर जाइन्टले दुवै खेल धेरै अन्तरले जिते मात्र राजस्थान आउट हुन्छ। अन्यथा राजस्थान तेस्रो हुन्छ राजस्थानको अधिकतम व्यवहारिक सम्भावना हैदरावादसँग दोस्रो स्थानका लागि प्रतिस्पर्धा हो।

तेस्रो स्थानमा रहेको चेन्नाईको पनि तीन वटै सम्भावना बाँकी छ। चेन्नाईले अन्तिम खेल जितेमा तथा राजस्थानले दुवै खेल हारेर हैदरावादले एक खेल मात्र जिते चेन्नाईको शीर्ष दुईकै सम्भावना छ।

चेन्नाईले एक खेल जितेर राजस्थानले एक तथा हैदरावादले दुवै जिते पनि चेन्नाई प्लेअफमा जानेछ। व्यवहारिक सम्भावना चेन्नाई शीर्ष दुईमा रहने सम्भावना अत्यन्त कम छ। अन्तिम खेल जितेपछि राजस्थानले दुवै जित्ने, हैदरावादले दुवै जित्ने तथा एक फराकिलो अन्तरले जित्ने तथा लखनउले पनि दिल्ली र मुम्बईसँगको खेलमा धेरै अन्तरले जितेमा चेन्नाई जितका बाबजुद बाहिरिने गणितीय सम्भावना छ। तथापि लखनउको रनरेट धेरै नै कम भएकाले यो व्यवहारिक छैन।

चेन्नाईले अन्तिम खेल जितेमा शीर्ष दुईमा रहने तथा बाहिरिने दुवै गणितीय सम्भावना कायम रहे पनि व्यावहारिक छैन। अन्तिम खेल जितेमा चेन्नाई तेस्रो या चौथो भएर प्लेअफमा जाने सम्भावना प्रबल छ।

अन्तिम खेल हारेमा प्लेअफमा जाने सम्भावना अन्य खेलमा भरपर्छ। चेन्नाईको अन्तिम खेल आरसिबीसँग छ। रनरेट चेन्नाईको आरसिबीको भन्दा केही राम्रो छ। तसर्थ केही राम्रो रन रेटका सहित आरसिबीले जिते अगाडि जानेछ। लखनउको दुई खेल बाँकी रहेकाले लखनउले पनि चेन्नाईलाई पछि पार्नसक्छ। दिल्लीको रनरेट एकदमै कम भएका कारण दिल्लीको सम्भावना गणितीय मात्र बाँकी छ।

अन्तिम खेल फराकिलो अन्तरले जितेर अन्य टोलीको भन्दा राम्रो रनरेट मात्र होइन चेन्नाई र हैदरावादमध्ये एक टिम १४ अङ्कमा रोकिएपछि दिल्लीका लागि अनुकूल हुन्छ। त्यसो भएमा अन्तिम खेलमा जिते चेन्नाई प्लेअफमा जाने तथा हारे हारको अन्तर तथा लखनउको परिणाममा धेरै भर पर्नुपर्ने हुन्छ। लखनउको पनि खराब रनरेटका कारण दुई खेल जितेर हैदरावाद या चेन्नाई १४ अङ्कमा रोकिनु आवश्यक छ। गुजरातले दुवै खेल फराकिलो अन्तरले जितेर आरसिबी या चेन्नाईको भन्दा राम्रो रनरेट बनाउने गणितीय सम्भावना पनि छ। १० अङ्क भएको गुजरातले दुई खेल खेल्न बाँकी छ।

आरसिबीले अन्तिम खेल फराकिलो अन्तरले जिते चेन्नाईलाई छाडने छ। त्यसो भएमा हैदरावादको परिणाममा धेरै भर पर्नसक्छ। आरसिबीको हकमा सबै भन्दा व्यवहारिक सम्भावना चेन्नाईलाई रन रेटमा पछि पारे प्लेअफ प्रवेश हो। अन्यथा बाहिरिने हो। चेन्नाई रनरेटमा अघि रहे पनि हैदरावादको दुवै खेलको हारले आरसिबी जितका साथ प्लेअफ प्रवेश गर्न सक्छ। यो त्यत्ति व्यावहारिक छैन। दिल्लीले अन्तिम खेल लखनउसँग खेल्ने छ। ऋणात्मक रनरेट भएको दिल्लीको गणितीय सम्भावना छ। व्यवहारिक सम्भावना भने सकिएको छ।

लखनउले दुवै खेल जितेमा प्लेअफ सम्भावना रहन्छ। यसो भएमा चेन्नाई आरसिबीसँग हारेमा लखनउ प्लेअफ प्रवेश गर्नेछ। अन्यथा हैदरावादको दुवै हार अनिवार्य हो। हैदरावाद कमसेकम एक खेल जितेमा तथा चेन्नाईमा पनि जितेमा लखनउ रन रेटले नै बाहिरिने सम्भावना प्रबल छ।

लखनउ दुवै खेल फराकिलो अन्तरले जित्ने तथा राजस्थानले पनि फराकिलो हार सहँदा राजस्थान बाहिरिएर लखनउ प्लेअफ प्रवेशको सम्भावना छ।

आठौँ स्थानमा रहेको गुजरातको पनि प्लेअफको गणितीय सम्भावना कायम छ। यसका लागि कोलकाता र हैदरावादसँगको खेलमा जित आवश्यक छ। त्यसो भएमा पनि खराब रनरेटलाई सुधारेमा मात्र। त्यो सम्भावना गणितीय रूपमा कायम रहे पनि व्यवहारिक छैन। मुम्बई इन्डियन र पन्जाब औपचारिक रूपमै बाहिरिइसकेका छन्। स्रोत : क्रिकइन्फो