काठमाडौं– फिल्म ‘गुन्यू चोलो’मा नायक नाजिर हुसेनको लुक्सले चर्चा बटुलेको छ । निर्माण पक्षले कार्तिक ९ गते प्रदर्शन मिति घोषणासँगै पोस्टर सार्वजनिक गरेपछि उनको लुक्सले चर्चा पाएको हो ।
सार्वजनिक पोस्टरमा नाकमा नथिया, कानमा झुम्का र श्रृङ्गारमा सजिएका नाजिरको ‘ुट्रान्सवुमन लुक्स’ देख्न सकिन्छ। यो उनले फिल्ममा निर्वाह गरेको पात्र ‘गुलाबी’को चरित्र हो । उनले पहेँलो रङ्गको वान पिस लगाएका छन् । एउटा हातमा विग (नक्कली कपाल) र अर्को हातमा हिल्स बोकेका छन्। उनको शरीरमा चोट पनि देख्न सकिन्छ ।
यो चरित्रका लागि नाजिरले १६ केजी तौल घटाएका थिए । यसका लागि उनले गरेको मिहिनेत पोस्टरले नै प्रष्ट पार्छ । सामाजिक सञ्जालको कमेन्ट बक्समा पनि यस लुक्सलाई लिएर राम्रो प्रतिक्रियाहरू पाएका छन् ।
धेरैले फिल्म सफलताको शुभकामना दिएकाले नाजिरको यस लुक्सलाई मन पराएको स्पष्ट पार्छ । केहीले ‘पोस्टरमा गुन्यो चोलो किन नलगाएको? ’ भन्ने प्रश्न पनि गरेका छन् ।
यो फिल्म समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । पटकथा निर्माण र अनुसन्धानका लागि लैंगिक अल्पसङ्ख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरू ‘निलहिरा समाज‘ र ‘मितिनी नेपाल’सँग पनि परामर्श गरेको उनको दाबी छ ।
यस फिल्म पारलैंङ्गिकताको कथामा आधारित यस फिल्ममा निर्देशक भट्ट र नाजिरको पटकथा तथा संवाद छ।
‘भिजन इन्टरटेनमेन्ट’ र ’दि स्काई ओसन इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण भएको यस फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौँला, अनुपम श्रेष्ठ र विशाल पहारीसमेत मुख्य भूमिकामा छन् । निर्माताहरू आकाश बुढाथोकी र भी भन्से जानुबोन हुन् ।