काठमाडौं– हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज नजिकिँदै छ । यतिबेला तिजका गीतहरूले बजार तातिरहेको छ ।
अहिले भाइरल हुने होडबाजीले तीज गीतमै अनेक विकृतिहरू मिसिन थालेकाे गुनासो पनि आइरहेका छन् । कतिपय गीत त यस्ता पनि छन् कि परिवारका सदस्य सँगै बसेर हेर्न पनि असहज महसुस हुन्छ ।
अहिले मौलिकतामा आधारित कमै मात्र तीज गीत बजारमा देख्न पाइन्छ । मौलिकतामा आधारित तीज गीतको वास्तविक पहिचान झल्काउने गरि निर्माण गरिएको प्रकाश शाहीको तीज गीत ‘पीर’ सोमबार सार्वजनिक भएको छ ।
गायिका सुनिता बुढाको स्वरमा रहेको भिडियो सोमबार सार्वजनिक भएको छ । भिडियो प्रकाश शाही युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
‘पीर’ मा मौलिकतामा आधारित तीजको वास्तविक पहिचान झल्काउने गरि निर्माण गरिएको छ । उक्त गीतमा प्रकाश शाहीको शब्द, वरिष्ठ सङ्गीतकार गंगा केसी को सङ्गीत रहेको छ । त्यस्तै झरान सावद र धनकली शाहीको अभिनय, विपिन आचार्यको सङ्गीत संयोजन, प्रवीन शाहीको कोरियोग्राफी, गोपाल रुचालको छायांकन र सम्पादन, प्रकाश शाहीकै निर्देशन रहेको छ ।
शाहीका अनुसार गीतमा पिपल चौतारी, पानीका नाउला लगायतका पुराना संस्कार र संस्कृति झल्काउने चिजहरू मासिदै गएको कुरा देखाउन खोजिएको छ।
यो गीतका गीतका माध्यमबाट तीजको मौलिकता र मर्मलाई जोगाउन खोजिएको शाहीले बताए । उनका पूजाको थाली, मेरो नाचो, पशुपतिमा जलारी लगायतका तीज गीत दर्शक तथा स्रोता माझ चर्चित छन् ।