एकै शब्दमा भन्ने हो भने अहिलेका राजनीतिक दलभित्रको समस्या भनेको मूल नेतृत्व नै हो । पहिलो दोस्रो र तेस्रो पार्टी जसले नेपालको राजनीतिक घटनाक्रममा महत्वपूर्ण भूमिका खेल्छन्। यी तीनै पार्टीको नेतृत्व यति जड भयो, यति एक मनोवादी भयो, व्यक्तिवादी भयो, अधिनायकवादी मात्र भएन यी तिनै नेतृत्व अब बुढा पनि भए ।
हाम्रा दलहरूको मूल नेतृत्व चाहिँ व्यक्तिवादी छ। त्यो व्यक्तिवादी कारणले गर्दा पार्टीको आन्तरिक लोकतन्त्र कमजोर छ। आन्तरिक लोकतन्त्र कमजोर हुँदा सरकार बनाउने र भत्काउने खेल चाँडै चाडै भएपछि प्रत्येकलाई छटपटी हुन्छ कि अब मन्त्री बन्छु कि बन्दिन होला । राजनीतिक भागदौड यति चाँडो चाँडो मच्चिन थाल्यो कि त्यसले संघीय सरकार मात्रै होइन हरेक प्रादेशिक सरकारलाई भाग दौडमा लैजान्छ । यो अराजनीतिक भागदौडको नेतृत्व हाम्रा व्यक्तिवादी नेताहरूले गरे ।
एक हिसाबले भन्ने हो भने यसको परावर्तन मुलुकभरि देखियो र यो माथिल्लो राजनीतिक तहको भाग दौडबाट जनता असाध्यै आजित भए । हेर्दा हेर्दै यति दिक्क लाग्दो भयो कि राजनीति भन्ने बित्तिकै मान्छेमा तीनवटा नेताहरू प्रतिको नकारात्मक धारणा बन्यो । यसले धेरै मान्छेलाई यो राजनीतिप्रति वितृष्णा, घृणा र आक्रोश बनाउने काम गरेको छ ।
अहिले बर्खायाम छ, बाटोहरू भत्किएका छन्, कैयौँ जनधनको क्षति भएको छ, बसहरू बगेका छन्, प्लेनहरू दुर्घटना भएका छन् । त्यसमा संस्थागत रुपले सम्बोधन गर्ने काममा राज्य चुकेको छ। किसानको खेती गर्ने बेला छ, ठिक समयमा दूधको पैसा सरकारले दिँदैन, ठिक समयमा मल र कीटनाशक औषधीको व्यवस्था हुँदैन । त्यसपछि जनताका आक्रोश र आवेग सार्वजनिक हुन्छन्। अहिले त्यो राज्यले धान्न सक्ने स्थितिमा नै भएन । जसले गर्दा तल निराशा, घृणा र आक्रोश माथि सत्ताको भागदौड भयो । जसले राजनीतिक नेतादेखि लिएर आम सर्वसाधारणसम्म एउटै खालको छटपटी बढिरहेको छ ।
माओवादी सुध्रिन्छ भनेर आशा गर्नु बालुवा पेलेर तेल निकाले बराबर हो । त्यो भ्रमबाट मुक्त भएर आ-आफ्नो घर गएर लोकेन्द्र विष्टले जस्तो कुनै खेती गरेर बसे हुन्छ ।
मुख्य दलका नेताहरूको पार्टीभित्र जति पनि विकृति, विसङ्गति छन्, पार्टी जति कमजोर भएको छ त्यो त सबै त्यही नेतृत्वले नेतृत्वमा बस्नले गराएको हो । अनि मूल नेतृत्व बाहेक समस्या अन्त छ भनेर देखाउने गर्दा त्यो कसरी सत्य हुन्छ त ? जो मूल नेतृत्व छ त्यसैले बढी गल्ती गरेको कारणले नै पार्टीहरू कमजोर भएको हो, पार्टीभित्र विकृति र विसङ्गति आएका छन् भन्ने कुरा जब आफूतिर फर्किँदैन जो नेतृत्व २०/३०/४० वर्षदेखि मूल नेतृत्वमा नै छ ।
