तस्बिर : विकिपिडिया

जीवनशैली

सूर्यदर्शन (गुफा) किन राखिन्छ ? यस्ता छन् धार्मिक र वैज्ञानिक तथ्यहरू

By खबरहब

May 13, 2024

काठमाडौं– नेवारी समाजमा सूर्यदर्शनलाई महिलाको सुर्यदेवसँगको विवाहको रूपमा मानिन्छ । नेवारी समाजमा पहिलो विवाह बेलसँग, दोस्रो विवाह सूर्यसँग गरिने भएकोले लोग्ने मरे पनि विधवा हुनु पर्दैन भन्ने परम्परा रही आएको छ ।

सूर्य दर्शन महिलाको पहिलो पटक महिनावारी चक्र सुरु हुनु अगावै सम्पन्न गरिन्छ । सूर्य दर्शन पूजाको दौरान महिलालाई आफ्नो दुवै हातका औँलाहरू क्रस गराई सानो प्वालबाट सूर्यको दर्शन गराइन्छ ।

वैज्ञानिक तथ्य अनुसार १५ मिनेट सूर्य दर्शन गर्नाले मानसिक तनावहरू कम भई आत्मविश्वास बढ्ने गर्दछ । यसले दिमागबाट अनावश्यक सोचाई, अनुभूतिहरूलाई हटाएर आनन्द र परमानन्दको अनुभूति गराउँछ ।

यसले मानिसभित्र रहेको दिक्क लाग्दो स्वभावलाई उत्साही र प्रबल बनाई निर्णय क्षमता वृद्धि गर्ने गर्दछ । सूर्य दर्शन गर्नाले मानिसको दिमागलाई ऊर्जावान्, आनन्दित, शान्त र एकत्रित बनाउन सहयोग गर्दछ । साथै शरीरमा सकारात्मक ऊर्जाहरू थपेर स्वस्थ रहन सहयोग गर्दछ ।

विधि तथा प्रक्रिया  यसको सुरुको अवधिमा बालिकालाई सूर्यको किरण नजाने कोठामा बन्द गरी राखिन्छ । पहिलो छ दिनसम्म नुन नखुवाई बन्द कोठामा राखी कोही पनि पुरुषलाई भेट गर्न दिइँदैन । गुफा बसेको बालिकाले आफूले केही कुरा खानु भन्दा पहिले बाह्रा ख्यालाई चढाउनु पर्ने हुन्छ । छ दिन पछि नुहाई धुवाइ गरेर सफा कपडा लगाइन्छ त्यसपछि आफन्तहरू जस्तै माइजू, फुपू, काकी तथा छरछिमेकी फलफूल, मकैभटमास तथा अन्य खानेकुराहरू लिएर भेट्न आउँछन् ।

गुफा राखेको अवसरमा विशेष प्रकारको ‘कों’ (पाउडर) सबै महिलाहरूले आफ्नो मुहार सुन्दर र सफा बनाउन प्रयोग गर्ने गर्दछन् । १२ औँ दिनमा गुफा बस्ने बालिकालाई विशेष शृङ्गार गरी बिहानी घाममा घरका महिलाहरू मिलेर बाहिर निकाल्ने गरिन्छ । विशेष पूजाआजा गराइन्छ । यसै दिनमा बनाएको जुरोलाई तिन दिन पछि मात्र फुकाइन्छ ।