स्टोरी

गर्मी बढ्दा विद्युत् लोड धान्नै मुस्किल, बुधबार साँझ हालसम्मकै उच्च खपत

By खबरहब

June 13, 2024

काठमाडौं –अत्यधिक गर्मी कारण मुलुकभर विद्युत् खपत अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबार (जेठ ३० गते) साँझको पिक आवरमा मुलुकभर विद्युत् खपत २ हजार १७६ मेगावाट पुगेको छ । जुन विद्युत् लोड विगतका वर्षको गर्मीयाम र लक्ष्मीपूजाको भन्दा निकै बढी हो ।

विगत वर्षको गर्मीयाममा यस पटक जस्तो विद्युत् लोड थिएन । सबैभन्दा बढी लोड खपत हुने पर्व लक्ष्मीपूजाको राति पनि अधिकतम् लोड १ हजार ९०० मेगावाट पुग्ने गरेको थियो ।

तर, यसपालीको गर्मीमा विद्युत् लोडले सबै रेकर्ड तोडेको हो । पछिल्ला दिनमा देशभर गर्मी बढेकाले विद्युत् लोड व्यवस्थापन गर्न समस्या परिरहेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले खबरहबलाई बताए । बिजुलीको लोड र खपत अहिलेसम्मकै उच्च रहेको उनले बताए ।

‘हिजो (बुधबार) साँझसम्म विद्युत् लोड २ हजार १७६ मेगावाट पुगेको छ,’ उनले भने, ‘यो अहिलेसम्मकै अधिकतम् हो । विगतका वर्षभन्दा लोड धेरै बढेको छ ।’ उनका अनुसार इनर्जीमा हिसाब गर्दा ४७ हजार ९०० मेगावाट प्रतिआवर विद्युत् खपत पुगेको हो ।

अहिले स्वदेशमा उत्पादित र केही आयात गरेर लोड व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । पछिल्ला दिन तराईका जिल्लामा मात्रै होइन, काठमाडौं उपत्यकामा पनि गर्मी अत्यधिक बढ्न थालेको छ । जसकारण उपभोक्ताले एयर कन्डिसनर, पंखा फ्रिजलगायत विद्युतीय साधनहरु प्रयोग बढाउँदा विद्युत खपत पनि उच्च भएको हो ।

अझै साढे २ सय मेगावाट अपुग

गर्मीका कारण माग बढेपछि साढे २ सय मेगावाट बिजुली अपुग देखिएको प्राधिकरणका प्रवक्ता घोष बताउँछन् ।

‘अहिले नै बिजुली अपुग छ । करिब २ देखि ३ सय मेगावाट बिजुली पनि अपुग देखिएको छ,’ घोषले भने, ‘बाँकी लोड मिलाउन केही ठाउँमा काट्ने गरिएको छ । उद्योगहरुलाई नियिमत विद्युत दिन सकेका छैनौं ।’

विद्युत्को माग उच्च भएसँगै व्यवस्थापनमा चुनौती थपिँदा अधिकांश उद्योगले बिजुली पाउन नसकेको गुनासोसमेत गर्न थालेका छन् । उद्योगमा मात्रै होइन, तराइका घरेलु ग्राहकसम्मसमेत नियमित विद्युत् आपूर्ति हुन सकिरहेको छैन ।

बिहारबाट बिजुली आयात

विद्युत् खपत बढेपछि लोड व्यवस्थापन गर्न प्राधिकरणलाई हम्मेहम्मे पर्न थालेको घोषले बताए । विद्युत् माग पूरा गर्न अहिले भारतबाट आयात गर्नुपरेको छ । अहिले १७० देखि २०० मेगावाट हाराहारी बिजुली भारतको बिहारबाट आयात गर्नुपरेको घोषले बताए । अहिलेसम्म वर्षा हुँदा हिउँदयामकै अवस्था कायम रहेकाले खोलामा पानीको बहाव बढ्न सकेको छैन । जसले विद्युत उत्पादनमा असर गरिरहेको छ ।

नेपालका अधिकांश जलविद्युत् आयोजना नदीप्रवाहमा आधारित (रन अफ दि रिभर) प्रकृतिका छन् । बर्खायाममा पानीको बहाव बढ्नासाथ बिजुली उत्पादन बढ्छ, हिउँदमा खोलानाला घट्ने र सुक्ने हुँदा विद्युत् कम उत्पादन हुने गरेको छ ।

अहिले पनि प्राधिकरणको राष्ट्रिय ग्रीडमा ३ हजार १७६ मेगावाट आयोजना जडित छन् । यद्यपि, विद्युत् उत्पादन भने १ हजार ७०० मेगावाट भइरहेको प्राधिकरणले जनाएको छ ।

११५ मेगावाट प्रणालीबाहिर

प्राधिकरणका अनुसार, अहिले राष्ट्रिय प्रणालीमा जोडिनुपर्ने २ वटा जलविद्युत् आयोजनामा प्राविधिक समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द भएको छ । ती विद्युत् गृहमा मेसिन तथा उपकरण बिग्रेर प्राविधिक समस्या आउँदा ११५ मेगावाट बिजुली प्रणालीबाहिर रहेको प्राधिकरणले जनाएको छ ।

गर्मीयाममा लोड बढेकै बेला केही साताअघि ती विद्युत्गृहबाट विद्युत आपूर्ति बन्द भएको हो । ७३ मेगावाटको मध्य तमोर र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् गृहमा देखिएको समस्याले उत्पादन रोकिएको हो ।

ती आयोजाको उत्पादन बन्द हुँदा विद्युत् मागअनुसार लोड धान्न समस्या भएको प्राधिकरणका अधिकारी बताउँछन् । ती आयोजनाबाट फेरि कहिलेदेखि विद्युत् उत्पादन हुने कुराको अझै टुंगो छैन । दुवै आयोजना छिटो सञ्चालनका लागि पहल भइरहेको प्राधिकरणले जनाएको छ ।