अरूलाई आरोप लगाएर मुख्य नेतृत्व चाहिँ पन्छिने जुन खालको रोग हो त्यो सन्चो हुनको लागि त मूल नेतृत्वमै या आफ्नो आत्म समीक्षा गर्ने र पार्टीको समीक्षा गर्ने उत्प्रेरणा हुनु पर्यो। नत्र त्यो भन्दा तलको नेतृत्वले हटाउनु पर्यो ।
देउवाको कुरामा कांग्रेसको सभापतिलाई धेरै अधिकार दिएको छ विधानले । तर त्यो विधान मात्रै हैन विधानतः पार्टीको लोकतन्त्रसँग जोडेर हेरिनुपर्छ । तर त्यहाँ व्यक्तिवादी जुन कार्यशैली हो त्यो झन् पछि झन् अरु गुटहरू पनि क्रमशः विलीन हुँदै गए ।
एउटा पार्टी नेतृत्वमा जाने कुण्ठा भएको बुढो पङ्क्तिहरू अझ बढी पार्टीलाई निरङ्कुश बनाउनको लागि नेतृत्वको दलाली गर्ने प्रवृत्तिहरू धेरै बढेर गएको छ हरेक पार्टीहरूमा । किनकि अब त्यहाँ दलाली गरिएन भने म यो पार्टीमा निर्णायक ठाउँमा जान सक्दिन भनेर उनीहरूले बुझिसकेका छन् ।
माओवादीभित्र पुस्तान्तरणका कुरा लामो समयदेखि भइरहेका छन् । यी कुरा जोडले आउँदै गर्दा पार्टी सकिँदै छ । अब त्यो पार्टीमा प्रचण्डले छोड्ने कुरा छैन । उनी त्यो पार्टी विघटन भएर सकिन्छ भने दुई जना तीन जना मान्छे रहँदासम्म पनि नेतृत्व छोड्दैनन् । त्यहाँ जसले प्रचण्डको विरोध गर्छ त्यो त्यहाँबाट निस्किएर जाने स्थिति मात्रै छ । केपी ओलीको पार्टीमा पनि त्यही हो ।
माओवादीभित्र पुस्तान्तरणका कुरा लामो समयदेखि भइरहेका छन् । यी कुरा जोडले आउँदै गर्दा पार्टी सकिँदै छ । त्यो पार्टीमा प्रचण्डले दुई जना तीन जना मान्छे रहँदासम्म पनि नेतृत्व छोड्दैनन् ।
तीन वटै जुन पार्टीहरू हुन् जो चाहिँ पहिलो दोस्रो तेस्रो पार्टी छन् । अरु पार्टीहरू चाहिँ त्यसको तुलनामा धेरै तल छन् । ती सबै पार्टीहरूमा जुन व्यक्तिवादको खतरनाक रोग र त्यो आफू जिउँदो छन् प्रतिबद्धता छ । आफू जिउँदो हुदाँसम्म अरु कसैलाई नदिने मर्नै परे मर्न तयार हुन्छन् । यस्तो नकारात्मक प्रतिबद्धता त्यसले त पार्टीलाई सुधार्न सक्ने स्थिति नै छैन । पार्टीमा टुटफुट विभाजन आउने भनेको नै यस्तै अलोकतान्त्रिक प्रवृत्तिले हो।
पार्टीमा सकारात्मक परिवर्तनका लागि पार्टीभित्र निरन्तर प्रश्नहरू उठ्नु, पार्टी नेतृत्व प्रति सजग बनाउनको त्यसका राजनीतिक एजेन्डामा छलफल हुनु र त्यसमा विमतिहरू राख्नु कुनै समस्या हैन । त्यो भएन भने पार्टी मृत हुन्छ । त्यस मामिलामा नेपाली कांग्रेसमा नेतृत्वको विरोधमा बोल्दा निस्केर अर्को पार्टी खोल्नु पर्दैन । त्यतिसम्म कांग्रेस उदार छ ।
कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्छ तर त्यसको समस्या अर्को हो । जस्तो सरकारमा जाँदा अथवा प्रतिपक्षमा रहँदा जुन लाभका पद हुन्छन् ती पार्टीका अथवा सरकारका ती पदहरूमा जान नपाएको हुनाले त्यसमा नेतृत्वले आफ्नो गुटको मात्रै मान्छेहरूलाई लग्ने हुनाले कांग्रेस पार्टीको तल सांगठनिक रूपमा तल्लो तहमा ठूलो समस्या छैन । माथिल्ला १०/१२ मानिसको समस्या हो । तर कम्युनिस्ट पार्टीहरू भित्रमा त ओली र प्रचण्डको विरोध गरियो भने त त्यो पार्टी छोड्ने नै हो ।
प्रचण्डले त जहिले पनि आत्मसमर्पणमा आइसकेपछि त्यसलाई एउटा जिम्मेवारी दिन्छन् । तर ओलीको त्यो पनि छैन । एमाले यति एक मनोबादी पार्टी बनिसक्यो कि छिन्नभिन्न भएको छ र त्यही पार्टीमा भएका पनि छिन्नभिन्न भएका छन् । एमाले र माओवादी पार्टी भिन्न भएनन् । ओली प्रमुख भएर आएपछि त्यो भिन्नता नै भएन ।
पार्टीभित्रको लोकतन्त्र यति कमजोर भएको अवस्थामा त्यो पार्टीलाई सुधार्ने भन्ने त कुनै गुन्जाइस नै भएन । त्यस कारण विकल्पको कुरा आयो ती वैकल्पिक पार्टीहरू पनि सम्पूर्ण रूपमा चाहे त्यो बाबुरामजीको नयाँ शक्तिबाट सुरु भएको वा विवेकशीलबाट सुरु भएको सबै खतम भएर गएर अहिलेसम्म रवि लामिछानेको पार्टीसम्म आउँदा त वैकल्पिक भनेका अहिलेका पुराना पार्टी भन्दा पनि बदमास हुन् भन्ने सन्देश गइरहेको छ ।
यस्तै माहौलमा अर्को वैकल्पिक भन्ने सम्भावना नै छैन । आफूलाई कथित रूपमा वैकल्पिक भन्नेहरू झन् बढी नालायक, सत्ता लिप्सा, लोभी भएर निस्के । हामीले पुराना पार्टीलाई नै सुधारेर रूपान्तरण गर्ने भन्दा बाहेक अर्को उपाय नै देखिँदैन । त्यसैले मेरो विचारमा ८४ साल सम्म ठूला पार्टीलाई नै सापेक्षिक रूपमा लोकतान्त्रिक बनाउनु बाहेक अरूको धेरै विकल्पले काम गर्छ जस्तो लाग्दैन ।
पहिले पनि जसरी प्रचण्डलाई हामीले आलोचना गर्दाखेरि जो अहिले आलोचनाको सिकार भइरहेको छन् ती साथीहरू सबभन्दा पहिला झम्टिन आउँथे । तिनै आफूलाई दोस्रो तहका नेता भन्नेहरूले होइन र प्रचण्डसँग मिलेर सम्पूर्ण त्यहाँ भित्र भएका सबै वैचारिक थालनीहरूलाई निमोठनामोठ पारेको ? अहिले जनार्दनलाई पनि सबै मिलेर झम्टिराखेको छन् । किनकि त्यही काम हिजो उनले अरूले गर्दा गरिरहेका थिए । त्यहाँ भित्र कसैप्रति कसैलाई सहानुभूति दिँदैनन् किनकि हिजो अरूलाई पर्दा कसैले दिएन ।
