तस्विर : एएफपी

अन्तर्राष्ट्रिय

खान युनिसमा इजरायली आक्रमणमा कम्तिमा ७१ जना प्यालेस्टिनीको मृत्यु

By खबरहब

July 13, 2024

गाजा – गाजाको दक्षिणमा रहेको खान युनिस सहरको मावासी क्षेत्रमा विस्थापित मानिसहरूको शिबिरमा शनिबार इजरायली हवाई आक्रमणमा परी कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य २८९ जना घाइते भएका गाजाका स्वास्थ्य अधिकारीले बताएका छन् ।

तीन मिसाइलसहित, इजरायली जेटहरूले खान युनिसमा विस्थापित मानिसहरूको टेन्टले बनेको वस्तीमा बमबारी गरेको र त्यसपछि एक नागरिक सुरक्षा गाडीलाई निशाना बनाइएको थियो । उक्त घटनामा मारिएका र घाइते भएका दर्जनौं शव भग्नावशेषमा पुरिएका थिए ।

‘गाजा सिभिल डिफेन्स सर्भिस’ले एक संक्षिप्त विज्ञप्ति जारी गरी इजरायली आक्रमणले मावासीमा विस्थापित मानिसहरूको ठूलो जमघटलाई निशाना बनाएको उल्लेख गरेको छ ।

यसैबीच, इजरायली सरकारी स्वामित्वको कान टिभी समाचारले मावासी क्षेत्रमा इजरायली आक्रमणको निशाना हमासका सैन्य प्रमुख मोहम्मद डेफ रहेको बताएको र सेनाले छापा मार्ने परिणामको पर्खाइमा रहेको उल्लेख गरेको छ ।

हमासले दावीलाई अस्वीकार गर्दै यो इजरायलको अपराध लुकाउने सन्दर्भमा आएको अभिव्यक्ति मात्र भएको बताएको छ ।