माओवादीभित्र प्रचण्डको दलाली गरेर आफ्नो जीविकोपार्जन गर्नेहरूको जमात छ । त्यहाँ राजनीतिक जमात नै छैन । ६० साल भन्दा पहिले नै त्यसको अस्तित्व समाप्त भइसकेको थियो । त्यहाँ भित्र जुन प्रकारले अन्तरसंघर्ष थियो माओवादी हुँदै र त्यही बेलामा नै विरोधी विचारलाई नष्ट गर्नुपर्छ भनेर प्रचण्डलाई प्राधिकार बनाउने यिनै अहिलेका नेता हुन् । अनि पार्टी बिग्रियो भनेर यिनले भन्दा कसले पत्याउँछ । त्यस कारण उनीहरूले अहिले बोलेको कसैले पनि पत्याएका छैनन् । पत्याउने स्थिति पनि छैन ।
माओवादीभित्र प्रचण्डको दलाली गरेर आफ्नो जीविकोपार्जन गर्नेहरूको जमात छ। त्यहाँ राजनीतिक जमात नै छैन ।
हिजो त्यत्रो लामो संघर्ष गरेको पार्टीमा आजको हबिगत यस्तो किन भयो । त्यसको लागि प्रचण्ड दोषी हो र त्यसलाई लगाम लगाउनुपर्छ भन्ने मान्छे म पनि हो । म कसरी सिद्ध्याइएँ ? त्यसरी झम्टिने त यिनै जनार्दन र वर्षमान हुन् ।
आज बागमतीमा धेरै पानी बगिसकेको छ । अब पार्टी समाप्त भएर त्यसको लागि दोष प्रचण्डको मात्र हैन प्रचण्ड जस्तो एउटा औसत भन्दा तल्लो मान्छेलाई प्राधिकार र विश्व क्रान्तिको नेता भन्ने मान्छेले आज आफ्नै पार्टीको एउटा गुट चलाउन नसक्ने नालायक प्रचण्डमा कसरी रूपान्तरण भयो पार्टी । त्यसका लागि त यिनै जनार्दनको वर्षमानहरूको दोष हैन र । पार्टीभित्र प्रचण्ड पद नै चाहिन्छ भन्ने त यी नै हुन् ।
त्यस कारणले जब अन्तिम अवस्थामा आयो, आफ्नो रोजीरोटीको कुरा आयो त्यसपछि उनीहरू आफ्नै पार्टीको दलाली गरेर रहन गएका हुन् । नारायणकाजीहरू दलाली गर्न नै गएका हुन् । उनीहरू त्यही प्रचण्डको दलाली गरेर खाने तयारीमा नै छन् । उनीहरूले पनि विरोध गर्न थाले यी जनार्दनको ।
जनार्दन जस्ता मान्छे जो जनयुद्ध जस्तो लड्नमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यसैले अब माओवादीभित्र माओवादीमा काम गरेका हैनन् कि नगरेका मान्छेहरू बढी थुप्रिने छन् । प्रचण्डको दलाली गर्न त आइरहन्छन् । एउटा पद दिन्छु भन्यो भने आज कुन पार्टी थियो भोलि अर्कोकोमा गएर भात खान्छ । त्यसैले अब माओवादी सुध्रिन्छ भनेर कसैले आशा गरेको छ भने त्यस्तो बालुवा पेलेर तेल निस्किँदैन । त्यो भ्रमबाट मुक्त भएर आ-आफ्नो घर गएर लोकेन्द्र विष्टले जस्तो कुनै खेती गरेर बसे हुन्छ ।
माओवादी पार्टी हामीसँग जनाधार पनि छैन टेक्ने, समाउने ठाउँ पनि छैन । हामी सिद्धियौँ भनेर जनार्दनले भनेको कुरा सत्य हो । किनकि उनी त जनस्तरबाट गएर पश्चिमबाट जितिरहेका नेता हुन् । उनले भनेको कुरा गलत होइनन् । गलत चाहिँ उनले ढिलो गरेर त्यो कुरा गरे । जो त्यहाँबाट घर जलिसक्यो अब दमकल ल्याएर के गर्ने भने झैँ त्यो जलिसकेको घरलाई अब न त प्रचण्डले बचाउने पक्षमा छन् । यही कुरा उनले १० वर्ष अगाडि भनेको भए माओवादी पार्टी सुध्रिन्थ्यो ।
कांग्रेसको मूल नेतृत्व एउटा गिरोह जस्तो भयो । त्यो गिरोहले पार्टीसँग कुनै परामर्श गरेर पार्टीसँगको छलफलबाट पार्टी चलाउँदैन । त्यो गिरोहसँग यति ठूलो पैसा यति ठूलो स्रोत र साधन जम्मा भएको छ कि त्यो सबै पार्टीलाई व्यक्तिगत रूपमा किन्न सक्छ ।
यो २०४८ सालयता अविछिन्न रूपमा शक्तिशाली पदमा रहिरहेको नेतृत्व हो । त्यसलाई हिजो कृष्णप्रसाद भट्टराई, गणेशमान जस्ता स्थापित नेताको साथ थियो । उनीहरूको लिगेसी उनीहरूको उत्तराधिकारको रूपमा शेरबहादुरले कांग्रेसलाई अगाडि बढाए । त्यहाँ प्रदीप गिरी जस्ता मान्छेहरू पनि शेरबहादुर देउवाको नेतृत्वमा जान तयार भए । तर त्यो उत्तराधिकार लिएपछि देउवाको पार्टी सञ्चालन गर्ने पद्धति निरन्तर पैसा र पदको प्रलोभनमा नै गयो । पद पनि नगदमा बिक्ने भयो ।
तर त्यहाँ निरन्तर रूपमा दोस्रो पुस्ता अथवा तेस्रो पुस्तासम्म पनि त्यहाँ चाहिँ संघर्ष छ। त्यसो हुनाले कांग्रेस जुनसुकै बेला पनि चाँडै सुध्रिन सक्ने पार्टी हो । त्यसको आन्तरिक लोकतन्त्र अरु कम्युनिस्टको भन्दा धेरै खुकुलो छ । धेरै अर्थमा त्यहाँ कुनै पनि मान्छेले आफ्ना कुराहरू राखेन डराउनुपर्ने स्थिति छैन ।
कांग्रेस जुनसुकै बेला पनि चाँडै सुध्रिन सक्ने पार्टी हो । त्यसको आन्तरिक लोकतन्त्र अरु कम्युनिस्टको भन्दा धेरै खुकुलो छ ।
मलाई लाग्छ बङ्गलादेशको अवस्था नितान्त फरक हो । किनकि धेरै लामो समयसम्म स्थिरताले जन्माएका तानाशाह अहंकारले भरिए । नेताका आफन्तलाई जहाँ पनि लिएर जाने परिस्थिति बन्यो । पछिल्लो समयमा आएको आरक्षणका कुरा पनि त्यही हुन् । त्यहाँ सुषुप्त रूपमा एउटै पार्टी लामो समयसम्म सत्तामा रह्यो । त्यसले शासकलाई तानाशाही बनायो ।
हिजो कांग्रेस बहुमत प्राप्त गरेर आफ्नै बहुमतमा सरकार बन्दा पनि गिरिजाप्रसाद कोइरालामा त्यही खालको दम्भ र अहङ्कार हुँदा मध्यावधि चुनावमा जानु परेको हो । ओली शक्तिशाली प्रधानमन्त्री हुँदा २ वर्ष मै यति उन्मुक्त हुनु भयो कि उहाँको दुई तिहाइको सरकार झन्डै एकै दिनमा गयो । त्यस्तो सरकार १० वर्ष चलेको भए नेपाल कस्तो हुन्थ्यो ? त्यस कारणले नेपालमा जुन अस्थिरता छ चाँडो चाँडो सरकार बदलिन्छ त्यसलाई हामीले सकारात्मक रूपमा पनि हेर्न सकिन्छ ।
(माओवादीको मनोदशा र दलको भविष्यबारे राजनीतिक विश्लेषक मुमाराम खनालले राखेको धारणाको सम्पादित अंश )